कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

पुल बगेपछि उत्तरी नाका ठप्प

कृष्ण थापा

गेर्खु (नुवाकोट) — रसुवा र नुवाकोट जोड्ने पासाङ ल्हामु राजमार्गको त्रिशूली–बेत्रावती खण्डको गेर्खु खोलाको पक्की पुल शनिबार रातिको बाढीले बगाउँदा आउजाउ बन्द भएको छ ।

पुल बगेपछि उत्तरी नाका ठप्प

उक्त पुल विदुर नगरपालिका १ र १० जोड्ने गेर्खु खोलामा ०३६/३७ सालमा बनेको थियो । चीन जोडिने हाल चल्तीको नाका रसुवागढी जाने पुल भत्किँदा रसुवासँग आवतजावत बन्द भएको हो । पुलको दायाँ पिलर बाढीले हानेर भाँचिएको छ । बायाँपट्टि काटेर पुलै भत्किएको छ । स्ल्याब भाँचिएको छ ।

आइतबार बिहान साढे १ बजेतिरको बाढीले पुल बगाएको स्थानीयले बताए । पुलनजिकको बालुवा धुने खानीमा बसेका १२ कामदारले बाढी पसेपछि भागेर ज्यान बचाएका थिए ।

‘मध्य रातमा गड्याङ्ङ गरेर सुतिरहेको ठाउँमा पानी पस्यो,’ एक कामदारले भने, ‘भागेर सबैले ज्यान बचायौं । एकछिन ढिलो भए भेलले त्रिशूलीमा मिसाउँथ्यो ।’ पुलबाटै सदरमुकाम विदुर ल्याइएको खानेपानीमा समेत समस्या भएको छ । विदुरबाट गेर्खुटारस्थित ओममाने पब्लिक विद्यालय जाने विद्यार्थी र शिक्षकलाई समेत कठिनाइ भएको छ ।

उक्त पुल हुँदै दैनिक साना–ठूला गरी ३ हजार सवारी आवतजवात गर्ने जिल्ला ट्राफिक प्रमुख शम्भु बहादुर अधिकारीले बताए । बस, सामान बोक्ने कन्टेनर, खाद्यान्न, निर्माण सामग्री बोक्ने सानाठूला गाडी यही पुल हुँदै वारपार गर्थे ।

‘गेर्खु खोलामा भेल आउन छाडेको छैन,’ जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले भने, ‘सवारी आउजाउ गर्ने बनाउन ३/४ दिनभन्दा बढी लाग्ला ।’ जोखिम मोलेर आवतजावत गर्न कसैलाई नदिएको उनले बताए ।

चीनसँगको उत्तरी नाकामा रसुवागढी हुँदै केरुङबाट सामान आयातनिर्यात गर्नै समस्या भएको छ । त्रिशूलीपारि हुँदै साबिक मनकामना जाने सडकसमेत अवरुद्ध छ । रसुवा–काठमाडौंका सयौं गाडी बीचबाटोमै अलपत्र छन् । स्थानीय प्रशासन, प्रहरी, गल्छी–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाका ठेकेदारले पुलको निरीक्षण गरेका थिए । विदुर १० गेर्खुटारभन्दा एक किलोमिटरमाथि गेर्खु खोलाको बाढीले ७ घरमा क्षति पुर्‍याएको छ । ‘स्थानीयलाई बस्नै समस्या भएको छ,’ वडाध्यक्ष गणेशकुमार नेपालले भने, ‘ती घर चर्केका छन् ।

बाढी आउन रोकिएको छैन ।’ जनैपूर्णिमा पर्वमा लाग्ने गोसाइँकुण्ड मेला सुरु भएको छ । तीर्थयात्री रसुवा आउने क्रम जारी छ । उक्त पुल बगाएपछि मेलाका यात्रीलाई समस्या हुने स्थानीयले बताए ।

प्रकाशित : भाद्र ४, २०७५ ०९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?