पहिरोले सडक अवरुद्ध, राम्चे गाँउ जोखिममा

हरिहरसिंह राठौर

गजुरी(धादिङ) — पृथ्वीराजमार्गसँगै जोडिएको गजुरी–६ राम्चेमा निर्माणाधीन कच्ची सडकमा पहिरो खस्दा सडक राम्चे गाउँका १७ घर जोखिममा परेका छन् । 

पहिरोले सडक अवरुद्ध, राम्चे गाँउ जोखिममा

सडकमा चट्टान थुप्रिएर सवारी आवागमन बन्द भएको छ । पैदल यात्रुलाई समेत आवत–जावत गर्न कठिन बनेको छ ।


लगातारको वर्षापछि गाँउ भन्दा माथिको सडकमा पहिरो गएका कारण गाँउ उच्च जोखिममा परेपछि स्थानीय त्रसित भएका हुन् । पहिरोका कारण खसेका ठूला–ठूला चट्टानहरु सडकमा थुप्रिएर आदमघाट किरान्चोक २७ किलोमिटर सडक बन्द भएको छ भने साना–साना चटनहरु गाँउसम्मै खसेपछि स्थानीयहरु त्रसित भएका छन् । बस्ती पुरिने चिन्ताले स्थानीयले राती घरमा बस्न छाडेको बताए । स्थानीय ध्रुव अधिकारीले भने, ‘कच्ची सडक बनाएपछि यसपालीको बर्खामा सडक माथिबाट ढुङगा खस्न थाले, ३ साता अघि त ठूलो पहिरो झरेर चट्टान सडकमा थुप्रिएको छ, खस्ने क्रम नरोकिए पहिरो अब गाँउसम्मै पुग्छ ।’


पहिरो मुनीको १७ घर अति जोखिममा छन् । २० दिन अघि खसेको पहिरो सडकमै थुप्रिएर बाटो बन्द हुँदा स्थानीय र पैदल यात्रुलाई समस्या भएको छ । ‘बाटो बन्द छ, पैदल यात्रुलाई पहिरो पार गर्न समेत जोखिम छ, ढुङगाहरु झर्ने अवस्थामा रहेका छन्,’ स्थानीय विनोद भण्डारीले भने ।


बाटो बन्द हुदाँ आकस्मिक अवस्था समस्या हुने भण्डारीले बताए । ‘पहिरो खसेको यत्तिका दिन भइसक्दा समेत गाँउपालिकाले पहिरो हटाउन कुनै चासो देखाएका छैनन् ।’ उनले भने, ‘गाँउमा कोही बिरामी भए, विपत् आइलागे बाटोकै कारण थप समस्या थपिने अवस्था छ ।’


स्थानीयवासीले सुरक्षित तरिकाले पहिरो पन्छाइ गाँउलाई जोखिममुक्त बनाइदिन गुहारेका छन् । ठूला ढुंगा तल फाल्न बस्ती भएकाले पहिरो हटाउन समस्या भइरहेको गजुरी गाँउपालिका–६ का अध्यक्ष अर्जुनबहादुर भुजेलले बताए ।


‘वर्षा हुने क्रम जारी छ, डोजर मात्रै प्रयोग गरेर तत्काल पहिरो हटाउन सम्भव छैन, घाम लाग्न सुरु हुने वित्तिकै ब्रेकर लगाएर ढुङगा फुटाइ सुरक्षित तरिकाले पहिरो हटाउने योजना छ,’ भुजेलले भने ।

सवारी साधन बन्द हुदाँ उक्त क्षेत्रमा उत्पादित कृषिजन्य पदार्थहरु आदमघाट बजारसम्म ल्याउन समस्या भएको छ भने गाँउसम्म खाद्यान्न लैजान समेत समस्या भएको छ ।

प्रकाशित : श्रावण २९, २०७५ १२:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?