कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नौबिसे–नागढुङ्गमा खारिँदै ठूला मोड

हरिहरसिंह राठौर

नौबिसे (धादिङ) — त्रिभुवन राजपथको नौबिसे खण्डको सवारी जामले राजधानी प्रवेश गर्ने यात्रुले हैरानी बेहोर्नुपरेको छ । यही हैरानी अन्त्यका लागि डिभिजन सडक कार्यालयले यहाँका साँघुरा र ठूला मोड खारेर फराकिलो बनाइरहेको छ ।

नौबिसे–नागढुङ्गमा खारिँदै ठूला मोड

सडक फराकिलो पारेसँगै दुर्घटनामा कमी आउनुका साथै सवारी जाम पनि घट्ने कार्यालयको विश्वास छ ।

राजधानी प्रवेश गर्ने र फर्कने सवारीसाधनहरूले उकालो मोडमा जामकै कारण यात्रुले सास्ती बेहोर्नुपर्ने अवस्था छ । खानीखोलादेखि नागढुंगासम्मको १५ किमिमा पर्ने २ दर्जन घुम्ती, साँघुरो सडककै कारण घण्टौं लगाएर जाम छिचोल्नुपर्ने नियति नै बनेको छ । यही घुम्ती र साँघुरो सडककै कारण दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

‘भारत तथा मुलुककै विभिन्न जिल्लाबाट राजधानी प्रवेश गर्ने ठूला, लामा मालवाहक गाडी घुम्तीमा मोड नपुगेपछि समस्या थपिएको छ,’ गजुरीस्थित सडक डिभिजन कार्यालयका इन्जिनियर हरि ठकुरीले बताए । साँघुरो मोडमा सवारीसाधन आउजाउमा कठिन हुने, मोड्न नमिल्ने, बिग्रिएर रोकिएका गाडीका कारण दसौं किमि दोहोरो जाम पर्ने समस्या हटाउनकै लागि कार्यालयले ठूला मोड कटान गरी सडक फराकिलो बनाउन थालेको हो ।

‘अत्यधिक जाम हुने पिपलामोडदेखि नौबिसेसम्मका घुम्ती आवश्यकताअनुसार कटान गर्दै आएका छौं,’ उनले भने, ‘गत वर्ष ७ ठूला मोड कटान गर्ने जिम्मा दिएकोमा ४ वटा मात्रै कटान भएको छ ।’ बाँकी ३ वटा मोड कटानको जिम्मा नागार्जुन कल्पवृक्ष जेभीलाई दिएको पनि उनले बताए । मोड कटानपछि कम्तीमा ७ देखि बढीमा १० मिटर सडक थप चौडा हुनेछ । एउटा मोड कटान गर्न र पर्खाल लगाउन कम्तीमा १८ लाख खर्च भएको ठकुरीको भनाइ छ ।



कटान गरेका मोडहरूका कारण पनि विगत ६ महिनादेखि नियमित सञ्चालन भइरहेका सवारी जाम घटदै गएको खानीखोला इलाका प्रहरी कार्यालय इन्चार्ज प्रहरी निरीक्षक उद्धव पोखरेल बताउँछन् । उनका अनुसार मोडहरू कटान भएसँगै सवारी आवागमनमा सहज भएको छ ।

नौबिसे बजार क्षेत्रको अतिक्रमित सडक मापदण्डअनुसार पुर्‍याई सवारी जाम नहुने अभियानमा धुनीबेंसी नगरपालिकाले पनि सहयोग गरेको नगर प्रमुख बालकृष्ण आचार्यले बताए । खानीखोलादेखि नौबिसे, धार्के, बजारका व्यापारीहरूद्वारा अतिक्रमित सडकसँग जोडिएका क्षेत्र चौडा गरी सोलार बत्ती जडान भइरहेको आचार्यले बताए ।

प्रकाशित : श्रावण २०, २०७५ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?