१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

खोलाखोलै सडक सञ्चालन

नुवाकोट–रसुवा तथा अन्तर्राष्ट्रिय नाका खण्डमा कलभर्ट निर्माण सुस्त
कृष्ण थापा

गेर्खुटार (नुवाकोट) — तीन दिनदेखि नुवाकोट–रसुवा पासाङल्हामु मार्ग त्रिशूली–बेत्रावती खण्डको गेर्खुटारमा खोलाबाटै यातायात सञ्चालन गरिएको छ । खोलाको पानी घटेपछि रोकिएका नुवाकोट–रसुवाका सवारी मंगलबार दिउँसोबाट आवतजावत भएका छन् ।

खोलाखोलै सडक सञ्चालन

विदुर नगरपालिकाको सिम्बुटार र गेर्खुटार जोड्ने पक्की पुल शनिबार राति बाढीले बगाएपछि यातायात अवरुद्ध भएको थियो । चीन जोड्ने नाकासमेत भएकाले अन्तर्राष्ट्रिय यातायात सम्पर्क नै टुटेको छ । मंगलबारबाट खोलाको बहाव घटेकाले खोलाबाटै सवारी चलाइएको छ । २/३ दिनमा फर्किने गरी गोसाइँकुण्ड यात्रामा निस्केका काठमाडौंका कुमार तामाङले एक दिन बढी लागेको बताए । ‘छिट्टै फर्किने गरी गोसाइँकुण्ड गयौं,’ उनी भन्छन्, ‘सडक अवरोधले चार दिन लाग्यो ।’


पुल भत्केर खोलैखोला चलाउनु पर्दा बढी सास्ती भोग्नुपरेको चालक हीरा तामाङले बताए । पासाङल्हामु मार्गको त्रिशूली खण्डको गेर्खुटार, तिरतिरे भीर, रसुवातर्फको धुन्चेपारि त्रिशूली खोला छेउ, खोप्पाङभीर, लिङलिङ, टिमुरेसम्म ५/७ घण्टा जाम हुने गरेको छ । गेर्खुटारमा अझै यातायातका साधन खोलामा फस्दा स्काभेटरको सहायताले उतारेर पठाउने गरिएको छ । भत्केको पुलदेखि ५० मिटर माथि हयुमपाइप राखेर अस्थायी कल्भर्ट बनाउन थालिए पनि काम निकै सुस्त छ । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक आयोजनाले सडक छिटो खुलाउने प्रयास नगरेको स्थानीयवासीले आरोप लगाए ।


आयोजनाले हयुमपाइप राखे ठाउँ थोरै कामदार लगाएर जाली भरेको छ । ‘हयुमपाइपमाथि जम्मा गरेको ग्रावेल हाल्नुपथ्र्यो, तर हालेनन्,’ स्थानीय भन्छन्, ‘पिच गर्नलाई भनेर धेरे ग्राबेल थुपारेर राखेको छ, र पनि छिटो सक्ने सोच आयोजनाको छैन ।’


अस्थायी रूपमा खोलिएको बाटो ठूलो पानी परे पुन: बन्द हुने स्थानीय बताउँछन् । ‘हयुमपाइप राखेर पानीका बहाव कम गरी अपराह्नबाट यातायातका साधन रसुवातर्फ पठायौं,’ जिल्ला प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले भने, ‘निर्वाध सञ्चालन हुन केही दिन लाग्ला ।’ सडक आयोजनाले भत्किएको पुलदेखि ५० मिटर दूरीमा हयुमपाइप, सिमेन्ट र जाली भर्न थालेको छ । भोलिसम्ममा जाली भर्ने काम सकिए गाडी चलाउन पनि सकिन्छ,’ एक कामदारले भने, ‘त्यसपछि यातायात वारपार गर्न सहज हुन्छ ।’


जिल्ला ट्राफिक प्रमुख शम्भुबहादुर अधिकारीका अनुसार ५ देखि ७ बजेसम्ममा सयभन्दा बढी सानाठूला गाडी रसुवातर्फ पठाइएको छ । गोसाइँकुण्डसम्म जाने बस, कन्टेनर, खाद्यान्न, निर्माण सामग्री बोकेका गाडीमात्र छन् । ‘खोलामा फसेका गाडी स्काभेटर र जेसीबीले तानेर आवतजावत गराएका छौं,’ उनले भने, ‘नदीको भेल बढ्यो भने समस्या हुन्छ ।’ यही पुल हुँदै दैनिक साना–ठूला गरी ३ हजारभन्दा बढी सवारी आवतजावत गर्छन् ।


प्रकाशित : भाद्र ६, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?