१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अक्षरको शक्ति फलामे पुल

निरक्षर गाउँका सबै बालबालिका साक्षर बन्दै छन्
प्रताप विष्ट

थाहा (मकवानपुर) — खोला वारिपारि गर्न पुल बन्ने गर्छन् । त्यति चर्चा हुँदैन पुलहरूको । तर दुर्गम गाउँमा महिलाको अगुवाइमा बनेको पुल भने चर्चामा मात्र सीमित छैन । उनकै नाममा पुल नामकरण गरिएको छ ।

अक्षरको शक्ति फलामे पुल

थाहा नगरपालिका ५ तसरकी ४८ वर्षीया चमेली वाइबाको अगुवाइमा १६ वर्षअघि तसर खोलामा फलामको पुल बनाइएको थियो । उक्त पुलमा थोरै भागमा सिमेन्ट लगाइएको थियो । उनले १४ मिटर सिमेन्ट र २८ मिटर फलाम प्रयोग गरी तसर खोलामा ४२ मिटरको पक्की पुल बनाएक हुन् ।

आफ्नै धन सम्पत्ति लगाएर पक्की पुल बनाउने सपना पहिला वाइबाले देखेकी थिएन । पुल नभएकाले गाउँका बालबालिका स्कुल जान नपाएको पीडा उनमा थियो । गाउँका बालिबालिका पढ्न पठाउन खोलामा पहिलो पटक उनले फडके हालिन् । वर्षाको बाढीले त्यो पनि बगाएर पछि उनले पक्की पुल बनाउने सोच बनाएको बताइन् ।

गाउँलेका साथै स्थानीय संघसंस्थाले उनलाई काँध थापिदिए । ०५८ मा सुरु गरेर ०५९ सालमा तसर खोलामा पक्की पुल उनले बनाइछाडिन् । अहिले त्यो पुल हुँदै बालबालिका विद्यालय तहमा मात्र होइन, क्याम्पस पढ्न जाने गर्छन् । अक्षरमा शक्ति र तागत हुन्छ भन्ने विश्वास बोकेकी वाइबा गाउँका बालबालिकालाई सक्षम र दरिलो बनाउन पढाउन अन्तरमनबाट अनुभूत गरेकीले शिक्षाको घाम गाउँमा लागेको छ । अक्षर चिनेपछि उनको मनमा पुलको बीउ रोपिएको थियो ।

यसअघि उनलाई खोलाको चिन्तै थिएन । जब उनी प्रौढ कक्षा पढन गइन् तब अक्षरको तागत उनले बुझिन् । सबैले उनलाई चमिली भन्थ्ये । उनले अक्षर चिनेर लेख्न जान्ने भएपछि थाहा पाइन् म चमिली होइन रहेछु, चमेली पो रहेछु । अक्षरको एउटा सानो घुमाइले मेरो नाम र परिचय नै फेरियो । ‘अक्षरको शक्ति कति रहेछ भन्ने मैले त्यहीँबाट थाहा पाएँ,’ उनले भनिन्, ‘अक्षर सबैलाई पढाउन सके कतिका जीवन फेरिँदो हो ?’ यसपछि नै अक्षर चिन्न बाधक तसर खोलामा पुल बनाउने सपना उनमा पलाएको स्थानीयको भनइ छ ।

खोलामा पुल बनाउने कुरा गर्दा सुरुमा धेरैले ओठ टोकेका थिए । उनकै सक्रियताले पुल बनाउने काममा गाउँलेले साथ मात्र दिएनन्, गाँस काटेर सक्दो आर्थिक सहयोग गरे । अब खोला तर्दा अकालमा ज्यान गयो भन्ने समाचार सुन्न परेको छैन । खोला बढ्यो भनेर विद्यार्थीले विद्यालय छाड्नु नपरेको उनी सुनाउँछिन् । पुलले मानिसलाई वारिपारि गराउँदो रहेछ, अक्षरले जीवन तार्दो पनि रहेछ,’ उनले भनिन्, ‘यही पुल अहिले चमेली पुलको नामले ख्याति कमाएको छ ।’

चमेली पुल भन्नासाथ धेरैले चिन्ने गरेको वडाध्यक्ष विष्णुबहादुर गुरुङले बताए । ‘यसले तसरबासीलाई धेरै सुविधा दिएको छ,’ गुरुङले भने, ‘अब सबै सधैँ पढ्न जान पाएका छन् ।’ अक्षरमा कति शक्ति र तागत हुँदो रहेछ भन्ने कुरा प्रौढ शिक्षा पढ्न गएको दिन थाहा पाएको चमेलीले बताइन् ।

यही अक्षरको शक्तिले उनलाई स्थानीय आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष पनि बनाएको छ । दुर्गम क्षेत्रमा भए पनि उक्त विद्यालय ३ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । २ सयभन्दा बढी यहीँबाट दैनिक आउजाउ गर्छन् । थाहा नगरपालिका ५ का वडा सदस्यसमेत रहेकी चमेलीलाई गाउँदेखि जिल्लास्थित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले बोलाएर सम्मान गरिसकेका छन् ।

केही वर्षअघिसम्म गाउँ हेयको पात्र रहेकी उनी सम्मान र आदरको त कुरै छोडौँ, गाउँदेखि सहरसम्म आँटिली र संघर्षशील महिलाका रूपमा चिनिन थालेकी छन् । थाहा नगरपालिकाको पनि अत्यन्त दुर्गम र पिछडिएको बस्तीकी चमेलीले गत वर्ष मात्र चित्लाङस्थित नाटयेश्वर माविबाट ९ कक्षा उत्तीर्ण हुन् ।

नियमित विद्यालय जान नसकेपछि एक वर्षअघि मात्र उनले पढाइ छाडेकी हुन् । गत वर्षसम्म वडा नागरिक मञ्च अध्यक्ष रहेकी उनी २४ वर्षअघिसम्म निरक्षर थिइन् । प्रौढ शिक्षाबाट उनले पढ्न सुरु गरेकी हुन् ।

माइतीघर बसेर उनले ०५१ सालमा प्रौढ पढ्न थालेकी थिइन् । १३ वर्षमा विवाहबन्धनमा बाँधिएकी चमेलीको ८ महिनापछि बिछोड भयो । उनको पतिले दोस्रो विवाह गरे । त्यसपछि चमेली माइतै बसिन् । दोस्रो विवाह गर्ने उनले कल्पनासमेत गरिनन् । ‘विवाहभन्दा समाज सेवा प्यारो लागेकाले यतैतिर व्यस्त छु,’ हाँस्दै उनले भनिन् ।

अक्षर नचिन्दा माइती र छिमेकीले हेला गथ्र्ये । अहिले उनीहरू मात्र होइन, सिंगो गाउँले र जिल्ला तहबाट समेत माया पाएको उनको अनुभव छ । अक्षरकै कारण विभिन्न संस्थाबाट सम्मानसँगै विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत बनेकी छन् ।

अक्षरले आत्मविश्वास र आँट बढाउने भएकाले पढेपछि मात्र भित्री आँखा खुल्ने उनको अनुभव छ । यसले चमेलीको जीवनमा मात्र परिवर्तन आएको होइन, उनकै अगुवाइमा गाउँ परिवर्तित भएको छ । उनकै प्रेरणाले धेरै महिला साक्षर बनेका छन् । गाउँका सबै बालबालिका स्कुल जाने भएका छन् ।

अक्षरका कारणले जीवन परिवर्तन आएको चमेलीलाई सन् २०१३ मा ग्लोबल अवार्ड प्रदान गरियो । उनकै नेतृत्वमा तसरमा अहिले सहकारी संस्था सञ्चालन गरिएको छ । गाउँमा सानो पुस्तकालय पनि सुरु भएको छ । उनको जीवनमा अहिले अक्षरले अतुलनीय परिवर्तन ल्याएको छ । चमेली भन्ने गर्छिन्, ‘संसारमा देवता, नेता र राजाभन्दा बलियो अक्षर रहेछ ।’

प्रकाशित : भाद्र ५, २०७५ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?