८ बिघामा गोलभेंडा खेती

राजकुमार कार्की

माईंस्थान (सिन्धुली) — बिक्री नभएर पूर्वी नेपालमा गोलभेंडा सडकमा फालिएको खबर आइरहँदा यहाँका एक दम्पतीलाई भने भ्याईनभ्याई छ । कमलामाई नगरपालिका ८, माईंस्थाननजिक जमिन भाडामा लिई गरेको गोलभेंडा खेतीमा उनीहरूले एक सिजनमै १ करोड ५० लाख रुपैयाँ आम्दानी गरेका छन् ।

८ बिघामा गोलभेंडा खेती

झापा सतासी नगरपालिका ८ बाट आएका ४२ वर्षीय कमल र दुर्गादेवी भट्टराई दम्पतीले गोलभेडा खेतीबाटै यत्ति आम्दानी गर्न सफल भएका हुन् । पहिलो वर्ष माईंस्थानमा ५० कठ्ठामा गरेको गोलभेंडा खेतीबाट ५ लाखभन्दा बढी मुनाफा भएपछि भट्टराई दम्पतीले १ सय २० कठ्ठा भाडामा लिएर खेती विस्तार गरेका थिए । कृषिकर्ममा कमल र दुर्गादेवी एकसाथ जुटेका हुन् । ‘डेढ करोडभन्दा बढी नै आम्दानी भयो,’ गोलभेंडा टिप्दै दुर्गाले सुनाइन् । खर्च कटाएर आधा मुनाफा हुने उनको भनाइ छ ।

‘मौसमअनुसारको कुन जातको गोलभेंडा उत्पादन हुन्छ भन्ने नै भएन । ७ जातको लगाइयो, त्यसमध्ये कविता र सूर्य १११ यहाँको मौसमसँग मेल खाएर उत्पादन भयो,’ उनले भनिन् । माईंस्थान, हर्दिया र करकरेमा २ जातका गोलभेंडा फलेर पहेँलपुर भएको छ । उनीहरूको यो मिहिनेत देखेर स्थानीय पनि गोलभेडा खेतीतर्फ आकर्षित भएका छन् ।

‘हामीले मात्र होइन, तपार्इंहरू पनि व्यावसायिक खेती गर्नुहोस्, राम्रो आम्दानी हुन्छ भनेर स्थानीय छरछिमेकलाई पनि हौसाएका छौं,’ कमलले भने, ‘राम्रो आम्दानी लिन थोरैले हुँदैन, मिहिनेत धेरै चाहिन्छ ।’ काठमाडौंमा २ वर्ष अर्कैकोमा बेमौसमी गोलभेंडा खेती गरी कमलले अनुभव सँगालेका रहेछन् । ‘अरूले पढेर खेती गर्छन्, मैले परेर गरें,’ उनले थपे । बेमौसमी गोलभेंडा प्रतिकेजी ६० रुपैयाँले खरिद गर्न आउनेको घुइँचो लाग्ने हुँदा बजारको समस्या नभएको उनको भनाइ छ । ‘दिनमा २ सय क्रेटसम्म बिक्री भयो,’ उनले भने, ‘एक क्रेटमा २५ किलोसम्म हुन्छ ।’ उनले उत्पादन गरेको गोलभेंडा स्थानीय बजार र काठमाडौं निर्यात हुने गरेको छ ।

भट्टराई दम्पतीले अहिले साढे ८ बिघामा खेती गरिरहेका छन् । जमिन मिले १४ बिघा बिस्तार गर्ने उनीहरूको योजना छ । अग्र्यानिक गोलभेंडा खेतीका लागि १० लाखको गोबर मल त उनीहरूले भक्तपुरबाट मात्रै खरिद गरी ल्याएका थिए । तीनै ठाउँको खेतीका लागि खाना, खाजासहित मासिक १५ हजारमा २४ स्थानीय युवालाई उनीहरूले रोजगारी दिएका छन् ।

‘कीटनाशक औषधि प्रयोग गर्दैनौं,’ अग्र्यानिक तरिकाले नै रोग आए उपचारको पद्धित अपनाउने गरेको भट्टराई दम्पती बताउँछन् । जिल्लामा गोबर मल नपाएर भक्तपुर पुग्नुपरेको दुर्गाले सुनाइन् । कमलामाई र पाथीभरा भेज गार्डेन नाममा दर्ता गरी सञ्चालन गरिएको खेती हेर्न लायक रहेको वन उपभोक्ता महासंघका पूर्वअध्यक्ष कृष्णकुमार श्रेष्ठ बताउँछन् । ‘मुलुकमै बसेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ,’ उनले भने, ‘स्थानीयले रोजगारी पाएका छन्, कमाइ पनि राम्रै भएको छ ।’

प्रकाशित : श्रावण ६, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?