कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

कोदारी सडकमा पहिरै–पहिरो

अनिश तिवारी

डाक्लाङ (सिन्धुपाल्चोक) — कोदारी राजमार्गको विभिन्न स्थानमा पहिरो खस्न थालेपछि सीमाबासी पैदल हिँडेर जोखिमपूर्ण यात्रा गरिरहेका छन् । बाह्रबिसे बजारबाट तातोपानी जोड्ने पुल साँधीखोल्साले बगाएपछि बस पारि जान सकेका छैनन् । यहाँ अस्थायी ट्रयाक खोलेर सञ्चालनमा ल्याइए पनि दैनिक भइरहने वर्षाका कारण साँधीखोल्साले बगाउने गरेको छ ।

कोदारी सडकमा पहिरै–पहिरो

अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा बाह्रबिसेबाट तातोपानी पुग्ने सवारी, बस चल्न सकेको छैन । कोदारी राजमार्गको सिरिसे, चाकुभिर डाक्लाङ, लार्चा, नौ किलो, दसकिलो, पोप्लाङ हुँदै कोदारी, लिपिङ बजार जोड्ने सडक कटानमा परेको छ ।


‘बर्खाले सडकपिच्छै पहिरो गएको छ, खोर्सानीबारीमा अडिएका सवारी पनि पारि जान मान्दैनन्, ‘राजधानी जान डाक्लाङको पहिरो तर्दै गरेका पासाङ शेर्पाले भने । बिरामी, वृद्धवृद्धाले झनै सास्ती भोग्नुपरेको छ, हिँड्नै मुस्किल भएको उनले बताए । बाह्रबिसे तातोपानी खण्डको २६ किलोमिटरको डाक्लाङमा मर्मत गरिएको भाग पूरै भत्किएको छ । साँधीखोल्साले पुल बगाएपछि हिँडडुलमा झनै सास्ती भएको उनले सुनाए ।


‘यहाँको सडक कोसीको कटान र पहिरोले खाइहाल्यो, सडक बन्न कति समय लाग्ने हो, सधैं यसरी कतिन्जेल हिँड्नु,’ फुल्पिङकट्टी झिर्पु हिन्दीकी सानुकान्छी तामाङले भनिन् । नौकिलोस्थित सडक झन्डै सय मिटर भासिएको छ । भोटेकोसी जलविद्युत्ले सडक पुनर्निर्माण काम गरिरहे पनि अझै सकिएको छैन । जमिन जताततै फाटेर झर्न थालेपछि पुनर्निर्माणले तीव्रता पाउन नसकेको हो । पोप्लाङ सडकको पूरा भाग लार्चा खोलाले बगाएपछि सीमा बजारसँग सम्पर्क टुटेको छ । ‘नौकिलो कटेपछि त नेटवर्क, बिजुली केही छैन, पैदलै हिँड्न पनि ज्यानको माया मार्नुपर्छ,’ उनले भनिन् ।


पोप्लाङ खण्ड खोलाले बगाएर बजारसँगको सम्पर्क पूर्णरूपमा टुटाएको छ । नौकिलोबाट चार घण्टा हिँडेपछि तातोपानी पुग्न सकसपूर्ण रहेको नयाँ बस्तीका रामचन्द्र घतानीले सुनाए । ‘लिपिङ, तातोपानी बजारअघिको मात्रै होइन, बजार छेवकै भूभाग पूरा भासिएको छ,’ उनले भने, ‘यस्तै तालले बगे बर्खाले भागभाग बनाउँछ ।’


बिरामी र स्थानीय घण्टौं पैदल हिँडेर बाह्रबिसे आउने गरेको भोटेकोसी गाउँपालिका प्रमुख राजकुमार पौडेल सुनाउँछन् । ‘सीमामा पहिरो खस्ने क्रम रोकिएको छैन,’ उनले भने । सुक्खा बन्दरगाह बनाइरहेको चिनियाँ कम्पनी सीआरसीसीले यो खण्डको सडक पुनर्निर्माण गर्ने जिम्मा लिएको उनले बताए ।


‘तर बर्खाभर यो काम अघि बढ्न दिएको छैन,’ उनले भने, ‘सडक अवरोधले बन्दरगाहको कामलाई समस्या भइरहेको छ ।’ भोटेकोसी बाढीले कटान पारेको बाह्रबिसे तातोपानी खण्ड २६ किलोमिटर चिनियाँ कम्पनी सीआरसीसीले मर्मत गरेको थियो । हाल चिनियाँ कम्पनीले गरेको कालोपत्रे पहिरो लागेका दर्जनौं स्थानमा बिग्रिसकेका छन् ।


त्यहाँबाट पारि जाने तातोपानी, लिस्तीकोट लगायतका गाउँ पुग्नेहरू घण्टौं हिँड्नुपर्ने मारमा परेका छन् । सीमास्थित सशस्त्र प्रहरी बलका डीएसपी कृष्णगोपाल तामाङका अनुसार सीमागाउँ तग्रिन सकेको छैन । सीमा जोड्ने तातोपानी बजार नै जोखिममा परेपछि तातोपानी क्षेत्र खण्डहर बन्दै गएको छ । ‘दैनिक यात्रामा ज्यान जोखिममा राखेर जानुपर्छ, कहाँ कुन दिन सडक भासिन्छ थाहा छैन,’ उनले भने, ‘उद्धारका लागि सशस्त्र टोली बाटो बाटोमा खटाइरहेका छौं ।’


प्रकाशित : भाद्र ६, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?