दुई तुइन विस्थापित

४ झोलुंगे र १ पक्की पुल बने
प्रताप विष्ट

हेटौंडा — मकवानपुरमा गत आवमा ४ झोलुंगे र एउटा पक्की पुल निर्माण भएका छन् ।आव ०७४/७५ मा ६ झोलुंगे र ५ पक्की पुलको निर्माण सुरु भएको थियो । झोलुंगे पुल अभावमा बर्सेनि १/२ जनाको सरोवरमा डुबेर मृत्यु हुन्थ्यो । इन्द्र सरोवर गाउँपालिका १, सिम्लाङमा २५ लाखमा झोलुंगे पुल बनेको हो ।

दुई तुइन विस्थापित

झोलुंगे पुलेको अभाव उक्त क्षेत्रका बासिन्दा इन्द्रसरोवर वारपार गर्न काठे डुंगाको भर पर्ने गरेका थिए । ‘यहाँ झोलुंगे पुल निर्माण भएर स्थानीयलाई सहज भएको छ,’ इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले भने, ‘यो झोलुंगे पुल भएर ४/५ गाउँका बासिन्दा वारपार गर्छन् ।’


१ सय ९ मिटर लामो झोलुंगे पुलबाट सिम्लाङ, डाँडागाउँ, टौमासका बासिन्दा लाभान्वित भएका छन् । यसैगरी भीमफेदी गाउँपालिका भैंसेस्थित बोकेदहमा ४० लाखमा १ सय १५ मिटर लामो झोलुंगे पुल असारमै निर्माण पूरा भएको छ । पुल बन्नुअघि यस क्षेत्रका बासिन्दा बर्खाका बेला तुइनबाट वारपार गर्थे । बोकेदहमा निर्माण भएको झोलुंगे पुलले तुइन विस्थापित गरेको हो । यो पुलबाट ३ सय १२ घरधुरी लाभान्वित भएका छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत जिल्ला समन्वय समितिले निर्माण गरेका झोलुंगे पुलमध्ये गत आवमा मकवानपुर गढी गाउँपालिका ७, सुकौरामा निर्माण सकेको छ ।


३८ लाखमा निर्माण गरिएको झोलुंगे पुल १ सय ११ मिटर लामो छ । पुलबाट ५ सय १२ घरधुरी लाभान्वित भएका जिसस प्रमुख रघुनाथ खुलालले बताए । यसैगरी थाहा नगरपालिका ९, चित्लाङमा १७ लाखमा ३२ मिटर लामो झोलुंगे पुल बनेको छ । छोटो झोलुंगे पुल भए पनि ७ सय घरधुरी यसबाट लाभान्वित हुने राडो नेपालका इन्जिनियर चन्द्र योञ्जनले बताए । राडो नेपालको प्राविधिक सहयोगमा पुल निर्माण र मर्मत गरिएको छ । ‘४ झोलुंगे पुल आव ०७४/७५ बनिसक्यो,’ उनले भने, ‘२ वटा साउनभित्र पूरा हुन्छन् ।’

थाहा नगरपालिका ७, आग्रा र बकैया गाउँपालिका ठिगनमा झोलुंगे पुल निर्माण भइरहेको छ । ४ झोलुंगे पुलको मर्मत भइसकेको छ । ६ झोलुंगे पुलको निर्माण र मर्मत गर्न जिससले ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो । जिससका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा १० तुइन सञ्चालनमा छन् ।

ती विस्थापित गर्ने उद्देश्यले सरकारले गत आवमा ६ झोलुंगे पुल निर्माणमा बजेट उपलब्ध गराएको थियो । ६ झोलुंगे पुल निर्माणपछि २ वटा मात्र तुइन विस्थापित हुन्छन् । जिल्लाका ८ तुइनमार्फत २२ हजार जनसंख्या जोखिमयुक्त ढंगले दैनिक आवतजावत गरिरहेका छन् । जिल्लामा अहिले ५९ झोलुंगे पुल छन् । सबैभन्दा पुरानो झोलुंगे पुल कैलाश गाउँपालिकाको कालिकाटारमा छ । यो २०१९ सालमा अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको हो ।


मकवानपुरमा ५ पक्की पुलको सम्झौता भए पनि बकैया गाउँपालिकाको हात्तीसुँढे–शिखरपुर सडकमा पक्की पुल निर्माण भएको छ । करिब २ करोड २१ लाखमा २५ मिटर लामो पक्की पुलको निर्माण सकिएको हो । जिल्लाका विभिन्न भागमा ४ पक्की पुल निर्माणाधीन अवस्थामा छन् । चालु आवको ६ महिनाभित्र ती पुल निर्माण पूरा हुने जिससले जनाएको छ ।

प्रकाशित : श्रावण १८, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?