कोदारी सडकमा पहिरै–पहिरो

अनिश तिवारी

डाक्लाङ (सिन्धुपाल्चोक) — कोदारी राजमार्गको विभिन्न स्थानमा पहिरो खस्न थालेपछि सीमाबासी पैदल हिँडेर जोखिमपूर्ण यात्रा गरिरहेका छन् । बाह्रबिसे बजारबाट तातोपानी जोड्ने पुल साँधीखोल्साले बगाएपछि बस पारि जान सकेका छैनन् । यहाँ अस्थायी ट्रयाक खोलेर सञ्चालनमा ल्याइए पनि दैनिक भइरहने वर्षाका कारण साँधीखोल्साले बगाउने गरेको छ ।

अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा बाह्रबिसेबाट तातोपानी पुग्ने सवारी, बस चल्न सकेको छैन । कोदारी राजमार्गको सिरिसे, चाकुभिर डाक्लाङ, लार्चा, नौ किलो, दसकिलो, पोप्लाङ हुँदै कोदारी, लिपिङ बजार जोड्ने सडक कटानमा परेको छ ।


Yamaha

‘बर्खाले सडकपिच्छै पहिरो गएको छ, खोर्सानीबारीमा अडिएका सवारी पनि पारि जान मान्दैनन्, ‘राजधानी जान डाक्लाङको पहिरो तर्दै गरेका पासाङ शेर्पाले भने । बिरामी, वृद्धवृद्धाले झनै सास्ती भोग्नुपरेको छ, हिँड्नै मुस्किल भएको उनले बताए । बाह्रबिसे तातोपानी खण्डको २६ किलोमिटरको डाक्लाङमा मर्मत गरिएको भाग पूरै भत्किएको छ । साँधीखोल्साले पुल बगाएपछि हिँडडुलमा झनै सास्ती भएको उनले सुनाए ।


‘यहाँको सडक कोसीको कटान र पहिरोले खाइहाल्यो, सडक बन्न कति समय लाग्ने हो, सधैं यसरी कतिन्जेल हिँड्नु,’ फुल्पिङकट्टी झिर्पु हिन्दीकी सानुकान्छी तामाङले भनिन् । नौकिलोस्थित सडक झन्डै सय मिटर भासिएको छ । भोटेकोसी जलविद्युत्ले सडक पुनर्निर्माण काम गरिरहे पनि अझै सकिएको छैन । जमिन जताततै फाटेर झर्न थालेपछि पुनर्निर्माणले तीव्रता पाउन नसकेको हो । पोप्लाङ सडकको पूरा भाग लार्चा खोलाले बगाएपछि सीमा बजारसँग सम्पर्क टुटेको छ । ‘नौकिलो कटेपछि त नेटवर्क, बिजुली केही छैन, पैदलै हिँड्न पनि ज्यानको माया मार्नुपर्छ,’ उनले भनिन् ।


पोप्लाङ खण्ड खोलाले बगाएर बजारसँगको सम्पर्क पूर्णरूपमा टुटाएको छ । नौकिलोबाट चार घण्टा हिँडेपछि तातोपानी पुग्न सकसपूर्ण रहेको नयाँ बस्तीका रामचन्द्र घतानीले सुनाए । ‘लिपिङ, तातोपानी बजारअघिको मात्रै होइन, बजार छेवकै भूभाग पूरा भासिएको छ,’ उनले भने, ‘यस्तै तालले बगे बर्खाले भागभाग बनाउँछ ।’


बिरामी र स्थानीय घण्टौं पैदल हिँडेर बाह्रबिसे आउने गरेको भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेल सुनाउँछन् । ‘सीमामा पहिरो खस्ने क्रम रोकिएको छैन,’ उनले भने । सुक्खा बन्दरगाह बनाइरहेको चिनियाँ कम्पनी सीआरसीसीले यो खण्डको सडक पुनर्निर्माण गर्ने जिम्मा लिएको उनले बताए ।


‘तर बर्खाभर यो काम अघि बढ्न दिएको छैन,’ उनले भने, ‘सडक अवरोधले बन्दरगाहको कामलाई समस्या भइरहेको छ ।’ भोटेकोसी बाढीले कटान पारेको बाह्रबिसे तातोपानी खण्ड २६ किलोमिटर चिनियाँ कम्पनी सीआरसीसीले मर्मत गरेको थियो । हाल चिनियाँ कम्पनीले गरेको कालोपत्रे पहिरो लागेका दर्जनौं स्थानमा बिग्रिसकेका छन् ।


त्यहाँबाट पारि जाने तातोपानी, लिस्तीकोट लगायतका गाउँ पुग्नेहरू घण्टौं हिँड्नुपर्ने मारमा परेका छन् । सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी कृष्णगोपाल तामाङका अनुसार सीमागाउँ तग्रिन सकेको छैन । सीमा जोड्ने तातोपानी बजार नै जोखिममा परेपछि तातोपानी क्षेत्र खण्डहर बन्दै गएको छ । ‘दैनिक यात्रामा ज्यान जोखिममा राखेर जानुपर्छ, कहाँ कुन दिन सडक भासिन्छ थाहा छैन,’ उनले भने, ‘उद्धारका लागि सशस्त्र टोली बाटो बाटोमा खटाइरहेका छौं ।’


Esewa Pasal

प्रकाशित : भाद्र ६, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

प्रहरी हवल्दारको नक्कली प्रेम–पासो

युवतीको मृत्यु रहस्यमय
जनकराज सापकाेटा

काठमाडौँ — साउनको कुरा हो । मीनबहादुर पुडासैनीले अचानक खबर पाए, बैनी चमेली घले बिरामी भएर अस्पतालमा भर्ना भएकी छन् । अनामनगरमा रहेका मीन हतारिँदै वसुन्धरामा रहेको ग्रिन सिटी अस्पतालमा पुगे । बैनीको सघन उपचार कक्षामा उपचार भइरहेको रहेछ ।

अस्पतालकै कर्मचारीले विष सेवन गरेकी चमेलीलाई उनका श्रीमान्ले अस्पताल ल्याएर भर्ना गरेको सुनेपछि पुडासैनी चकित परे । किनकि रसुवा कालिका गाउँपालिका ५ घर भई असार २३ देखि रसुवाकै उत्तरगथा गाउँपालिका २ स्थित डाँडागाउँ माविमा शिक्षक पदमा कार्यरत बैनीको बिहे भएकै थिएन ।


उपचारकै क्रममा सोही दिन बैनीको मृत्यु भएपछि पो पुडासैनीले थाहा पाए, रसुवाबाट कसरी बैनी काठमाडौं आइन् । जीवनका के कस्ता घटना जेलिएर कसरी बैनीको मृत्यु भयो ? चमेलीको मृत्युको कथामा जोडिएका छन्, एक प्रहरी हवल्दार । गोरखाको विकट ताक्लुङ गाउँबाट गोर्खा सदरमुकामको टक्सार हुँदै चितवनमा बसाइँ सरेका हवल्दार राजेन्द्र तिवारीले अस्पताल भर्ना गर्दा आफू बिरामीको श्रीमान् भएको बताएका थिए । चमेलीको मृत्युका पछाडि यिनै राजेन्द्रसँग जेलिएको सम्बन्ध जिम्मेवार छ ।


४ साउन । बिहान ३:३५ । अस्पतालको कागजात हेर्दा मनमैजुस्थित डेराबाट चमेलीलाई तिवारीले महाराजगन्जको शिक्षण अस्पताल पुर्‍याएको थाहा हुन्छ । सघन उपचार कक्षमा बेड खाली नभएपछि अस्पतालले चमेलीलाई ग्रिन सिटी अस्पतालमा रेफर गरिदिएको थियो । जहाँ दाइ मीनले निस्प्राण बैनीलाई भेटेका थिए । बैनीको मृत्युपछि र उनको मोबाइलमा भएका म्यासेज र म्यासेन्जरमार्फत भएका कुराकानीको रेकर्ड सुनेपछि मीनले थाह पाए, कसरी बैनी नक्कली प्रेम–पासोमा परेकी रहिछे भनेर ।


एक वर्षभन्दा लामो समययता चमेली हवल्दार राजेन्द्रसँग प्रेमसम्बन्धमा थिइन् । राजेन्द्रले चमेलीलाई आफू अविवाहित भएको झूटो तथ्य बताएर प्रेमको नाटक गरेका थिए । प्रेमी विवाहित भएको थाहा पाएपछि चमेली सम्बन्ध टुटाएर बस्न खोजिरहेकी थिइन् । कान्तिपुरलाई प्राप्त उनीहरूबीचको संवादको रेकर्ड सुन्दा चमेली प्रेमीको झूठ थाहा पाएपछि समझदारीमा सम्बन्धलाई अन्त्य गर्ने निष्कर्षमा पुगेको देखिन्छ । राजेन्द्र भने विवाहित भए पनि दोस्रो विवाह गर्ने पक्षमा रहेका थिए।


प्रेमसम्बन्धको सबै कुरा बिर्सेर आ–आफ्नो बाटो हिँडने पक्षमा चमेली रहे पनि राजेन्द्र भने आक्रोशित बन्दै सम्बन्धमा रहँदाका तस्बिरहरू प्रयोग गरेर चमेलीलाई उपयोग गर्ने पक्षमा उभिन्छन् । कान्तिपुरलाई प्राप्त उनीहरूबीचको संवादमा चमेलीले भनेकी छन्, ‘तपाईंको घरमा छोराछोरी छन्, श्रीमती छ । मलाई किन सत्य कुरा बोल्नुभएन ।’


सम्बन्धको यही उतारचढावमा स्कुल बिदा लिएर काठमाडौं आएकी चमेली केही दिनयता परिवारका सदस्यको सम्पर्कबाहिर हुन्छिन् । बैनीको मृत्युपछि मीनले महानगरीय प्रहरी वृत्त बालाजुमा बैनीमाथि हिंसा र बलात्कारपछि हत्या भएको भन्दै निवेदन दर्ता गराए । लगत्तै बालाजु वृत्तले राजेन्द्रलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । बालाजु वृत्तका डीएसपी चिरञ्जीवी कोइरालाले तिवारीलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको बताए ।


डीएसपी चिरञ्जीवीले राजेन्द्रले विवाहेत्तर सम्बन्ध राखेको र चमेलीलाई डेरा लिएर राखेको बताए । मीनले बैनीको शरीरमा चोट रहेकाले घटना शंकास्पद रहेको बताए । प्रहरी सेवामा रहे पनि राजेन्द्रको विगत विवादास्पद देखिन्छ । जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत राजेन्द्र विगतमा केही आपराधिक घटना र महिला हिंसाको घटनामा पनि मुछिएका थिए । गोर्खाकै लार्के प्रहरीचौकी प्रोकमा जवान पदमा कार्यरत रहँदा राजेन्द्रमाथि व्यक्ति हत्याको अभियोग लागेको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार २०६५ साउन १३ मा उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको थियो ।


सिर्दिबास १ की ३९ वर्षीया पम्फाकुमारी कार्कीलाई भीरबाट धकेलेर हत्या गरेको आरोपमा मुद्दा चलेपछि २०६५ पुस ५ मा तिवारीलाई पुर्पक्षका लागि थुनामा पठाइएको थियो । ‘जागिरले प्रहरी भन्थे अनेक गतिविधि गर्थे,’ राजेन्द्रको पूर्व छिमेकीसमेत रहेको एक स्थानीय शिक्षकले भने, ‘मान्छे मारेको केशपछि पनि जागिर जोडियो,’ उनले भने, ‘गाडी किनेका थिए, घरजग्गाको कारोबार गर्थे, प्रहरीको सामान्य जागिर खाने मान्छेले लाखौंलाखको व्यवसाय गरेको देख्दा हामी पनि छक्क परेका थियौं ।’

प्रकाशित : भाद्र ६, २०७५ १०:२७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT