अवरुद्ध सडक खुलेन
रसुवा — एक सातादेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी जोडने धुन्चे–रसुवागढी सडक अझै सुचारु हुन सकेको छैन । पासाङल्हामु मार्गको त्रिशूली खोलानजिकै दायाँबायाँ पहिरो जाँदा उक्त सडक खण्ड एक सातादेखि अवरुद्ध भएको हो ।
अवरुद्ध सडक समयमै मर्मत नहुँदा यात्रुहरूले सास्ती बेर्होनुपरेको छ । उता गोसाइँकुण्ड गाउँपालिका २, घट्टेखोलाको पुलमा बाढीले क्षति पुर्याएपछि रसुवागढी नाका तीन सातादेखि ठप्प छ । सीमा नजिकै भोटेकोसी नदीले सडक कटान गरेको छ ।
यातायात नचल्दा जिल्लाको उत्तरी भेगका स्थानीय बासिन्दा, चिनियाँ पर्यटक र मानसरोवर जाने तीर्थयात्रीहरू मर्कामा परेका छन् । तीज, दसैं र तिहारका लागि चीनबाट आयात गरिएका सामान केरुङमा रोकिएका छन् । रसुवागढी नाका हुँदै चीनको कैलाश मानसरोवर जाने भारतीय तीर्थयात्रीहरू महँगो शुल्क तिरेर हेलिकप्टर चार्टर्ड गर्न बाध्य भएका छन । स्याउ बोकेका सयौं कन्टेनरहरू बाटैमा अलपत्र परेका छन् ।
चीनबाट आयात गरिएको स्याउ, लसुनलगायतका सामग्री कुहिन थालेका छन् । सामान कुहिन थालेपछि व्यापारीले स्याउको ढुवानी मान्छेलाई बोकाएर गर्न थालेका छन् । ‘स्याउ पनि रसुवागढी, घट्टेखोला र खोपाङ भीर गरी तीन ठाउँमा पल्टी गरेर भरियालाई बोकाउनुपर्छ,’ स्वर्णिम इम्पोर्ट एक्स्पोर्ट प्रालिका प्रोपाइटर शारदा पराजुलीले भने ।
अन्तर्राष्ट्रिय नाका जोडने सडक र पुल लामो समयसम्म पनि मर्मत नभएकोमा व्यापारीहरूले गुनासो गरेका छन् । अन्तर्राष्ट्रिय नाका जोडने सडकमा यातायात संचालन नभएको लामो समय भइसक्यो पुल मर्मतमा सरकारले वास्ता गरेन व्यापारीहरूले भने । सडक संचालन हुन केही दिन लाग्ने डिभिजन सडक कार्यालय नुवाकोटका प्रमुख निरज शाक्यले बताए ।
ब्लाष्टिङ गर्न होल खोप्ने काम सुरु भइसकेको छ उनले भने । सडक मुनी पहिरो गएकाले उक्त स्थानमा तत्काल तार जाली लगाउने अबस्था छैन् । सडकको कुनाबाट नयां ट्रयाक खोल्न पर्ने अबस्था रहेको छ । उक्त स्थानमा ठुलो पहरो भएकाले ब्लाष्टिङ गर्न पर्छ ।
प्रकाशित : भाद्र ८, २०७५ ०८:११