गाउँमै विद्युतीय घट्ट

बिजुलीले गाउँलेको दैनिकी फेरियो
प्रताप विष्ट

हेटौंडा — दुर्गम गाउँमा बिजुली पुगेपछि सर्वसाधारणको जीवनशैली नै फेरिएको छ ।बिजुली गाउँमा आएपछि यतिको सजिलो होला भन्ने उनीहरूले कल्पनासमेत गरेका थिएनन् । मकवानपुरको भीमफेदी गाउँपालिका ८ साबिकको इपापञ्चकन्या गाविसको मालगाँउ र स्वाराका बासिन्दाको घरघरमा बिजुली पुगेपछि टुकी बिस्थापित भएको छ ।

विद्युतीय घट्ट पनि स्थापना भएको छ । मकै र कोदो मात्र उत्पादन हुने दुई गाउँका बासिन्दा गाउँमा घट्ट नभएका कारणले मकै र कोदो पिस्न ३ घण्टा हिँडेर वाग्मती किनारको घट्ट आउनुपथ्र्यो । आउनेबित्तिकै पालो पाइँदैनथ्यो, कुरेर बस्नुपथ्र्यो । गाउँमा बिजुली पुगेपछि सामुदायिक रूपमा विद्युतीय घट्ट स्थापना गरेका छन् । गाउँपालिकाले आव ०७४/७५ को बजेटमै मालगाउँ र स्वारामा बिजुली पुर्‍याउन रकम विनियोजन गरेको थियो ।

गत चैतमै ती दुई गाउँमा बिजुली पुग्यो । बिजुली पुग्नेबित्तिकै गाउँलेहरूले गाउँपालिकासमक्ष विद्युतीय घट्ट स्थापना गर्न माग गरेका थिए । गाउँपालिकाले विद्युतीय घट्ट स्थापना गर्न ३ लाख रुपैयाँ उपलब्ध गराएको वडाध्यक्ष जगतमान घिसिङले बताए । भन्छन्, ‘उक्त रकमले मालागाउँ र स्वारामा २ सामुदायिक विद्युतीय घट्ट स्थापना गरी सञ्चालनमा ल्याएका छौं ।’


गाउँमै विद्युतीय घट्ट भएपछि स्थानीय बासिन्दालाई मकै, कोदो र फापर पिस्न घण्टौं लगाएर वाग्मतीको छेउमा रहेको घट्टमा जानु परेन । ‘तीन पाथी मकै पिस्न एक दिनै बित्थ्यो,’ स्वाराका साहिलीमाया भ्लोनले भनिन्, ‘अहिले गाउँमा बिजुली घट्ट आएपछि तीन पाथी मकै एकैछिनमा पिस्छ । उक्त विद्युतीय घट्टले एक घण्टामा १२ पाथी मकै, कोदो र फापर पिस्ने गर्छ । ज्याला पनि पाथीको एक माना मात्र लिने गरेको छ । वाग्मती छेउको घट्टमा पाथीको २ माना ज्याला दिनुपथ्र्यो ।’


तामाङ समुदायको मात्र बसोबास रहेको माला र स्वारामा एक/एका विद्युतीय घट्ट स्थापना गरिएका छन् । माला गाउँमा देवबहादुर थिङ र स्वारामा पूर्णबहादुर भ्लोनले विद्युतीय घट्ट सञ्चालन गरेका हुन् । घटेराद्वय थिङ र भ्लोनलाई पारिश्रमिक एव बिजुली महसुल तिर्न पाथीको एक माना ज्याला लिने व्यवस्था गरिएको छ । उक्त दुई गाउँमा वर्षायाम मात्र चल्ने र हिउँद लागेपछि पानीको अभावले घट्ट चल्दैनथ्यो । मकै, कोदो र फापर पिस्न बोकेर वाग्मती खोलाको किनारमा पुग्थे । हिउँदमा बन्द हुने पानी घट्टलाई फलामको मदानी बनाएर विद्युतबाट घट्ट सञ्चालन गरेको हो ।


‘सर्वसाधारणको दु:ख देखेर गाउँपालिकाले विद्युतीय घट्ट बनाएको हो,’ गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने, ‘एक वर्षमा उक्त बस्तीमा बिजुली पुग्नुको साथै विद्युतीय घट्ट पनि स्थापना गर्‍यौं ।’ गाउँको विकास गर्न नेताहरूलाई भोट खसालेर चुनेकाले अहिले झलमल भएको ालागाउँका ७७ वर्षीय ठूलोकान्छा थिङ बताउँछन् । ‘गाउँमा बिजुलीसँगै घट्ट पनि चल्न थालेको छ, पहिला चुनाव नभएर दु:ख पाएका रहेछौं,’ उनले भने । बिजुलीकै कारण विद्यार्थीले पनि राति अबेरसम्म पढन पाएका छन् । मोबाइल चार्ज गर्न इपा बजार झर्नु पर्दैन । ‘रेडियो र टीभीबाट नयाँनयाँ कुरा सुन्न र देख्न पाएका छौँ,’ थिङले भने ।


बिजुली नहुँदा अँध्यारो हुन नपाउँदै खाना खाएर सुत्ने र उज्यालो भएपछि मात्र उठ्ने सर्वसाधारणको दैनिकी फेरिएको हो । अहिले हेटांैडा–भीमफेदी र इपापञ्चकन्यामा दैनिक बस सेवा सञ्चालनमा छ । इपापञ्चकन्या ललितपुरको साबिकको माल्टा गाविससंँग जोडिएको छ । वाग्मतीवारि ईपा र पारि माल्टा पर्छ ।

प्रकाशित : श्रावण २५, २०७५ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्

दैनिक ५६ हजार बोरा सिमेन्ट उत्पादन

रिद्धिसिद्धि सिमेन्ट उद्योग
कान्तिपुर संवाददाता

हेटौंडा — स्वदेशी कम्पनीको लगानीमा हेटौंडामा निर्माणाधीन रिद्धिसिद्धि सिमेन्ट उद्योगले आगामी असोजको पहिलो सातादेखि उत्पादन सुरु गर्ने भएको छ । दैनिक २८ सय टन अर्थात् ५६ हजार बोरा सिमेन्ट उत्पादन गर्ने क्षमतासहित उद्योग स्थापना हुन लागेको हो ।

उद्योगको ८० प्रतिशतभन्दा बढी निर्माण कार्य पूरा भइसकेको छ । अधिकांश उपकरण जडान भइसकेका छन् । उद्योगको सय मिटर उचाइ ‘प्रि हिटर’ टावर निर्माण भइसकेको छ । ‘निर्माण अन्तिम चरणमा पुगिसकेको छ,’ उद्योगका निर्देशक राजेश खरेलले भने, ‘वर्षायाम भए पनि निर्माणमा कामदार र प्राविधिकहरू युद्धस्तरमा जुटिरहेका छन् ।’ उद्योगलाई दैनिक ३ हजार ४ सय टन चुनढुंगा आवश्यक पर्छ । मकवानपुरको भीमफेदी गाउँपालिकाको निबुवाटार, राक्सिराङ गाउँपालिकाको राक्सिराङ र चितवन शक्तिखोरमा उद्योगको चुनढुंगाको खानी छ । २ महिनाभित्रमा उत्पादन सुरु गर्ने लक्ष्यका साथ निर्माण भइरहेको छ ।


अम्बे र शंकर गु्रपको लगानीमा हेटौंडा उपमहानगरपालिका १५, चुरियामाई भोर्लेमा उद्योगको निर्माण ०७३ फागुनदेखि सुरु गरिएको खरेल बताए । क्लिंकर उत्पादन गर्न अझै केही समय लाग्ने प्राविधिकहरूको भनाइ छ । १५ मेगावाट विद्युत् खपत गर्ने उक्त उद्योगले डेनमार्क र भारतबाट उपकरणहरू ल्याएर जडान गरिसकेको छ । अत्याधुनिक प्रविधि अर्थात् युरोपियन रोबोटिक प्रविधिअनुसार उद्योग सञ्चालन हुने उद्योगका प्राविधिकहरूले बताए ।

४० बिघामा स्थापना गरिएको उद्योगमा ३ सयले प्रत्यक्ष रोजगारी पाउनेछन् । बर्सेनि भारतबाट आयात हुने सिमेन्टमा थोरै प्रतिशत भए पनि कमी आउनेछ । नेपालमा गत वर्ष २ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सिमेन्ट भारतबाट आयात गरिएको छ । नेपालमा खपतको ७० प्रतिशत सिमेन्ट भारतबाट आयात गरिन्छ ।

प्रकाशित : श्रावण २५, २०७५ ०८:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्