पहिरोले सास्ती: बिरामीले उपचार पाएनन्

कान्तिपुर संवाददाता

दोलखा — पहिरोले थुनिएका बिगु गाउँपालिकास्थित बुलुङका बासिन्दा अस्थायी रूपमा खुलाइएको पदमार्गबाट हिँडडुल गर्न बाध्य छन् । बिरामीले उपचार पाउन सकेका छैनन् सर्वसाधारणको दैनिकी कष्टकर भइरहेको छ ।

पहिरोले जताततै सडक भत्किएपछि सर्वसाधारणले सकस खेप्नुपर्‍यो । घाइते भएकालाई पनि बोकाएर अस्पतालमा लाने सडक नभएपछि हेलिकप्टरबाट उद्धार गरिएको थियो । साबिकका सडक दबदबे हिलो र भत्किएकाले वैकल्पिक मार्ग मर्मत गर्दै घुमाउरो गरी आवतजावत खुलेको छ । प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले मुस्किले पहिरो प्रभावित क्षेत्र पुगेका प्रहरी र स्थानीयले अस्थायी रूपमा पदमार्ग खुलाएको बताए । तर, पहिरो स्थलमा बिहीबार बिहान मात्रै प्रहरी देखिएको स्थानीयको भनाइ छ ।


मंगलबार रातिको भीषण वर्षापछि बुलुङका १२ घर भत्किएको स्थानीय हरि श्रेष्ठले बताए । उनका अनुसार सिँचाइ कुलो, सडक भत्किएका छन् । केही परिवार विस्थापित भएको उनले बताए । बिगु गाउँपालिका अध्यक्ष युधृष्टि खडकाले उद्धार र राहतका लागि खटिरहेको बताए । बुलुङभरि नै पहिरोले बिजुलीका पोलमा पनि क्षति पुर्‍याएकाले विद्युत् सेवा अवरुद्ध भएका छन् । विद्युत् अवरुद्ध भएसँगै सञ्चार क्षेत्र पनि प्रभावित बनेको छ । सडक बिग्रिएकाले सिंगटीबाट ३ घण्टा लाग्ने बुलुङ पुग्न प्रहरीलाई ७ घण्टा लागेको थियो । अझै, पहिरो प्रभावित क्षेत्रमा उद्धार र तथ्यांक संकलनमा प्रहरी परिचालित भइरहेको प्रनाउ पाठकले जानकारी दिए ।

Yamaha


लामाबगर सडक खुल्यो
सिंगटी प्रहरीका अनुसार पहिरोले अवरुद्ध माथिल्लो तामाकोसी आयोजना क्षेत्र जोड्ने लामाबगरसम्मको सडक खुलेको छ । विभिन्न स्थानका अवरोधहरू हटाइएपछि सिंगटीदेखि लामाबगरसम्म यातायात सञ्चालनमा आएको हो । तर, बिगु गाउँपालिका जोड्ने सोरुङ, झोरुङ, लादुक र बुलुङ जाने सडकहरूका अवरोध भने हटेको छैन ।


भासियो सडक, यात्रु अलपत्र
सिन्धुपाल्चोक (कास)– आमा सलमीलाई दमले च्यापेपछि हतारमा बिहानै दौडिएकी भोटेकोसी गाउँपालिका चाकु बजारकी कान्छी तामाङ जुरेमा आएर रोकिइन् । बिरामीसहितको एम्बुलेन्स गुड्ने जुरे सडकखण्डमा अविरल वर्षाले बगर बनाइसकेको थियो । २ घण्टापछि बल्ल अवरोध पन्छाउँदै एक्साभेटरले बाटो मर्मत थाल्यो । झन्डै ४ घण्टाको कुराइपछि जामको लामसँगै बल्ल पक्की सडक भेटाएको एम्बुलेन्स बलेफीमा आएर रोकियो । ‘बिहानै हिँडेको बेलुकी हुन लागिसक्यो, पहिरो खुल्ने छाँट छैन, हेरुँ कति बेला खुल्छ कुदिहाल्नुपर्छ,’ उनले घडी हेर्दै दु:खेसो पोखिन् ।


सीमावर्ती तातोपानीदेखि चाकु बजार हुँदै बाह्रबिसेबाट आधा दर्जन पहिरो छिचोल्दै आएका उनीजस्तै यात्रुको भीड देख्न सकिन्थ्यो । ‘उता महभीर र जुरेमा उस्तै डर लाग्दो छ । बलेफीमा पनि उस्तै धराप देखिन्छ । बर्खामा सधै यस्तै जोखिममा हिँड्नुपर्छ,’ बाह्रबिसे नगरपालिका राम्चेका उद्धवबहादुर तिवारीले भने । पहिरोको त्रासले अत्यधिक वर्षा भएको समयमा सवारीसाधन जुरेपहिरो कटेर आउन मान्दैनन् ।

काठमाडौंबाट बेलुकी अबेर बस चढेका यात्रु लामोसाँघुमै अलपत्र पर्छन् । यहाँको मात्र होइन, सिन्धुपाल्चोक जोड्ने अरनिको राजमार्गभित्रको दर्जनौं सडक अवरुद्ध भएका छन् । बेलुका भएको अविरल वर्षासँगै चौतारा नगरको बजार जोड्ने कुभिन्डे, बजार नजिकका सडकमा पहिरो खसेको छ । महभीर या जुरेदेखि सडक भासिँदा सवारी नचढेका कारण यात्रु हिँडेर गन्तव्यतर्फ लाग्ने गरेका छन् । बर्खालगत्तै बाह्रबिसे–काठमाडौं खण्डको महभीर, जुरे, कल्लेरी र बलेफीजस्ता स्थानमा दैनिक पहिरोले अवरुद्ध बनाउने गरेको छ ।

घण्टौंको जाम
नुवाकोट (कास)– नुवाकोट र धादिङ सीमा क्षेत्रमा पर्ने कोल्पुटारमा सडक बिस्तार नहुँदा यात्रु घण्टौंको जाम झेल्न बाध्य छन् । निर्माणका क्रममा माटो र भीर काटेपछि सडक बिस्तारमा पनि ढिलाइ भएको हो ।


गल्छी–त्रिशूली सवारीको चाप धेरै रहने नाका हो । समयमै गन्तव्यमा पुग्न नसक्दा बिरामी, विद्यार्थी, यात्रुले सकस खेप्नुपरेको छ । ‘छिटो उपचार गर्न भनेर बिहानै बिरामी ल्याएको काठमाडौं पुर्‍याउन सकिएको छैन,’ एम्बुलेन्समा बिरामी लिएर हिँडेका आफन्तले भने, ‘कहिले खुल्ला जाम निश्चित भएन ।’ नुवाकोट सीमा कोल्पुटार हुँदै गल्छीमा रहेको विद्यालयमा अध्ययन गर्न जाने विद्यार्थी र शिक्षक पनि जामको सास्ती खेप्न बाध्य छन् । बर्खायता कोल्पुटार हँ‘दै गल्छी पुग्ने सबैको बाध्यता जान छिचोल्न भएको छ । ‘बिहानै हिँडयो १२/१ बजे नभई विद्यालय पुगिँदैन,’ एक शिक्षकले भने ।


बाटो बनाउने चासो कसैलाई नभएको त्रिशूलीबाट यात्रु लिएर काठमाडौं हिँडेका बा३ ख ५५४७ नम्बर बस चालक श्यामबाबु श्रेष्ठ बताउँछन् । भन्छन्, ‘सरकारले यो बाटो छिटो बनाउन कहिले ध्यान देला खोई ?’ हिलाम्मे सडकमा एउटा गाडी भासिए यात्रु मिलेर ठेल्दा पनि निकाल्नै सकस हुन्छ । बाटोमा खसेको ढुंगा यहाँ परिचालित प्रहरीले पन्छाउने र जाम मिलाउन भ्याईनभ्याई हुने गरेको छ । ‘बिहानदेखि बेलुकासम्म यस्तै हो,’ गल्छी प्रहरी चौकीका हवल्दार रामकुमार श्रेष्ठले भने, ‘जाम खोल्दै पठाउन गरेका छौं ।’

प्रकाशित : श्रावण २५, २०७५ ०८:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

गाउँमै विद्युतीय घट्ट

बिजुलीले गाउँलेको दैनिकी फेरियो
प्रताप विष्ट

हेटौंडा — दुर्गम गाउँमा बिजुली पुगेपछि सर्वसाधारणको जीवनशैली नै फेरिएको छ ।बिजुली गाउँमा आएपछि यतिको सजिलो होला भन्ने उनीहरूले कल्पनासमेत गरेका थिएनन् । मकवानपुरको भीमफेदी गाउँपालिका ८ साबिकको इपापञ्चकन्या गाविसको मालगाँउ र स्वाराका बासिन्दाको घरघरमा बिजुली पुगेपछि टुकी बिस्थापित भएको छ ।

विद्युतीय घट्ट पनि स्थापना भएको छ । मकै र कोदो मात्र उत्पादन हुने दुई गाउँका बासिन्दा गाउँमा घट्ट नभएका कारणले मकै र कोदो पिस्न ३ घण्टा हिँडेर वाग्मती किनारको घट्ट आउनुपथ्र्यो । आउनेबित्तिकै पालो पाइँदैनथ्यो, कुरेर बस्नुपथ्र्यो । गाउँमा बिजुली पुगेपछि सामुदायिक रूपमा विद्युतीय घट्ट स्थापना गरेका छन् । गाउँपालिकाले आव ०७४/७५ को बजेटमै मालगाउँ र स्वारामा बिजुली पुर्‍याउन रकम विनियोजन गरेको थियो ।

गत चैतमै ती दुई गाउँमा बिजुली पुग्यो । बिजुली पुग्नेबित्तिकै गाउँलेहरूले गाउँपालिकासमक्ष विद्युतीय घट्ट स्थापना गर्न माग गरेका थिए । गाउँपालिकाले विद्युतीय घट्ट स्थापना गर्न ३ लाख रुपैयाँ उपलब्ध गराएको वडाध्यक्ष जगतमान घिसिङले बताए । भन्छन्, ‘उक्त रकमले मालागाउँ र स्वारामा २ सामुदायिक विद्युतीय घट्ट स्थापना गरी सञ्चालनमा ल्याएका छौं ।’


गाउँमै विद्युतीय घट्ट भएपछि स्थानीय बासिन्दालाई मकै, कोदो र फापर पिस्न घण्टौं लगाएर वाग्मतीको छेउमा रहेको घट्टमा जानु परेन । ‘तीन पाथी मकै पिस्न एक दिनै बित्थ्यो,’ स्वाराका साहिलीमाया भ्लोनले भनिन्, ‘अहिले गाउँमा बिजुली घट्ट आएपछि तीन पाथी मकै एकैछिनमा पिस्छ । उक्त विद्युतीय घट्टले एक घण्टामा १२ पाथी मकै, कोदो र फापर पिस्ने गर्छ । ज्याला पनि पाथीको एक माना मात्र लिने गरेको छ । वाग्मती छेउको घट्टमा पाथीको २ माना ज्याला दिनुपथ्र्यो ।’


तामाङ समुदायको मात्र बसोबास रहेको माला र स्वारामा एक/एका विद्युतीय घट्ट स्थापना गरिएका छन् । माला गाउँमा देवबहादुर थिङ र स्वारामा पूर्णबहादुर भ्लोनले विद्युतीय घट्ट सञ्चालन गरेका हुन् । घटेराद्वय थिङ र भ्लोनलाई पारिश्रमिक एव बिजुली महसुल तिर्न पाथीको एक माना ज्याला लिने व्यवस्था गरिएको छ । उक्त दुई गाउँमा वर्षायाम मात्र चल्ने र हिउँद लागेपछि पानीको अभावले घट्ट चल्दैनथ्यो । मकै, कोदो र फापर पिस्न बोकेर वाग्मती खोलाको किनारमा पुग्थे । हिउँदमा बन्द हुने पानी घट्टलाई फलामको मदानी बनाएर विद्युतबाट घट्ट सञ्चालन गरेको हो ।


‘सर्वसाधारणको दु:ख देखेर गाउँपालिकाले विद्युतीय घट्ट बनाएको हो,’ गाउँपालिकाका अध्यक्ष हिदम लामाले भने, ‘एक वर्षमा उक्त बस्तीमा बिजुली पुग्नुको साथै विद्युतीय घट्ट पनि स्थापना गर्‍यौं ।’ गाउँको विकास गर्न नेताहरूलाई भोट खसालेर चुनेकाले अहिले झलमल भएको ालागाउँका ७७ वर्षीय ठूलोकान्छा थिङ बताउँछन् । ‘गाउँमा बिजुलीसँगै घट्ट पनि चल्न थालेको छ, पहिला चुनाव नभएर दु:ख पाएका रहेछौं,’ उनले भने । बिजुलीकै कारण विद्यार्थीले पनि राति अबेरसम्म पढन पाएका छन् । मोबाइल चार्ज गर्न इपा बजार झर्नु पर्दैन । ‘रेडियो र टीभीबाट नयाँनयाँ कुरा सुन्न र देख्न पाएका छौँ,’ थिङले भने ।


बिजुली नहुँदा अँध्यारो हुन नपाउँदै खाना खाएर सुत्ने र उज्यालो भएपछि मात्र उठ्ने सर्वसाधारणको दैनिकी फेरिएको हो । अहिले हेटांैडा–भीमफेदी र इपापञ्चकन्यामा दैनिक बस सेवा सञ्चालनमा छ । इपापञ्चकन्या ललितपुरको साबिकको माल्टा गाविससंँग जोडिएको छ । वाग्मतीवारि ईपा र पारि माल्टा पर्छ ।

प्रकाशित : श्रावण २५, २०७५ ०८:५६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT