कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

हजार स्क्वायर फिटसम्म घरको नक्सा नि:शुल्क

हेटौंडा — हेटौंडा उपमहानगरपालिकाले नगरवासीलाई घर निर्माणको नक्सा नि:शुल्क बनाइदिने भएको छ । आइतबारको कार्यपालिका बैठकले एक हजार वर्गफिटसम्मका घरको नक्सा उपमनगरपालिकाका प्राविधिकले नि:शुल्क गरिदिने निर्णय गरेको हो ।

हजार स्क्वायर फिटसम्म घरको नक्सा नि:शुल्क

स्थानीय तहले कर वृद्धि गरेको गुनासो आइरहेको बेला हेटौंडा उपमहानगरले भने नगरवासीलाई राहत दिएको छ । नगरवासीलाई सहयोग पुर्‍याउने उद्देश्यले नक्सा नि:शुल्क गरिदिने निर्णय भएको प्रमुख हरिबहादुर महतले बताए ।

विशेषगरी उपमहानगरमा थपिएका साबिकका गाविसका वडालाई लक्षित गरेर नक्सामा सहयोग गर्न लागेको उनले जानकारी दिए । चार कोठासम्मको घर बनाउँदा बाहिर बजारमा १५ हजार रुपैयाँसम्म तिर्नुपर्छ । विभिन्न शीर्षकमा करको दायरा बढिरहेको अवस्थामा हेटौंडा नगरवासीलाई भने राहत मिलेको छ । घरको नक्सा बनाउन उपमहानगरभित्र सेवा केन्द्र स्थापना गरेर सेवा दिने जनाइएको छ । केन्द्रमा उपमहानगरपालिकाले इन्जिनियर नेतृत्वमा प्राविधिक टोली खटाउने जनाएको छ । सेवा केन्द्रमा हजार स्क्वायरफिटभन्दा ठूलो क्षेत्रफलका लागि नक्सामा छुट हुने छैन ।

यसैगरी उपमहानगरले करिब २ दर्जन शीर्षकका सिफारिस नि:शुल्क गर्ने जनाएको छ । एक वर्ष अघिदेखि यस्ता विषयमा सेवा नि:शुल्क गर्दै आएको थियो । जन्म, विवाह, मृत्यु दर्ता, बसाइँसराइ, स्वास्थ्य सिफारिस, शिक्षासम्बन्धी सिफारिस, भूकम्पसम्बन्धी सिफारिस, दैविक प्रकोपको सिफारिसजस्ता शीर्षकमा नगरले कुनै कर लिएको थिएन ।

यस्तै सम्बन्ध विच्छेद, नागरिकता सिफारिस, मृतकसँग नाता प्रमाणित, ज्येष्ठ नागरिक, दलित, जनजाति, पिछडिएका वर्ग, आदिवासी, फरक क्षमता भएका, मधेसी, एकल महिला पहिचानजस्ता सिफारिसमा नि:शुल्क गरिँदै आएको प्रमुख महतले बताए ।

यी सेवाका सिफारिस तोकिएको समय सीमाभित्र लिन आए यस आवमा पनि नि:शुल्क गरिदिने व्यवस्था गरेको उनले जानकारी दिए । यसैगरी भूकम्पपीडितको घर निर्माण नक्सापासमा ५० प्रतिशत छुट दिइनेछ ।

प्रकाशित : भाद्र ४, २०७५ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?