१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

९ महिनादेखि इलाका प्रशासन कार्यालय बन्द

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको दुर्गम क्षेत्रका बासिन्दालाई सेवा प्रदान गर्नका लागि खोलिएको इलाका प्रशासन कार्यालय लाप्चाने एक वर्षदेखि बन्द रहेको छ । 

९ महिनादेखि इलाका प्रशासन कार्यालय बन्द

गएको भदौ ९ गतेदेखि बन्द भएको लाप्चाने इलाका प्रशासन कार्यालय नखुल्दा उमाकुण्ड गाउँपालिका र आसपासका वासिन्दाले नागरिकता, राहदानी र आदिवासी जनजाति प्रमाणित लगायतका काम गर्न जिल्ला सदरमुकाम नै आउनुपर्ने बाध्यता छ ।


त्यस क्षेत्रबाट जिल्ला सदरमुकाम आउन मात्र २ दिन लाग्छ । ‘नागरिकताको काम सकेर घर फर्कदा ५ दिन लाग्छ’ गुम्देलका शिव बस्नेतले बताए ।


जिल्ला प्रशासन कार्यालयले उमाकुण्ड र गोकुलगंगाका साविक ११ वटा गाविसका नागरिकलाई सेवा प्रदान गर्ने गरी उक्त कार्यालय सञ्चालनमा ल्याएको थियो । तर कार्यालय मुस्किलले ९ महिनासम्म चलेर बन्द भएको हो ।


अधिकृत नहुँदा नागरिकता जारी गर्न नसकेपछि कार्यालयका अन्य कर्मचारी पनि जिल्ला प्रशासन कार्यालय रामेछापमा हाजिर गरिरहेका छन् । इलाका प्रशासन कार्यालय नहुँदा वृद्धवृद्धालाई बढी कष्ट सहनु परेको छ ।


प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बन्द रहेको इलाका प्रशासन कार्यालय चाडो भन्दा चाडो सञ्चालनका लागि गृह मन्त्रालयसँग पहल गरिरहेको बताए । उनले अधिकृत खटाउने बित्तिकै कार्यालयले साविकमाझै सेवा गर्ने बताए ।


जिल्ला प्रशासन कार्यालयले चालू आर्थिक वर्षमा गर्ने क्रियाकलापमा उक्त इलाका प्रशासन कार्यालय सञ्चालन गर्ने कार्य समेत समेटिएको छ ।


आफ्नो क्षेत्रमा रहेको इलाका प्रशासन कार्यालय एक वर्षयता बन्द रहेको भन्दै त्यसलाई सञ्चालन गर्न माग गर्दै उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले गृहमन्त्री रामबहादुर थापा समक्ष २ महिना अघिनै ज्ञापन पत्र बुझाएका थिए ।


‘ म तत्कालै अधिकृतको व्यवस्था गरेर इलाका प्रशासन कार्यालय खोल्ने व्यवस्था मिलाउँछु भनेर मन्त्री ज्यूले आश्वासन दिनुभएको थियो ’ सुनुवारले दुखेसो पोखे, ‘खै अहिलेसम्म काम भएन । ’


लाप्चाने उच्च पहाडी क्षेत्रमा पर्छ । बाम्ती जाने सडकमा जोडिएको लाप्चानेमा अन्य सरकारी इकाईहरु छैनन् । जाडो धेरै हुने उक्त क्षेत्रमा अधिकृत कर्मचारी बस्न रुचाउदैनन् ।


उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितीकै च्यादलुमा भएकाले इलाका प्रशासनलाई पनि च्यादलु सारेर सञ्चालन गर्नुपर्ने माग स्थानीयको छ । गाउँपालिका, इलाका प्रहरी, मावि, लगायतका संरचनाका कारण च्यादलुमा कर्मचारी बस्ने वातावरण हुने उनीहरुको बुझाइ छ ।

प्रकाशित : श्रावण २१, २०७५ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?