कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नागरिकता लिने बढे

तामाकोसीको सेयरका कारण सेवाग्राही अत्यधिक
राजेन्द्र मानन्धर

दोलखा — जिल्ला प्रशासनमा सेवाग्राही बढेसँगै अबेरसम्म नागरिकता वितरणलगायत काम गर्न थालेको छ । सेवाग्राहीको काम एकै दिन सक्ने नीति लिएको दोलखा प्रशासनले जनाएको छ । प्रशासनका कर्मचारी साँझ सात बजेसम्म कार्यालय बसेर सेवा दिँदै आएका छन् ।

नागरिकता लिने बढे

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दोलखावासीसँग सेयर लिन थालेसँगै नागरिकता लिने पनि बढेका हुन् ।


‘हरेक दिन सात बजेपछि मात्रै नागरिकता वितरण सकिन्छ,’ प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले भने, ‘दैनिक सरदर ५० जनालाई नागरिकता प्रदान गर्ने प्रशासनले यतिबेला दुई सयसम्म दिएको छ ।’ ‘आउनेहरूलाई सोही दिनमै सेवा दिइसक्ने नीति लिएकाले कर्मचारी सात, आठ बजेसम्म बसेर काम गरेको उनले बताए । साउन १५ पछि नागरिकता लिनेको संख्या बढेको हो ।


प्रशासनमा वंशजको आधारमा नागरिकता लिने र प्रतिलिपि लिनेको चाप छ । प्रशासन परिसरमा तन्नेरीदेखि वयस्कसम्म नागरिकताका लागि पालो कुरिरहेका हुन्छन् । आवेदन गरेका सेवाग्राहीलाई जसरी पनि उही दिन नागरिकता दिने नीति बनाएर काम गर्दा फुर्सद नै नपाइने कर्मचारी बताउँछन् । नागरिकतामा चाप बढेपछि अन्य फाँटका कर्मचारीलाई पनि अवस्था हेरेर नागरिकता फाँटमै खटाइने गरिएको छ । प्रजिअ पाठकले भने, ‘गाउँगाउँबाट आएका सेवाग्राहीलाई छिटोछरितो सेवा अनुभूति होस् भनेर अबेरसम्म कार्यालय चलाएका छौं ।’
नागरिकतामा सही गर्ने प्रजिअ र सहायक प्रजिअ पनि कार्यालय बन्द नहुन्जेल काममै हुन्छन् । चापको आधारमा प्राय: कार्मचारी रातिसम्मै काममा व्यस्त हुन्छन् । कर्मचारीले तामाकोसीको सेयर संकलन अवधि भदौ १४ सम्म यस्तै चाप हुने मानसिकता बनाएका छन् ।


सदरमुकाम चरिकोटस्थित प्रशासन र बिगु गाउँपालिकास्थित सिंगटी इलाका प्रशासनबाट नागरिकता दिइन्छ । उत्तरी क्षेत्रका बासिन्दाका सुविधाका लागि स्थापना गरिएको उक्त कार्यालयबाट पनि नियमितभन्दा चार गुणा बढी वितरण भएको छ । उक्त कार्यालयमा दैनिक सरदर १५ जनाले नागरिकता लिन्थे । पछिल्लो समय भने ६० जनासम्मले लिएका छन् ।


जिल्ला प्रशासनमा गत वर्ष वंशजका आधारमा ६ हजार ६ सय २५ र प्रतिलिपि पाँच हजार एक सय ६१ जनाले नागरिकता लिएका थिए । वैवाहिक अंगीकृत भने १६ जनाले लिएका थिए । सिंगटी इलाका प्रशासनबाट वंशज २ हजार ८८, प्रतिलिपि २३ र वैवाहिक अंगीकृत आठ जनाले नागरिकता लिएका छन् । तामाकोसीको सेयरका कारण यस वर्ष नागरिकता लिनेको संख्या अत्यधिक भएको प्रशासनले जनाएको छ ।

प्रकाशित : श्रावण २८, २०७५ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?