१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

अख्तियारमा जनप्रतिनिधिविरुद्ध उजुरी बढ्दै

कान्तिपुर संवाददाता

हेटाैंडा — अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौंडामा स्थानीय तहका जनप्रतिनिधिविरुद्ध बढी उजुरी पर्न थालेको छ ।

अख्तियारमा जनप्रतिनिधिविरुद्ध उजुरी बढ्दै

गत आवमा अख्तियार कार्यालयमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतका जनप्रतिनिधिविरुद्ध २ सय १७ उजुरी परेका थिए । तीमध्ये स्थानीय तहका वडाध्यक्ष, प्रमुख र उपप्रमुखमाथिको सिकायत छ ।

‘विकास निर्माणमा कमिसन लिएको, गलत सिफारिस गरेको, मिलोमतोमा उपभोक्ता समिति गठन, गुणस्तरहीन कामलगायत आरोप लगाइएको आयोग प्रमुख हुमकला पाण्डेले बताइन् । ‘उजुरीको प्रारम्भिक छानबिन गरिरहेका छौं,’ उनले भनिन्, ‘यसमा गलत देखियो भने विस्तृत छानबिन गर्ने छौं ।’ १३ जिल्ला कार्यक्षेत्र रहेको हेटौंडा कार्यालयमा आव ०७४/७५ मा ४१८ उजुरी दर्ता भएका थिए ।

गत वर्ष फर्स्याैट हुन बाँकी २ सय ६१ उजुरीसहित ६ सय ७९ परेको थियो । त्यसमध्ये ४ सय फर्स्याैट भएको र २७९ को प्रारम्भिक छानबिन हुन बाँकी रहेको आयोग उपसचिव देवकुमार राईले बताए । गत आवमा २२ उजुरीको विशेष अध्ययन अनुसन्धान गरेर मुद्दासमेत चलाएको उनले जानकारी दिए ।

आयोगमा परेका उजुरीको प्रारम्भिक अध्ययन गरेपछि आवश्यक अनुसन्धान गर्ने गरेका छन् । खासै अध्ययन अनुसन्धान गर्नु नपर्ने देखिए फस्र्यौट गर्ने गरेका छन् । २२ उजुरीको विस्तृत अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाएको पाण्डे बताइन् । आयोगमा गत आवमा सबैभन्दा बढी उजुरी २ सय ३ बाराको थियो । यस्तै १ सय ९७ रौतहटको र १ सय ३७ पर्सा जिल्लाको उजुरी परेका छन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?