कमलाले बनायो सुकुम्बासी

‘कमलाको पीडा सहेर बस्न बाध्य कृषक यस क्षेत्रमा सयौं छन्’
राजकुमार कार्की

सिन्धुली — दुधौली नगरपालिका रामप्रसाद दनुवारलाई कमलाखोंचका फाँटमा धानको हरियालीे देख्दा इष्र्या लागेर आउँछ । कुनै दिन आफ्नो खेतमा यसैगरी धान झुल्दा उनी दंग पर्थे ।

कमलाले बनायो सुकुम्बासी

कमलाखोंच क्षेत्रमा नदीको बाढीले बर्सेनि ऊर्वरभूमि कटान गरेपछि सयौं भूमिपति सुकुम्बासी बनेका छन् । बाँकी खेत पनि नदी कटानको चपेटामा छ ।

पहिलाका भूमिपति रामप्रसाद अहिले जोगिएका फाँटमा मजदुरी गरेर जीवन निर्वाह गर्दै आएका छन् । उनको दुई बिघा खेतमा वर्षामा पानी बग्छ । कमलाको कटानबाट हत्पते, निपाने, हर्षाही, टाँडी, सिर्थौली र कमलामाई नगरपालिका १० देखि १८ वडासम्मका कृषक प्रभावित हुँदै आएको स्थानीय बताउँछन् । यस वर्ष पनि १० बिघाभन्दा बढी धान खेत बगर बनेको दुधौलीका दीपेन्द्र बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार नदी कटानको समस्या बढदो रूपमा देखापरेको दुई दशकभन्दा बढी भए पनि नियन्त्रण प्रयास नभएको कृषकहरू बताउँछन् । नियन्त्रणमा प्रभावकारी काम नभएकै कारण भूमिपति कृषक सुकुम्बासी हुने क्रम बढिरहेको छ । तत्कालीन भूमिपति रामप्रसादको खेत ०५० मा कमला नदीमा आएको बाढीले बगाएको थियो । खेत बगेसँगै १२ जनाको परिवार मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन् ।

जीवन निर्वाहका लागि अब मजदुरी गर्नुको विकल्प छैन, उनले भने, ‘गरिबी निवारण कार्यक्रमबाट १४ हजार ४ सय रुपैयाँ ऋण लिएर गोरु किनेर टायर गाढा चलाउन थालेको छु ।’ यसबाट धेरथोर गुजारा चलाउन सकेको उनले सुनाए । कमला नदीले गाउँका झन्डै दुई सय परिवारको चार सय बिघा खेत बगर बनाएको छ । उनीहरूको सबैको अवस्था एउटै रहेको रामप्रसादले सुनाए ।

हत्पतेका कृषक चोक्ता दनुवारको पीडा पनि कम छैन । उनी नवसुकुम्बासी हुन् । गत वर्ष कमला नदीमा आएको बाढीले १० कट्ठा खेत बगाएपछि अब दैनिक मजदुरी नगरे चुलो नबल्ने उनले पीडा सुनाए । खेतको आम्दानीले परिवारको गुजारा गर्दै आएका उनी अहिले बगर बनेको खेत हेरेर भक्कानिन्छन् ।‘कमलाको पीडा सहेर बस्न बाध्य कृषक यस क्षेत्रमा सयौं छन्,’ दनुवारले भने, ‘नदी नियन्त्रण नहुँदा बर्सेनि सुकुम्बासी बन्दै गएका छौं ।’ सात जनाको परिवार भए पनि एक वर्षअघिसम्म खान, लाउन कुनै दु:ख नभएको उनले बताए । अहिले अरूको खेतमा ज्याला मजदुरी नगरी उनको अर्को विकल्प छैन ।

हर्षाहीका दुर्गाबहादुर घिसिङ यसै वर्ष सुकुम्बासी भए । उनको सात कट्ठा खेत कमला नदीको बाढीले सिरिखुरी बनाएको छ । उनी भन्छन्, ‘कमलाको कटानले हर्षाही र टाँडीका कृषकको अवस्था दर्दनाक बनायो ।’ उनका अनुसार नदी कटानबाट मात्रै हजारौं बिघा ऊर्वरभूमि बगर बनाएको छ ।

यो क्रम बर्सेनि बढ्दै गएको उनले सुनाए । हालसम्म यस क्षेत्रमा नदीले पुर्‍याएको क्षतिको विवरण कुनै निकायले संकलन नगरेकाले निश्चित क्षेत्रफल एकिन छैन । तर नदीको विनाश बर्सेनि बढिरहँदा सयौं भूमिपति कृषक भूमिहीन भएका छन् ।

नदी नियन्त्रणमा करोडौं रुपैयाँ विनियोजन गरी ठूलै योजना बनाउनुपर्ने सिर्थौलीका प्रेम भट्टराईको सुझाव छ । अहिलेसम्म सञ्चालन भएका सानातिना योजना खासै प्रभावकारी हुन नसकेको उनले बताए ।

प्रकाशित : श्रावण ३१, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?