गुमनाम थानाभन्ज्याङ गढी

ऐतिहासिक क्षेत्र संरक्षणको पर्खाइमा रहेको छ
अनिश तिवारी

ठूलोभन्ज्याङ (सिन्धुपाल्चोक) — मेलम्ची नगरपालिकाअन्र्तगत थकनीको ठूलोभन्ज्याङ जंगलमा रहेको प्राचीन थानभन्ज्याङ गढी गुमनाम छ । भूकम्पले ध्वस्त भग्नावेश बनिसकेको शाहकालीन गढी संरक्षण अभावमा जीर्ण भएको हो ।

गुमनाम थानाभन्ज्याङ गढी

वरिपरिको शेराङ भूमिका रुपमा मानिने थानभन्ज्याङगढी गोरखाका तत्कालीन राजा पृथ्वीनारायण शाहले विसं १८०० ताका नुवाकोटसँग युद्ध गर्ने क्रममा निर्माण गरेका हुन् । नुवाकोटसँग हारपछि निराश पृथ्वीनारायणले यही बाटो भएर आउँदा थानभन्ज्याङमा गढ बनाई आफ्नो पल्टन राखेका थिए । यहीको शेराङ देवताको प्रतापले गोरखाली फौजले विस १८०१ असोज १५ गते किसानको भेषमा आक्रमण गरेर विजय प्राप्त गरेको जनश्रुति छ ।


नेपालको ऐतिहासिक १० गढीमध्येको ऐतिहासिक धरोहर थानाभन्ज्याङ झण्डै दुई सय ७५ वर्ष पुरानो हो । आन्तरिक पर्यटकसमेत आउने यस गढी पुनर्निर्माण गर्दै संरक्षणमा लाग्नुपर्ने स्थानीयको माग छ । सरकार र पुरातत्त्व विभागले समयमा चासो नदिँदा अस्तित्व नै नरहने अवस्थामा पुगिसकेको ठूलोभन्ज्याङका फुर्वा तामाङले बताए । बेवास्ताका कारण ०७४ को बर्खायाम सुरु भएलगत्तै यहाँको पुरातात्त्विक ढुंगाको कलात्मक शिलालेख हराएको थियो । ‘गढीको तल्लोपट्टी कोसेढुंगमा संस्कृतमा केही लेखिएको शिला थियो, त्यो अघिल्लो बर्खाको समयमा चोरी भयो,’ उनले भने । राजाको पालामा थालनी गरिएको शेराङ भूमिको अझै पूजा चलिरहेको उनले प्रस्टयाए ।


थानाभन्ज्याङगढीका लागि वडाबाट एक लाख बजेट छुट्टयाएर संरक्षण अभियानमा रहेको थकनीका वडासदस्य कृष्णकुमार तामाङ समीरले बताए । ‘राष्ट्रपिता पृथ्वीनारायणले बनाएको पुरानो गढी सबैको चासो हो । तर, जर्गेनामा ध्यान नदिइएकाले अस्तित्व नै हराउने अवस्थामा पुगेको छ,’ उनले भने ।


थकनीको ठूलोभन्ज्याङ गाउँको माथिल्लो जंगलमा रहेको गढीबाट सुन्दर हिमशृंखला र गाउँबस्ती नियाल्न सकिनेछ । ‘सिन्धुलीगढीजस्तै थानाभन्ज्याङलाई थकनी गढीका रूपमा विकास गर्ने योजना छ,’ उनले भने, ‘यहाँको पर्यटकीय क्षेत्रलाई प्रवद्र्धन गरेर होमस्टे, होटल व्यवसाय सञ्चालन गर्न सकिने खाका कोरेका छौं ।’


थकनीका वडाध्यक्ष दमै तामाङ महत्त्वपूर्ण स्थललाई संरक्षण गर्न स्थानीय रूपमा लागिरहेको सुनाउँछन् । ‘अब तत्कालै यसको विकासका लागि पहल गर्नेछौं,’ उनले भने । स्थानीय सरकारको पहलकदमी लिएर गढीसम्म पुग्ने पदमार्ग बनाए पर्यटकीय आकर्षण पनि बढ्ने उनको भनाइ छ ।

प्रकाशित : श्रावण ३०, २०७५ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?