२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सोलाभञ्ज्याङले लोभ्याउँदै

राजकुमार कार्की

सिन्धुली — सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहाल सदरमुकाम आवतजावत गर्दा गढीनजिकको सोलाभञ्ज्याङमा केही समय बिताउँछिन् । सदरमुकाम र आफ्नो गाउँपालिका कार्यालयतिर उखरमाउलो गर्मी हुन्छ । गढी क्षेत्र आएपछि गर्मीमा समेत जाडोले हुँदा आनन्द आउने उनी बताउँछिन् ।

सोलाभञ्ज्याङले लोभ्याउँदै

कामको चटारो त्यहीमाथि गर्मीले गर्दा धेरै नै थाकित हुने उनले बताइन् । ‘सोला आउनासाथ बेग्लै आनन्द आउँछ, फुर्सद छ भने गढी नै उक्लिएर बस्छु,’ अध्यक्ष दीपाले भनिन्, ‘धेरै नै हतार छ भने पनि एक आधा घण्टा त बसेकी नै हुन्छु ।’

उनी मात्र होइन, गोलन्जोर गाउँपालिका अध्यक्ष पुष्प कार्कीको अनुभव पनि उस्तै छ । तनाव र थकान मेटाउने थलो गढी क्षेत्र भएको बताए । ‘बाह्रै महिना यहाँ हुस्सु लाग्छ,’ उनले भने, ‘यही भएर होला गर्मीको महिना त यो स्वर्ग नै हो ।’ गढी क्षेत्रको बृहत्तर विकास गर्न सके पर्यटकको ओइरो लाग्ने उनको अनुमान छ । गोलन्जोरकै वडा ५ रातनचुराले गढी क्षेत्रलाई छोएको र त्यसलाई साइकल जोनका रुपमा विकास गर्न गाउँपालिका लागेको अध्यक्ष कार्कीले बताए ।

गढी क्षेत्रमा बसोबासको राम्रो व्यवस्था हुने हो भने केही दिन बिताउनै पर्यटक आउने सिन्धुलीगढी अन्वेषणकर्ता सागरकुमार ढकालको भनाइ छ । सदरमुकामबाट २० किमि उत्तरमा पर्ने यस ठाउँमा गर्मी मौसममा पनि जाडो हुन्छ ।

गर्मी भुलाउन र प्राकृतिक सौन्दर्यमा आनन्द लिन तराई क्षेत्रको हब सिन्धुलीगढी बन्दै गएको छ । सिन्धुलीगढी क्षेत्रमा रहेको ऐतिहासिक महत्व, हावापानी र नागबेली सडकका कारण तराइबाट सयौं सवारी साधनमा आन्तरिक पर्यटक यहाँ आउने गरेका छन् । वर्षातको समयमा पनि गर्मी भुलाउन छिमेकी जिल्ला तथा भारतबाट समेत पर्यटक गढी क्षेत्र पुग्छन् ।

प्रकाशित : श्रावण १२, २०७५ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?