गुम्दै मौलिकता
दोलखा — भूकम्पपछि दोलखा बजारले आफ्नो प्राचीन परिचयलाई गुमाउँदै गएको छ । एक–अर्कामा गाँसिएका प्राचीन शैलीका संरचनाले भरिएका मन्दिर र मूर्तिको बस्तीले बजार परिचित थियो । ढुंगा छापिएका बाटाका वारिपारि बुट्टेदार झयालढोका, ढुंगामाटाका घरहरूमा पोतिएका कमेरो र रातोमाटाका रङ अहिले देखिन छाडेको छ ।
मल्लकालीन सीप, शैलीका मन्दिर र मूर्तिहरूको पुनर्निर्माण गरिँदा परम्परागत स्वरूप गुमेको छ । भूकम्पप्रतिरोधी परम्परागत शैलीका पुनर्निर्माणका अनेकन प्रयास गरिए पनि अन्तत: दोलखा बजार सरकारले दिएको नमुनाका घरहरूले भरिँदै छ । दोलखाको परम्परागत साख जोगाउने प्रयास विफल भएको वडाअध्यक्ष विराज श्रेष्ठ स्विकार्छन् ।
त्यसो हुनुको पछाडि सरकारी नीतिमै कमजोरी भएको उनको आरोप छ । नेवार बस्तीभित्रको विशेषता पुर्खौंदेखि एक घरमा अधिक परिवारको बसोबास हो । भूकम्पले भत्काउनु अघिसम्म बस्तीका एउटा घरमा दुई–तीन परिवारदेखि १६ परिवारसम्म बस्दै आएको अवस्था थियो । भूकम्पले भत्काएका धेरै परिवारको अधीनमा रहेको बहुस्वामित्वका घरहरू पुनर्निर्माणका लागि नीति नबनेकाले परम्परागत मूल्य र मान्यता गुमाइरहेको भीमेश्वर नगर विकास समिति पूर्वअध्यक्ष शान्तकृष्ण श्रेष्ठले बताउँछन् ।
प्राचीनकालमा छुट्टै राज्यको अस्तित्व बोकेको भीमेश्वर नगरपालिका २ मा १ हजार ३ सय ९ जना निजी आवास अनुदानमा हक राख्ने भूकम्पीडित लाभग्राही छन् । त्यसमध्ये बजारभित्रका ४ सय ३१ बहुस्वामित्वका लाभग्राही छन् । बहुपरिवारको हक लाग्ने घरका लागि अनुदान सूचीमा एक जनाको मात्रै नाम निस्किएको छ । ‘लालपुर्जा जसको नाममा हो, उसैको नाममा ३ लाख अनुदान पाउने भएपछि पारिवारिक किचलो पनि उत्पन्न भएको छ । साथै, अन्य हकदार परिवारलाई अन्याय भइरहेको छ,’ वडाअध्यक्ष विराजले भने । उनका अनुसार जमिन कम भएकाले कतिपय परिवारलाई बाँडिएर अलगअलग घर बनाउन पनि अप्ठयारो भइरहेको छ ।
बजार क्षेत्रका जमिनमा घर बनाउँदा सेटब्याक छाड्नुपर्ने नीति बनेका कारण कतिपयको त घर नै नबन्ने अवस्था भएको छ । भीमेश्वर नगरपालिकाले दोलखा बजारको विशिष्टता हेरेर बहुस्वामित्वका भूकम्पपीडितलाई अनुदान दिने नीति ल्याउने तयारी गरेको छ । एकै घरमा बस्दै आएका परिवारलाई बहुस्वामित्वकै घरको डिजाइन गरी अनुदान दिने व्यवस्था गरिए दोलखा बजारको मौलिक पुनर्निर्माण हुनसक्ने अवस्था अझै बाँकी छ । नगरपालिकाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा गरिएको उक्त माग सुनुवाइ नभएको भीमेश्वर नगर प्रमुख भरत केसी बताउँछन् ।
प्राचीनकालमा बनेका मन्दिरहरूमा बुट्टा र गारोहरूमा मौलिक सीप छन् । त्यसलाई परिस्किृत गरी कतिपय सम्पदामा बाहिरका शैली पनि भित्र्याइएको छ । विदेशी दाताको सहयोगमा निर्माण भइरहेको त्रिपुरासुन्दरीको मन्दिरमा भारतदेखि ढुंगा ल्याइएको छ । भीमेश्वर मन्दिरमा पुर्खाहरूले ठडयाएका भीमकाय ढुंगाका स्तम्भहरू छन् ।
पुरातत्त्व विभागले बनाएका मन्दिरहरूमा पनि स्थानीय मौलिकतालाई बेवास्ता गरिएको गुनासो भीमेश्वर मन्दिर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठको छ । ‘मन्दिरहरूका काठको टुँडालमा कुदिएका कलालाई नक्कल गर्न सकिन्थ्यो,’ दोलखाको इतिहासबारे अध्ययन गरिरहेका नगर विकास समिति पूर्वअध्यक्ष शान्तिकृष्ण श्रेष्ठ भन्छन्, त्यसो गर्नसमेत वास्ता नगरी पुनर्निर्माण भइरहेको छ ।’