कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भौंतारिँदै विस्थापित

उद्धारमा स्थानीय तहले बेवास्ता गर्‍यो
अनिश तिवारी

भिरकुना (सिन्धुपाल्चोक) — कोसिनडाँडामा झरेको पहिरोले टहरोसहित पुरेपछि बाह्रबिसे नगरपालिका ४ भिरकुनाकी रञ्जिता भण्डारी घरबासविहीन भएकी छन् । पहिरो थामिएपछि पुरिएका भाँडाकँुडा खोज्दै गर्दा भेटिएकी उनले छिमेकीको सहारा लिएर बसेको बताइन् ।

भौंतारिँदै विस्थापित

‘पहिरोले सर्वस्व लग्यो,’ पीडित भण्डारीले भनिन्, ‘यति ठूलो आपत् पर्दा पनि कोही सहायतामा आएनन् ।’ पहिरो खसेपछि प्रहरी, प्रशासनदेखि जनप्रतिनिधिलाई फोन गर्दा तत्कालै आउने आश्वासन दिएका थिए । पीडितको उद्धारमा प्रहरीसमेत नआएको उनले सुनाइन् । ‘नगर प्रमुखज्यूले त फोन नै उठाउनुभएन, प्रजिअले व्यस्त रहेको बताउनुभयो, प्रहरीले आउन नसक्ने सूचना दिए,’ उनी भन्छिन्, ‘आपत्विपत्मा एक्लै परिने रहेछ ।’ बिहान खबर गरे पनि दिउँसो अबेर मात्रै वडा सदस्यलगायत केही जनप्रतिनिधि पहिरोको अवस्था हेर्न आएका थिए ।


यहाँको अवस्था हेरी सुरक्षाको जिम्मा लिनुपर्नेमा जनप्रतिनिधिले चासो नदिँदा विस्थापित परिवार भौंतारिरहेका छन् । बाह्रबिसे नगरपालिका ४ को भिरकुना र ३ को कोसिनडाँडामा पहिरो लाग्दा ११ परिवारको बास उठेको छ ।


बिहानदेखि झर्न थालेको माथिल्लो भूभाग पूरा बग्दा भिरकुना र कोसिनडाँडाका भूकम्पपीडितको भागभाग भएको थियो । ‘कोसिनडाँडाबाट खस्न थालेको पहिरोले तल्लो बस्ती भिरकुनादेखि तलका सबै धरापमा पारेको स्थानीय हीरा खड्काले बताए । सधैंजसो परेको पानीले खसेको पहिरोसँगै बस्ती बग्न थालेको उनले सुनाए ।


मेलम्ची नगरपालिका ज्यामिरे खड्का थोकका प्रेमबहादुर बस्नेत नवर्निर्मित घरमा बस्न नपाउँदै पहिरोले पुरेपछि कहाँ जाने भन्ने अन्योलमा छन् । ‘पहिरोले लखेट्छ नै जस्तो छ,’ उनले भने, ‘अब कहाँ जाने थाहा छैन् ।’ मेलम्चीको खड्काथोक टोल नै जोखिममा परेको उनले प्रस्ट्याए । ‘बर्खा लागेसँगै यहाँको बस्ती जोखिम छ,’ उनी भन्छन्, ‘तीन वर्षमा बल्लतल्ल उभ्याएको टहरासमेत पहिरोले पुर्‍यो ।’


मध्यबर्खाको अविरल वर्षाले जताततै झरेको भीषण पहिरोका कारण जिल्लाभर २ दर्जनभन्दा बढी परिवार आवासविहीन बनेका छन् । पूर्व तातोपानीको गाउँबजार क्षेत्रदेखि पश्चिम हेलम्बुसम्मका सयौं बस्तीमा पहिरोको त्रास छ । सीमावर्ती तातोपानी, बाह्रबिसे नपास्थित गातीको सिगार्चे, घुम्थाङ, त्रिपुरासुन्दरी गाउँपालिकाको कर्थली, पिस्कर हुँदै मेलम्ची, चौतारा साँगाचोकगढी नगरपालिकासम्मका विस्थापित बिचल्लीमा छन् ।


पहिरोग्रस्थ स्थानमा भौगोलिक अवस्था हेरेर सुझाव दिनुपर्ने स्थानीयको माग छ । जिल्लाभर बर्खाको मौसमका कारण जताततै विपत्ति निम्त्याएको जिल्ला प्रहरीले जनाएको छ । ‘विस्थापितको संख्या यकिन भन्न नसकिए पनि दिनहुँ झर्ने पहिरोले धेरैको घरबार उठाइरहेको छ,’ जिल्ला प्रहरी प्रमुख मुकुन्द मरासिनीले भने । जिल्लाभर पहिरोले क्षति पुगेका स्थानमा प्रहरी खटाइएको उनले बताए ।


सुरक्षाको हिसाबमा प्रहरी सधैं खटिरहेको छ । अरु जिम्मा भने स्थानीय सरकारको भएको उनी बताउँछन् । बर्खाको सुरुदेखि हालसम्म दुई दर्जन स्थानमा पहिरो जाँदा अधिकांश बस्ती जोखिममा छन् । विस्थापितका लागि स्थानीय सरकारले पहलकदमी नलिँदा पीडितको अवस्था झनै कष्टकर बन्दै गएको छ ।

प्रकाशित : श्रावण ३०, २०७५ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?