१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

डोजरले धकेलेर गाडी तारिँदै

रसुवा–नुवाकोट खण्डको पुल बगाएर अवरुद्ध मार्ग सञ्चालन प्रयास जारी
कृष्ण थापा

गेर्खुटार (नुवाकोट) — अविरल वर्षासँगै शनिबार राति आएको बाढीले सिम्बुटार–गेर्खुटार जोड्ने पक्की पुल बगाएपछि अन्तर्राष्ट्रिय नाका ठप्प छ । बाढी गएको दुई दिनपछि रसुवा–नुवाकोट तथा अन्तर्राष्ट्रिय नाकाको यातायात सञ्चालन गराउने अस्थायी प्रयास थालिएको छ ।

डोजरले धकेलेर गाडी तारिँदै

सडकले सोमबार अपराह्न ५ बजेपछि स्काभेटर लगाएर नदीको पानीलाई फिँजाएर यातायात साधनलाई डोजरले धकेलेर रसुवातिर पठाउन थालेको हो । पुल भत्केको १ सय मिटरमाथिबाट दायाँबायाँ अस्थायी बाटो खोलेर नदीको पानी वहाव कम गराई त्रिशूलीतर्फका सवारी धकेल्दै पठाइएको छ । ‘पानीको वहाव कम भएकाले अपराह्नबाट सवारी रसुवा पठाउन थाल्यौं,’ फिल्डमा खटिएका जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले भने, ‘राम्रो सुचारु हुन मंगबारसम्म लाग्ला ।’

सडक आयोजनाले भत्किएको पुलदेखि ५० मिटर दूरीमा अस्थायी रूपमा हयुमपाइप, सिमेन्ट र जाली भर्न थालेको छ । भोलिसम्ममा जाली भरेर सक्न पाए, गाडी गुडाउन सकिन्छ,’ एक कामदारले भने, त्यसपछि यातायात निर्बाध रूपमा सञ्चालन हुन्छ ।’ जिल्ला ट्राफिक प्रमुख शम्भुबहादुर अधिकारीले सोमबार ५ देखि ७ बजेसम्ममा १ सय सानाठूला सवारी रसुवातिर पठाइएको बताए । त्यसमा गोसाइँकुण्ड धुन्चेसम्म जाने बस, सामान बोक्ने कन्टेनर, खाद्यान्न, निर्माण सामग्री बोकेका गाढी छन् ।

‘अडकिएका गाडी स्काभेटर र जेसीबीले तानेर आवतजावत गराइरहेका छौं,’ उनले भने, ‘नदीको भेल बढ्यो भने समस्या पर्छ ।’ शनिबार पासाङल्हामु मार्गको त्रिशूली–बेत्रावती खण्डको सिम्बुटार र गेर्खुटार जोड्ने खोलाको पक्की पुल बाढीले बगाएपछि यहाँको अन्तर्राष्ट्रिय नाका ठप्प भएको थियो । उक्त स्थान विदुरनगरपालिका १ सिम्बुटार र १० को गेर्खुटारमा सदरमुकाम विदुरदेखि ४ किमि दुरीमा पर्छ ।

उक्त पुल गेर्खुखोलामाथि ०३६/३७ सालमा निर्माण गरिएको थियो । जुन हाल बन्दै गरेको नयाँ पुलको पिलरमा बाढी हालेपछि पुरानोलाई धक्का लागेर भत्किएको स्थानीयले बताए । पुल हुँदै सदरमुकाम विदुर ल्याइएको खानेपानी पाइप मर्मत हुन सकेको छैन । यही पुल हुँदै दैनिक साना–ठूला गरी ३ हजार सवारी आवतजावत गर्छन् । पुल भत्केसँगै रसुवागढी नाकामा रेडिमेट र स्याउका दर्जनौं गाडी रोकिएको प्रहरीले जनाए ।

प्रकाशित : भाद्र ५, २०७५ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?