रात्रि पर्यटन बढाउन गुठी जुट्दै

ललितपुर — ठेचोका नवदुर्गा भवानी देवी गुठीयारले पाटन दरबार क्षेत्रमा रात्रिकालीन पर्यटन प्रवद्र्धन योजना कार्यान्वयनमा ल्याउन ध्यान आकर्षण गराएका छन् । उनीहरूले आइतबार पाटन संग्रहालयमा पत्र दर्ता गरेर योजना अगाडि बढाउन गुठीयारले समेत सहयोग गर्न तयार रहेको बताएका छन् ।

रात्रि पर्यटन बढाउन गुठी जुट्दै

संग्रहालयले ६ वर्षअघि रात्रिकालीन पर्यटन प्रवद्र्धन गर्ने योजना बनाएका थिए । नवदुर्गा नाच दरबारको मूलचोकमा दिउँसो मात्र नभई राति पनि नचाउने परम्परा छ । टुरिजम प्याकेज बनाएर पर्यटक ल्याउन सकेमा ललितपुर महानगरपालिकाको आम्दानीमा थप वृद्धि गर्न मद्दत गर्ने कुरा गुठीयारले दर्ता गरेको पत्रमा उल्लेख छ ।

नवदुर्गा भवानी देवी गुठीका पुजारी गोपाल माली भन्छन्, ‘योजना सफल भएमा दरबार क्षेत्रमा मात्र नभई गोदावरी नगरपालिकामा पनि आम्दानी भित्र्याउन सकिन्छ ।’ महानगरपालिकामा गत वर्ष पर्यटन शुल्कबाट मात्रै १२ करोड बढी रुपैयाँ राजस्व भित्र्याएको थियो । महानगरले नवदुर्गा नाच सञ्चालन गर्न १० हजार रुपैयाँको दरबन्दी व्यवस्था छ ।

संस्थानबाट रकम दिने व्यवस्था छैन । यसअघि अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण प्रवद्र्धन गर्न संस्कृतिमन्त्री रवीन्द्र अधिकारीको ध्यानाकर्षण गराएका थिए । माली भन्छन्, ‘मन्त्री अधिकारीले लोपोन्मुख नाच संरक्षण गर्ने बताइरहेका बेला मन्त्रालयबाट दिँदै आइरहेको रकम उल्टो कटौती भयो ।’ दरबार क्षेत्रसँग सम्बन्धित लिच्छवि, मल्ल र शाहकालीन गरेर मुख्य ७ पर्व छन् । यी तीन कालीन पर्व एकआपसमा अन्तरसम्बन्धित छन् ।

संस्थानले दरबारको लिच्छविकालीन मानमानेश्वरी मन्दिरमा रेस्टुरेन्ट सञ्चालन गर्न अनुमति दिएपछि मुख्य पर्व लोप हुँदै गएको हो । अहिले ठेकेदारले मन्दिरमा कासा प्यगोडा रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ । गुठी संस्थान त:बहालका प्रमुख शैलेन्द्र पौडेलले उक्त ठेक्का आफ्नो पालोमा नभएको बताए । ‘ठेक्का २०७६ जेठमा सकिनेछ,’ उनले भने, ‘त्यसपछि मन्दिर नै कायम गरिनेछ ।’

प्रकाशित : श्रावण ७, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?