कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अब उपत्यकाका सबै चोकमा ट्राफिक बत्ती

दीपेन्द्र विष्ट

काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपत्यका सबै चोकमा ट्राफिक बत्ती बाल्ने तयारी गरेको छ । मन्त्रालयले पहिलो पटक नयाँ र पुराना दस चोकमा बत्ती बाल्ने तयारी गरेको हो । त्यसपछि प्राय: जसो सबै सडक चोकमा लाइट जडाने प्रक्रिया अघि बढाइने ट्राफिक महाशाखाका प्रमुख दीप बराहीले जनाए । उनले एक साताभित्र टेन्डर आह्वान गरेर लाइट जोड्ने प्रक्रिया अघि बढाइने बताए ।

अब उपत्यकाका सबै चोकमा ट्राफिक बत्ती

‘सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ,’ उनले भने, ‘विमस्टेक बैठकभन्दा अघि सम्पूर्ण चोकमा लाइट जडान गरिन्छ ।’ विमस्टेक बैठक भदौ १४ र १५ मा काठमाडौं हुनेछ । थापाथली, कोटेश्वर, सिंहदरबार, पुतली सडक, त्रिपुरेश्वर लगायतका क्षेत्रका लाइटको मर्मत गरिनेछ ।

यस्तै पुरानोबानेश्वर, गौशाला र मित्रपार्कमा नयाँ लाइट जडान गरिने बराहीले बताए । त्यसै गरेर उपत्यका सबै सडक डिभिजनलाई जेब्रा क्रसिङ, साइड वालका रंगरोगन लगायत मर्मत गर्न पनि सडक विभागले निर्देशन दिइसकेको उनले बताए । यस अघि उपत्यकाका ७ स्थानमा बत्ती जडान गरिसकेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभाग, काठमाडौं महानगरपालिकाले मर्मत तथा नयाँ जडान गरेर महाराजगन्जस्थित नारायणगोपाल चोक, सोल्टी मोड, नयाँबानेश्वर चोक, पुतलीसडकस्थित पद्मोदय मोडमा लाइट व्यवस्थित भइकेको छ । त्यस्तै कुमारी बैंक र काठमाडौं महानगरपालिकाअगाडि स्मार्ट ट्राफिक लाइट जडान गरिएको छ ।

पहिलो चरणमा नमुनाका रूपमा यी चोकमा जडान गरेपछि पछिल्लोपटक अन्यमा पनि बत्ती जडान गर्न लागेको उनले बताए । सडक विभागले बिग्रेका बत्तीको मर्मत नगर्दा १० वर्षदेखि ट्राफिक प्रहरीले हातको इसारामा सवारी नियन्त्रण गर्दै आएका छन् । बिग्रेका बत्तीको मर्मत तथा जडान हुन नसकेको भन्दै यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको चर्को आलोचना भएपछि सरोकारवाला निकायले प्रक्रिया अघि बढाएको हो ।

पैदलयात्रीलाई समेत अप्ठ्यारो भएकाले ट्राफिक जेब्रा क्रसिङमा समेत बत्ती राखिने तयारी समेत भइरहेको मन्त्रालयका एक अधिकारीले बताए । ‘यस अघि पनि तयारी गरेका हौं, प्राविधिक कारणले ढिलाइ भयो, अब सबै जेब्रा क्रसिङमा पनि लाइट राख्ने सोचमा छौं,’ ती अधिकारीले भने, ‘यसले गर्दा जेब्रा क्रसिङमा दुर्घटना न्युनीकरण हुन्छ ।’ जेब्राक्रसिङमा राखिने बत्तीमा साइरनसमेत जडान गरिने उनले बताए ।

यसले गर्दा रातो बत्ती बलेको बेला दृष्टिविहीनलाई समेत सडक पार गर्न सजह हुनेछ । बढ्दो सवारी चापलाई ध्यानमा राख्दै ट्राफिक बत्ती जडान प्रक्रिया अघि बढाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले बताए । ‘अब सबै चोकमा ट्राफिक लाइट हुन्छ, वर्षौंदेखि हातको इसारामा ट्राफिक प्रहरीले सवारी साधनको व्यवस्थापन गरेका छौं,’ उनले भने, ‘ट्राफिक लाइट नहुँदा सवारी व्यवस्थापन गर्न निकै फितलो भएको छ । बत्ती हुनैपर्छ । ट्राफिकलाई उपत्यकाकाको धूलो–धूवाँले निकै हैरानी गरेको छ ।’

उनका अनुसार ७ स्थानका लाइटले पनि ट्राफिकले केही राहत पाएको छ । एक ठाउँमा भएको ट्राफिक जामले पूरा उपत्यकामा दिनभर असर पार्ने उनले बताए । पछिल्लो समय १० लाखभन्दा बढी सवारीलाई १ हजार २ सय ट्राफिक प्रहरीले हातको इसाराले नियन्त्रण गर्नुपरेको छ । लाइट जडानपछि ट्राफिक प्रहरीलाई केही राहत हुने पन्तले बताए । विभागका अनुसार उपत्यकामा ३ सय ६५ बत्ती भए पनि हाल ११ स्थानमा मात्र सञ्चालनमा छन् ।

मन्त्रालयले उपत्यकाका ३५ स्थानमा ३७ ट्राफिक बत्ती जोड्ने तयारी गरेको छ । विभागले बढ्दो ट्राफिक जामलाई व्यवस्थित गर्न आधुनिक तथा प्रविधियुक्त ट्राफिक लाइट जोड्ने तयारी गरेको प्रमुख बराहीले बताए । माइतीघर, तीनकुने, जयनेपाल हल, थापाथली चोक, जावलाखेल चोकमा लाइट जडान गरिनेछ । त्यस्तै त्रिपुरेश्वर, दरबारमार्ग, भद्रकाली, कमलपोखरी, जमल, लौनचौरलगायत क्षेत्रमा पनि जडान गरिनेछ ।

प्रकाशित : श्रावण ७, २०७५ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?