कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

पीडित महिलाका लागि ओसीएमसी

प्रताप विष्ट

हेटाैंडा — विगत ७ वर्षदेखि हेटाैंडा अस्पतालमा सञ्चालित एकद्वार संकट व्यवस्थापन प्रणाली (ओसीएमसी) पीडित महिलाहरूका निम्ति साहरा बनेको छ ।

पीडित महिलाका लागि ओसीएमसी

यौनजन्य र घरेलु हिंसामा परेका महिलालाई औषधि उपचार, कानुनी कारबाही र मनोबल बढाउने कार्य ओसीएमसीले गर्दै आएको छ । १४ वर्षकी किशोरी बलात्कृत भएर गर्भवती भएकी थिइन् । उनको १२ साता नाघिसकेको अवस्था थियो । ओसीएमसीको पहलमा हेटौंडा अस्पतालका चिकित्सकले उनको अनिच्छामा भएको गर्भ फालिदिएका थिए ।

ओसीएमसीको पहलमा किशोरीलाई बलात्कार गर्ने पुरुषलाई प्रहरीमार्फत पक्राउ गराएर कानुनी कारबाही पनि गरिएको थियो । किशोरीलाई ३ दिन ओसीएमसीमै राखेर उपचारपछि पठाएको थियो । यसैगरी ११ वर्षीया बलात्कृत बालिकालाई ओसीएमसीमा नै ७ दिन राखेर उपचार गर्नुको साथै मनोपरामर्श दिइएको थियो । बसामाडीकी २८ वर्षीया महिला पति र सासूबाट निर्घातसँग कुटिएर उपचारका निम्ति अस्पताल ल्याइएको थियो ।

चिकित्सकहरूले ओसीएमसी प्रमुख बालकुमारी ढकाललाई खबर गरिदिए । उनले ओसीएमसीमा ल्याएर ती महिलाको उपचार गरिन् । महिला प्रहरी सेलमा खबर गरी निर्घात कुटपिट गर्ने पति र सासूलाई प्रहरी कार्यालयमा झिकाउने काम गरिन् ।

‘पीडित महिलाहरूका लागि ओसीएमसी भरपर्दो साहरा बनेको छ,’ प्रहरी महिला सेलकी प्रमुख दीपा कार्कीले भनिन्, ‘यौनजन्य र घरेलु हिंसामा परेकाहरूले औषधि र कानुनी उपचार पाउँदै आएका छन् ।’ हेटौंडा अस्पतालको परिसरमा सञ्चालित संकट व्यवस्थापन एकद्वार प्रणालीले सञ्चालन गरेका सेवाहरू मुलुकभरमै उत्कृष्ट भएकाले अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरू यहाँ अवलोकन गर्न आउने गरेका छन् । गत आवमा भरतपुर, सिन्धुली अस्पतालका स्वास्थ्यकर्मीको टिम अवोलकनका लागि यहाँ आएका थिए ।

२०६८ मा हेटाैंडा अस्पतालसहित मुलुकमा ५ अस्पतालमा ओसीएमसी सेवा सञ्चालन गरिएको थियो । ‘यहाँको सेवा प्रभावकारी भएकाले अन्य अस्पतालका स्वास्थ्यकर्मीहरू यहाँ अवलोकन गर्न आउने गरेका छन्,’ डा. कमल दवाडीले भने, ‘विभाग र मन्त्रालयले पनि हेटाैंडाकै ओसीएमसीलाई अवलोकनका लागि सिफारिस गर्ने गरेको छ ।’ स्थापना भएको वर्ष ६८ जनाले सेवा लिएका थिए भने आवमा ०७३/७४ मा ३ सय २१ पीडित महिलाले सेवा लिएका थिए ।

गत आवमा ४ सय ११ पीडितले ओसीएमसीबाट सेवा लिएका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार मकवानपुरमा गत आवमा घरेलु हिंसाका घटना ४ सय ६ वटा भएका थिए । लैंगिक हिंसाका ५२ घटना भएका थिए ।

‘चालू आवको १५ दिन ५ महिलाले सेवा लिइसकेका छन्,’ ओसीएमसीकी प्रमुख ढकालले भनिन्, ‘पीडित महिलाहरूले यसलाई आफ्नो सुरक्षित माइती घर ठान्ने गरेका छन् ।’ उक्त संस्थामा २ स्वास्थ्यकर्मी मात्र छन् । सरकारले ओसीएमसीलाई गत आवमा १२ लाख रुपैयाँ उपलब्ध गराएको थियो ।

प्रकाशित : श्रावण २७, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?