कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गरिब परिचयपत्र फिर्ता

बागलुङ — काठेखोला–३ धम्जाकी हुमा बिकले गरिब परिचयपत्र फिर्ता गरेकी छन् । भारतीय सेनाका अवकास प्राप्त श्रीमानको पेन्सनले आफूलाई खान–लाउन पुगेको भन्दै फिर्ता गरेकी हुन् ।

गरिब परिचयपत्र फिर्ता

आफूले नियमित पेन्सन पाएकाले खानै नपुग्नेलाई परिचयपत्र दिनुपर्ने भन्दै उनले फिर्ता गरेको प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकले बताए । घुम्तीटोलीले वितरण गरेकै स्थानमा आएर उनले परिचयपत्र फिर्ता गरेकी थिइन । काठेखोला–८ लेखानीका एक पूर्वसैनिकले पनि परिचयपत्र फिर्ता दिएका छन् । वडा–६ बिहुँका एक किसानले पनि खेती गरेर खान पुगेको भन्दै फिर्ता दिएको गाउँपालिकाले जनाएको छ । स्वस्फूर्त फिर्ता गर्नेहरूले सूचक भर्दा त्रुटि भएको बताए ।

सातादेखि बागलुङका विभिन्न गाउँ तथा नगरपालिकामा गरिब परिचयपत्र वितरण भइरहेको छ । वितरणका क्रममा पेन्सन बुझ्ने र बहालवाला कर्मचारी समेत गरिबको सूचीमा परेपछि विरोध हुन थालेको छ । केहीले आफैंले थाहा नपाएको भन्दै फिर्ता गरेका छन् ।

‘राज्यले चाहेको बेला छानबिन गर्न सक्छ भन्ने सन्देश पाएर पनि केहीले फिर्ता गरेको पाइयो,’ अधिकृत विकले भने, ‘कतिपय पहिला दिएको सूचनाबाट आफैं लज्जित भएका छन् ।’ काठेखोलामा मात्र २ सय ५२ अति गरिब, २ सय ५२ मध्यम र २ सय २ जना सामान्य गरिब परिवारमा सूचीकृत भएका छन् ।

गाउँमा ऋण दिने, व्यवसायी, शिक्षक र पेन्सन पाइरहेकाहरू समेत यस्तो सूचीमा परेकोमा स्थानीयले आश्चर्य व्यक्त गरे । ‘कसरी यस्तो भयो, खोजी पनि गर्दै छौं,’ ताराखोलाका नरेश केसीले भने, ‘तथ्यांक संकलनकै समयमा केही गडबडी भएको हुन सक्छ ।’

कतिपयले खान पुग्दैन भनेर ढाँट्ने र सही सूचना दिएर के होला भन्ने भावना राखेको पाइएको उनले बताए । यसरी फरक तथ्यांक आएपछि ताराखोला गाउँपालिका र ढोरपाटन नगरपालिकामा पनि विरोध भइरहेको छ । ‘धेरैजसोलाई वितरण भइसकेको छ । केहीमा समस्या पनि देखियो,’ ढोरपाटनका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भने, ‘मानवीय स्वभाव र त्रुटि भएकाले सच्याएर जान सकिन्छ ।’ जिल्लामा ११ हजार २ सय १ परिवारको नाम गरिब घरपरिवारको सूचीमा छ । जिससले परिचयपत्र पाउनेलाई नि:शुल्क स्वास्थ्य बिमा गराउने निर्णय समेत गरेको थियो ।

प्रकाशित : भाद्र ८, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?