कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ३ को आवधिक योजना सुरु

कान्तिपुर संवाददाता

हेटौंडा — प्रदेश ३ नीति तथा योजना आयोगले ५ वर्षे आवधिक योजना तर्जुमा सुरु गरेको छ । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पीताम्बर शर्माको संयोजकत्वमा विज्ञ पूर्वसचिव पूर्णचन्द्र भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ज्ञवाली, वातावरणविज्ञ दिनेश भुजू र अर्थविज्ञ कमल बाँस्कोटा सदस्य रहेको समूह गठन गरिएको छ ।

प्रदेश ३ को आवधिक योजना सुरु

यसबीचमा सरकारका सबै मन्त्रीको सहभागितामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा परामर्श बैठक गरिएको छ ।

बैठकमा शर्माले आवधिक योजना तर्जुमाका सीमा, संघीयतामा योजनाको महत्त्व र औचित्य, प्रदेश योजनाको सन्दर्भ र औचित्व, योजना तर्जुमाका चरण, आधारपत्र तयारी र यसमा समावेश हुने दीर्घकालीन सोच, आवधिक योजनाको लक्ष्य, उद्देश्य, रणनीति लगायतमा प्रस्तुति
गरेका थिए ।

समूहका अर्का विज्ञ भट्टराईले प्रदेशअन्तर्गतका सामाजिक क्षेत्रका अवसर तथा सम्भावना, चुनौती र समस्या तथा सबल पक्षबारे चर्चा गरेका थिए । विज्ञ सदस्य ज्ञवालीले पूर्वाधार विकासको हालको अवस्था, सम्भावना तथा चुनौती र योजनामा समेटिनुपर्ने विषयबारे चर्चा गरे ।

अर्का विज्ञ सदस्य भुजूले विकासमा वातारणीय पक्षको महत्त्व, दिगो विकासका अवधारणा, जलवायु परिवर्तन, जैविक विविधता संरक्षणजस्ता विषयमा आफ्नो प्रस्तुति गरेका थिए । विज्ञ सदस्य बाँस्कोटाले योजनाको आर्थिक पक्षबारे चर्चा गरे ।आयोगले प्रदेशसभाका सभामुख, उपसभामुख, विभिन्न समितिका सभापति र सदस्यहरूसँग पनि परामर्श लिएको छ ।

सांसदहरूले योजना तर्जुमा प्रक्रियामा सरोकारवालाको अधिक सहभागिता गराउनुपर्ने, प्रदेशको क्षेत्रगत विविधताको प्रतिनिधित्व, सरकारी, सहकारी र निजी क्षेत्रको भूमिका सुनिश्चित गर्न तीनखम्बे अर्थनीति अपनाउनुपर्ने, विकासले वातावरणीय पक्षलाई बेवास्ता गर्न नहुनेलगायत विषयमा जोड दिएका थिए ।

आयोगले सबै मन्त्रालयमा योजनाको अवधारणा निर्माणका सम्बन्धमा जानकारी गराउँदै मन्त्रालयगत रूपमा अवधारणापत्र तयारी सम्बन्धमा प्रशिक्षणसमेत दिएको उपाध्यक्ष खिमलाल देवकोटाले जानकारी दिए ।

प्रकाशित : श्रावण ३१, २०७५ ०८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?