पहिरोले  पासाङ ल्हामु मार्ग अवरुद्ध

कृष्ण थापा

नुवाकोट — राजधानी आवतजावत गर्ने पासाङ ल्हामुको भैसे र देवीघाटमा पहिरो झरेपछि सडक अवरोध भएको छ । शुक्रबार राति परेको वर्षाले देवीघाटमाथिबाट पहिरो झरेपछि गल्छी–देवीघाट सडक अवरुद्ध भएको छ भने विदुरनगरपालिका १० तिरतिरे अविरल वर्षाले पहिरो गएपछि पासाङ ल्हामु सडक खण्डको त्रिशूली–बेत्रावती सडक खण्ड बान्द्रे र तिरतिरेमा बाटो अवरुद्ध भएको छ ।

पहिरोले  पासाङ ल्हामु मार्ग अवरुद्ध

शुक्रबार राति परेको अबिरल वर्षाको कारण पहिरो गई बाटो अवरोध हुदा सयौ सवारी अलपत्र परेका छन् । पहिरो खुलाउने कार्य भइरहेको गल्छी– मैलुङ सडक आयोजनाले जनाएको छ ।


रसुवागढी नाकाबाट सामान बोकेर आएका कन्टेनर र यात्रु बोकेका स्थानीयवासी राजधानी काठमाडौ जान पाएका छैनन् । रसुवागढी नाका जाने यो मात्र सडक हो । अनेत्रबाट बाटो छैन । अवरुद्ध सडकमा पहिरो हटाई सञ्चालन ल्याउन प्रहरी लागि परेको जिल्ला प्रहरी प्रमुख एसपी वसन्तबहादुर कुँवरले बताए । त्यसैगरी गल्छी–देवीघाट सडक खण्डको देवीघाटमा सडकमाथिबाट झरेको पहिरो पन्छाउने कार्य भइरहेको छ ।


रसुवा र नुवाकोट हुँदै काठमाडौ जाने दैनिक ३ हजार भन्दा बढी सवारी आवतजावत हुने गरेको छ । गल्छी–मैलुङ सडक निर्माणको क्रममा ठाउ–ठाउमा भीर र माटो काटेर समयमा वाल नलगाउँदा समस्या पहिरोको जोखिम बढेको भैसेका स्थानीय दिपेन्द्र रिजालले बताए । पहिरो आएपछि स्थानीयवासी र सवारी आवतजावत गर्न कठिनाई भएको उनले बताए । त्यसैगरी बालाजु–त्रिशूली सडक खण्डको बेलकोटमा सडक अवरोध छ ।

प्रकाशित : भाद्र २, २०७५ १४:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?