१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

एक वर्षमा २६ गैंडा मरे

मृत्युको कारण बाढी, कालगती र जुधाइ
वन्यजन्तु आक्रमणबाट १० को मृत्यु
१ करोड ६१ लाख क्षतिपूर्ति वितरण
प्रताप विष्ट

हेटौंडा — गत आवमा २६ गैंडा बाढी, कालगती र आपसमा जुधेर मरेका छन् । बाढीमा बगेर भारत पुगेका ९ गैंडालाई भने निकुञ्ज सुरक्षाकर्मीले सकुशल उद्धार गरी ल्याएको छ । तर बाढीकै कारण चारवटा मारिए ।

एक वर्षमा २६ गैंडा मरे

यस्तै १२ गैंडा कालगतिले मरेका छन् । १० वटा भने आपसमा जुधेर मरेको मध्यमाञ्चल क्षेत्रीय वन निर्देशक शिव वाग्लेले बताए । ‘गत आवमा चोरीसिकारीबाट एउटै मरेका छैनन्,’ वाग्लेले भने, ‘केहीचाहिँ बूढो भएका कारणले रोग लागेर मरे ।’ गत वर्ष पनि २५ गैंडा मरेका थिए । तीमध्ये चोर सिकारीबाट एउटा मारिएको थियो । २४ गैंडाचाहिँ प्राकृतिक कारणले मरेका हुन् ।


आव ०७३/७४ मा भन्दा एउटा गैंडा मात्र यस आवमा मरेको छ । देशका विभिन्न निकुञ्जमा अहिले ६ सय ४५ गैंडा रहेका छन् । त्यसमध्ये ६ सय ५ चितवन निकुञ्जमा छन् । ४० वटा बर्दिया, शुक्लाफाँट र पर्सा राष्ट्रिय निकुञ्जमा रहेको वाग्लेले बताए ।


‘चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत बेलहट्टा सामुदायिक वनभित्र अघिल्लो वर्ष गोली हानेर वयस्क भाले गैंडा मारिएको थियो,’ निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले भने, ‘यस वर्ष भने चोरीसिकारबाट एउटै नोक्सान भएको छैन ।’ कोसी टप्पुबाट चितवन ल्याएका १५ मध्ये ६ वटा अर्ना पनि मरेका छन् । एउटा बाघको आक्रमणमा मरेको हो भने अरुको मृत्यु कालगती भएको अर्यालले जानकारी दिए ।


यस्तै कोसी टप्पुबाटै ल्याइएका ७ बाह्रसिंगेमध्ये एउटा बाढीमा बगेर मरेको छ । बाँकी ६ वटा एक वर्षदेखि हराएका छन् । सूचना अधिकारी अर्यालका अनुसार ती निकुञ्जभित्रै भएको वा वन्यजन्तुको सिकार भए थाहा हुन सकेको छैन ।’


गत आवमा मध्यमाञ्चलको १९ जिल्लामा वन्यजन्तुको आक्रमणबाट १० जनाको मृत्यु भएको छ । सबैभन्दा बढी गैंडाको आक्रमणले मृत्यु भएको हो ।


चितवनमा गैंडा आक्रमणबाट ५, बाघबाट २ जनाको मृत्यु भएको छ । हात्ती आक्रमणबाट बारामा २ जनाको मृत्यु भएको छ भने भक्तपुरमा चितुवाले आक्रमण गर्दा एक जनाले ज्यान गुमाएको क्षेत्रीय वन निर्देशनालयले जनाएको छ । यस्तै ४० जना घाइते भएका थिए । वन्यजन्तुका कारण १४ घरगोठमा क्षति पुगेको छ । ३४ परिवारको भण्डारण गरिएका अन्नमा वन्यजन्तुले क्षति गरेको थियो ।


वन्यजन्तु आक्रमणबाट पीडितका परिवारलाई राहत स्वरूप क्षेत्रीय वन निर्देशनालयले प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको छ । यसबाट १ करोड रुपैयाँ वितरण भएको हो । घाइते भएकालाई उपचार खर्च ३१ लाख १७ हजार ५ सय रुपैयाँ उपलब्ध गराएको थियो ।

प्रकाशित : श्रावण ३०, २०७५ १२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?