कानुन बनाउन मुख्यमन्त्रीको निर्देशन 

प्रताप विष्ट

हेटौंडा — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सरकारलाई सहज ढंगले अघि बढाउन तत्काल कानुन निर्माण गर्नुपर्ने भन्दै मन्त्रालयहरुलाई निर्देशन दिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गरेको कार्यक्रममा मुख्यमन्त्री पौडेलले कानुनका अभावले गर्दा प्रदेश सरकारले गति लिन नसकेको बताए ।

कानुन बनाउन मुख्यमन्त्रीको निर्देशन 

सरकार गठन भएको ६ महिनामा धेरै समस्या र चुनौतीलाई पन्छाउँदै अगाडि बढिरहेको भए पनि कानुनको समस्या टड्कारो देखापरेको बताए । 'प्रदेश सरकारले उद्योग वर्ष घोषणा गरे पनि काम गर्न कानुन अभाव रहेको छ भने अर्कोतिर संघीय सरकारले औद्योगिक क्षेत्रको जिम्मा प्रदेश सरकारलाई नदिएकाले उद्योग वर्षलाई कार्यान्वयनमा ल्याउन समस्या भएको छ' मुख्यमन्त्री पौडेल भने, ‘औद्योगिक क्षेत्र प्रदेश सरकार मातहत हुनुपर्छ ।’


उद्योगहरु प्रदेश मातहात आउन नसकेकोले उद्योग वर्षले सार्थकता पाउन नसकेको उनको भनाइ थियो । स्वदेशी तथा विदेशी उद्योगहरु प्रदेशमा स्थापना गर्ने लक्ष्य राखिएको भए पनि स्वीकृति प्रदान गर्न नसक्दा नयाँ उद्योग स्थापना नभएको उनको तर्क थियो ।


कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले अहिले वन अतिक्रमण गर्नेको संख्या बढिरहेको बताए । ‘काम गर्न चाहे पनि कानुन नभएकाले समस्या ल्याउने गरेको छ’ उनले भने, ‘हामी कुद्न चाहन्छौं तर चाहेर पनि नहुने रहेछ, कानुनले रोकेको छ ।’

प्रकाशित : भाद्र ५, २०७५ १७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?