२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सामूहिक बलात्कारको आरोपमा ७ जना पक्राउ

रमेशकुमार पौडेल

चितवन — दुई जना किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चितवन प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पीडित किशोरीहरुको उमेर १५ र १७ वर्ष रहेको छ ।

सामूहिक बलात्कारको आरोपमा ७ जना पक्राउ

भरतपुर र माडीमा भएको छुट्टाछुट्टै घटनामा संलग्नहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिए ।


साउन ३० गते १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा नवलपरासी गैंडाकोट नगरपालिका–४का २१ वर्षीय युवराज सारु मगर, गैंडाकोट–२ का १९ वर्षीय सैन्थील धिमाल, चितवन भरतपुर महानगरपालिका–११ का २० वर्षीया आकाश थापा र भरतपुर–२९ का ३५ वर्षीय अर्जुन विक रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएकोछ ।


यो घटनामा संलग्न भएको आरोपमा समातिएकामध्ये एकजना १७ वर्षको किशोर पनि रहेको प्रहरीले जनाएको छ ।


पक्राउ परेका आकाश थापा म्याजिक भ्यानका चालक हुन् । १७ वर्षका किशोर सोही यात्रु भ्यानका सह–चालक भएको प्रहरीले जनाएको छ । पीडित किशोरीसँग सह–चालकको सामान्य चिनजान रहेको थियो ।


चालक थापा र सह–चालक मिलेर किशोरीलाई नारायणगढ पुलचोक पुर्‍याइ दिने भन्दै साउन ३० गते दिउँसो तीन बजे म्याजिक भेनमा चढाएका थिए । ‘तर पुलचोक पुर्‍याउनुको साटो अनेक बाहना बनाइ दिनभर डुलाएर रात परेपछि भरतपुर महानगरपालिका–११ को एउटा कारखानाको आडमा लगेर सामूहिक बलात्कार गरेको भन्ने उजुरी पीडितका तर्फबाट परेको छ’ डिएसपी शर्माले भने ।


अर्को घटना साउन ३१ गते भएको थियो । माडी नगरपालिका–३ बघौडाकी १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सोही ठाउँका २३ वर्षीय रामप्रताप महतो र २४ वर्षीय नवराज महतोलाई समाएको छ ।


पीडित किशोरी रातको समयमा घर जाँदै गरेको अवस्थामा मोटरसाइकल चढेर आएका रामप्रताप र नवराजसँग भेट भएको थियो ।


‘पैदल जानुको साटो मोटरसाइकलमा घर पुर्‍याइ दिन्छु भनेर रातको समयमा एकान्त ठाउँमा लगेर दुईजनाले जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको आधारमा उनीहरु समातिएका हुन्’ चितवन जिल्ला प्रहरी कार्यालयले निकालेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।


उनीहरु विरुद्ध थप अनुसन्धान भइरहेको डिएसपी आचार्यले जानकारी दिए ।

प्रकाशित : भाद्र ४, २०७५ १८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?