कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लिखु नदी दोहन

सरकारले नदीजन्य पदार्थ उत्खननमा कडाइ गरे पनि कार्यान्वयन भएको छैन
कान्तिपुर संवाददाता

रामेछाप — सरकारले नदीजन्य सामग्री उत्खननमा असारदेखि भदौ मसान्तसम्म रोक लगाएको छ । रामेछापको लिखु नदीमा भने निर्बाध रूपमा बालुवा र रोडा झिकिरहेका छन् ।

लिखु नदी दोहन

लिखु ३ आयोजना र सर्वसाधारणले लिखु नदी दोहन गरिरहँदा सम्बन्धित निकाय मौन छ । लिखुबाट मेसिन लगाएर दिनहुँ दजनौं गाडी रोडा र बालुवा निकालिन्छ । फेदीमै बालुवा र रोडाको ठूलो थुप्रो छ ।

लिखु तामाकोसी गाउँपालिका क्षेत्रमा पर्ने सैपुको फेदीमा बालुवा र रोडा उत्खनन भएकोबारे वडा कार्यालयमा छलफल भएर उत्खनन तत्काल रोक्न आग्रह गरे पनि अटेर गरेको वडाध्यक्ष पदमबहादुर तामाङले बताए । ‘हामीले वडा भेला नै गरेर लिखु नदी दोहन रोक्न आग्रह गरेका छौं,’ उनले भने ‘तर मानिएको छैन, झिकेको झिक्यै छन् ।’

वडाध्यक्षका अनुसार नदीजन्य सामग्री प्रयोग गर्नेसम्बन्धी कुनै पनि निकायले लिखु ३ आयोजना र अन्य कसैलाई पत्र दिएको छैन । जलविद्युत् आयोजनाले निर्माण गर्दा निस्केको डस्टलगायत विसर्जनबारे उल्लेख भए पनि नदीजन्य सामग्री उत्खनन कतै उल्लेख नभएको उनले बताए ।

सरकारले उत्खनन नै रोक लगाएको अवस्थामा सर्वसाधारणदेखि आयोजनासम्म एकै कानुन लाग्ने भएकाले यो अवैध हो भन्ने बुझाइ स्थानीयको छ । वडाध्यक्ष तामाङले यसबारे जिल्ला प्रहरीलाई खबर गरेको तर चासो नदिएको बताए ।

सीमावर्ती ओखलढुंगा जिल्लामा पर्ने क्षेत्रमा भने बालुवा उत्खनन पूर्ण निषेध छ । स्थानीय तह र प्रशासनले ओखलढुंगा क्षेत्रमा नदीजन्य सामग्री झिक्नै दिएका छैनन् । लिखु तामाकोसी गाउँपालिकाकी उपप्रमुख दीपशिखा दाहालले सरकारले रोक्का गरेको अवधिमा नदीको दोहन भइरहेको विषयले आफैंलाई अन्योलमा पारेको बताइन् । नदी उत्खननमा सरकारका कुनै तहको स्वीकृत नभएको र त्यसको राजस्वसमेत कुनै तहले नउठाएकाले यसलाई गम्भीर रूपमा लिनुपर्ने उनले बताइन् ।

श्वेतगंगा हाइड्रोपावर लिमिटेडले २८.१ मेघावाटको लिखु ३ को काम गर्न लागेको छ । फेदीमा बालुवा र रोडा जम्मा गर्ने कामबाहेक आयोजनाले अरू केही काम गरेको छैन । राज्यले रोक लगाएका बेला नदी दोहनबारे बुझ्ने प्रयास गर्दा आयोजना अधिकारीसित सम्पर्क हुन सकेन ।

खिम्तीमा पनि खुलमखुल्ला दोहन भइरहेको छ । केही ओरालो भएर बग्ने खिम्तीमा वर्षामा पानीसँगै आउने बालुवा छेकेर संकलन नगरे हिउँदमा नपाइने भएकाले सर्वसाधारण ठुल्ठूला डोबिल्का बनाउँदै बालुवा निकालिरहेका छन् । यसमा पनि स्थानीय प्रशासन, प्रहरी र जनप्रतिनिधि देखेको नदेखेझै गरिरहेका छन् ।

प्रकाशित : श्रावण ३१, २०७५ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?