रसुवागढी नाका एक सातादेखि ठप्प

बलराम घिमिरे

रसुवा — रसुवागढी नाकामा एक सातादेखि यातायात ठप्प भएको छ । गोसाइँकुण्ड गाउँंपालिका २, घट्टेखोला पुलमा बाढीले क्षति पुर्‍याएपछि नाका ठप्प भएको हो ।

रसुवागढी नाका एक सातादेखि ठप्प

बाढीले क्षति पुर्‍याएको पुल मर्मतमा ढिलाइ हुँदा साउन १२ देखि यातायात ठप्प भएको हो । जोखिम बढेपछि अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ चल्ने सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । ‘साना–ठूला दुवै किसिमका सवारीसाधन सञ्चालनमा रोक लगाएका छौँ,’ उनले भने ।

नाकामा यातायात ठप्प भएपछि स्याउ, लसुनलगायत सामग्री कुहिन थालेका छन् । केरुङबाट आयात गरिएका सामान कुहिन थालेपछि व्यापारीलेहरू भरियालाई बोकाएर सामान टिमुरेतर्फ ल्याउन गरेका छन् । यातायात नचलेकाले साउनको भन्सार असुलीमा कमी आउने रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरालाले बताए । ‘लामो समयसम्म यातायात ठप्प भयो भने साउन महिनाको राजस्व लक्ष्य पूरा गर्न गाह्रो छ,’ उनले बताए ।

मंगलबारदेखि पुलको मर्मत गर्न थालिए पनि साइडमा निर्माण सामग्री नभएकाले कामले गति लिन सकेको छैन । पुल मर्मतका लागि चाहिने निर्माण सामग्री आयात हुन नसक्दा मर्मतमा ढिलाइ भएको डिभिजन सडक कार्यालय नुवाकोटका डिभिजन प्रमुख नीरज शाक्ले बताए । पासाङल्हामु मार्गको त्रिशूली–बेत्रावती खण्डको तिरतिरे भीरमा पहिरो गएपछि निर्माण सामग्री उतै रोकिएकाले ढिला भएको उनले बताए ।

मर्मतका लागि आवश्यक गिट्टी, बालुवा, सिमेन्ट, रड, जाली र फर्मा शनिबार साइडमा आइपुग्ने शाक्यको भनाइ छ । ‘निर्माण सामग्री आइपुगेपछि काम द्रुत गतिमा अघि बढ्छ,’ उनले भने । पानीको बहाव उच्च भएकाले ठुल्ठूला ढुंगा खसालेर ढलान गर्न लागिएको छ । आइतबारबाट पुलको जगमा ढलान गर्ने काम सुरु हुन्छ । ढलान गर्दा छिट्टै सेट हुने सिमेन्ट प्रयोग हुने शाक्यले बताए । पुल मर्मत सुरु गरेको १५ दिनभित्र यातायात सञ्चालनमा ल्याउने कार्यालयको लक्ष्य छ । पुलको जगमा ढलान गरे पनि सडक विभागको पुल माहाशाखाको प्राविधिक टोलीसँग परमर्श गरेर मात्र यातायात सञ्चालन गरिने शाक्यले बताए ।

पुल मर्मत नहुंँदा सामग्री आयात गरी नेपाल आउन लागेका कन्टेनर रसुवागढी नाकापारि नै रोकिएका छन् । नेपालतर्फ आउन र चीनतर्फ जान लागेका करिब २ सय बढी कन्टेनर बीचबाटोमै रोकिएका छन् । बाढीले पुलको टिमुरेतर्फको पिलरमा क्षति पुर्‍याएको छ । पुलको लम्बाइ ५१ मिटर छ । यो पुल चीन सरकारले स्याफ्रुबेंसी–रसुवागढी सडक निर्माण गर्दा बनाइदिएको हो ।

यसले चीनसँगको अन्तर्राष्ट्रिय नाका रसुवागढी जोड्छ । भूकम्पले तातोपानी नाका बन्द भएपछि २०७२ मंसिरदेखि रसुवागढी नाकाबाट सामग्री आयात तथा निर्यात हँुदै आएको छ । रसुवागढी नाकालाई चीनले २०७४ भदौ १४ गते अन्तर्राष्ट्रिय नाका घोषणा गरिसकेको छ । रसुवागढी नाका हुँदै चीनबाट तयारी कपडा, स्याउ, जुत्ताचप्पल, रबर, हातेझोला, मोटर ब्याट्री, यूपीएस, प्लास्टिकका सामग्रीलगायत आयात हुने गरेका छन् ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?