कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

वर्षाको सकस : स्कुल आउनै डर

पहिरोको जोखिममा विद्यार्थी
अनिश तिवारी

बुदेपा (सिन्धुपाल्चोक) — अविरल वर्षाले तल्लो भूभाग भासिँदै गएको छ । धाँजा फाटेको र पहिरो गएको जमिन हेर्दै कलिला बालबालिका कक्षाकोठामा बस्छन् । थामी जातिको बाहुल्य दुर्गम कर्थली गाउँको बुदेपास्थित सुनकोसी माविमा दिनपिच्छै यस्तो दृश्य देखिन्छ ।

वर्षाको सकस : स्कुल आउनै डर

यहाँका ३ सय बालबालिका यस्तै जोखिम मोल्दै अध्ययन गर्न बाध्य छन् । प्रधानध्यापक कृष्णप्रसाद दंगालका अनुसार बालबालिकाले ढुक्कसँग बसेर पढ्ने अवस्था छैन । भवननजिक करिब एक किमि पहिरो झरेको छ । ‘विद्यालय अन्यत्र सार्न पनि गाह्रो छ, पहिरोको अवस्था हेरेर स्कुल चलाउनुपर्ने अवस्था छ,’ उनले पहिरो देखाउँदै भने, ‘शिक्षाले बनाउन लागेको भवन निर्माणमा समेत यसैको जोखिमले रोकिन पुगेको छ ।’ विद्यालय आउने गोरेटो पनि पहिरोले बगाउँदा बालबालिका त्रासिद भएको उनले बताए । कक्षा ४ मा अध्ययनरत सन्तोषी थामीले डरले पढाइमा ध्यान दिनै नसकेको सुनाइन् । ‘आउजाउ गर्न मन मरिसक्यो, पढ्नु कसरी,’ उनले भनिन् । उनीजस्ता यस क्षेत्रका सबै बालबालिकाको ध्यान पहिरोमा छ । दिनहुँको कटानमा विद्यालय पर्दै जाँदा कसैले सहयोग नगरेको उनले गरे ।

टाढाबाट आउने बालबालिकालाई बर्खाले बाटो क्षतिग्रस्त बनाएपछि सकस भएको बाह्रबिसे राम्चेका शिक्षक ठाकुरप्रसाद ढकाल बताउँछन् । ‘यहाँ मात्रै घण्टौं हिँडेर आउने बालबालिकालाई ठूलो समस्या छ,’ उनले भने । विद्यालय निर्माण सुस्त गतिमा हुनाले बनिरहेको भवनमा अध्यापन गराउँदा बालबालिकालाई कठिन भएको उनले बताए । ‘कक्षाभित्र पानीको ताल बस्न थालेपछि राम्रो तरिकाले पढाउनसमेत सकेका छैनौं,’ उनले भने ।

त्रिपुरासुन्दरी गाउँपालिकाको दुर्गम पिस्कर गाउँको मंगलामाई मावि पनि यस्तै समस्यामा छ । पहिरोले तलबाट बगाउँदै लान थालेपछि त्रास बढेको स्थानीयको भनाइ छ । जुगल गाउँपालिकाअन्तर्गत बराम्ची चनौटेमा निर्माणाधीन जिल्लाकै सुविधासम्पन्न पूर्ण आवासीय विद्यालय पहिरोको धरापमा परेको छ । चिनियाँ एड योजनाअन्र्तगत तिब्बती जेनलङ कन्ट्रक्सनले एक अर्ब बराबरको लागतमा चनौटेगाउँस्थित रत्नराज्य मावि भवन बनाइरहेको थियो ।

६३ रोपनी जग्गामा बनाइएको विद्यालयको काम पहिरोको जोखिमका कारण बीचैमा रोकिने अवस्था भएको वडाध्यक्ष सनत अधिकारीले बताए । ‘गएको वर्षामा पनि पहिरोले जटिल समस्या ल्याएको थियो,’ वडाध्यक्ष अधिकारीले भने, ‘सधैंजस्तो यस्तै त्रास सहनुपर्छ, विभिन्न स्थानका विद्यालय जोखिममा छन् ।’ उनले जुगलका धेरै ठाउँमा पहिरोले विद्यालयलाई जोखिममा पारेको र संरक्षणका लागि पहल भइरहेको बताए । जिल्लाको विकटदेखि सीमावर्ती क्षेत्रसम्मका विद्यालयको हालत यस्तै रहेको शिक्षा विकास तथा समन्वय इकाई प्रमुख गौरीशंकर पाण्डे सुनाउँछन् । ‘जताततै झरेको पहिरोले खतरा बढाएको छ,’ उनले भने, ‘सीमातर्फका विद्यालयमा अझ बढी रहेको देखिन्छ ।’

प्रकाशित : श्रावण २२, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?