१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

लामोसाघुँ–जिरी सडक १० दिनभित्र सुधारिने

राजेन्द्र मानन्धर

दोलखा — दोलखालाई राजधानीसँग जोड्ने ‘लाइफलाइन’ मानिएकाे लामोसाँघु—जिरी सडकलाई १० दिनभित्र सुधार्न निर्माण कम्पनीले लिखित प्रतिबद्धता गरेका छन् ।  

लामोसाघुँ–जिरी सडक १० दिनभित्र सुधारिने

प्रदेश सरकारले दोलखाको चरिकोटमा बिहीबार आयोजना गरेको कार्यक्रममा निर्माण कम्पनीले उक्त सडकमा यातायात सहज ढंगले सञ्चालन गर्नसक्ने बनाउने प्रतिबद्धता गरेका हुन् । स्तरोन्नतीका क्रममा अधुरै छाडिएको उक्त सडक बिग्रदा दोलखाका बासिन्दा लामो वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् ।


१३३ किलोमिटरमा आउजाउ हुने मार्ग छाडेर करिब १९१ किलोमिटर यात्रा गरिरहेका छन् । निर्माण कम्पनीको लापरवाहीले सडक निर्माणमा ढिलाई भएका घटनासंग जोडेर आयोजित कार्यक्रममा संघीय सरकारका सांसद, प्रदेश सरकारका मन्त्री र सांसदहरुको उपस्थिति थियो । कार्यक्रममा निर्माण कम्पनीले १० दिनभित्र सडक सुधार्न लिखित प्रतिबद्धता गरेको र नगरे कार्वाही भोग्न तयार भएको प्रतिनिधिसभा संसद पार्वत गुरुङले बताए ।


चार दशकअघि स्वीस सरकारले निर्माण गरेको लामोसाँघु–जिरी सडक चौडा बढाउन भारतीय एक्जिम बैंकले लगानी गरिरहेको छ । उक्त सडक खण्डको खाडीचौरदेखि मुढेसम्मको २५ किलोमिटर निर्माणको जिम्मा लिएको सुनौलो खिम्ती कालोसूची र मुद्दामालामा फसेपछि सडकको अवस्था नाजुक हुँदै गएको हो । सुनौलो खिम्तीका साझेदार कम्पनीहरु भारतको सीमान्चल र नेपालको गौरीपार्वती छन् । मुढेदेखि चरिकोटसम्मको सडक निर्माणको काम सुनौलो खिम्ती, शंकर माली र भारतको सकील हैदरले लिएका छन् । दुवैतर्फका सडक खण्डको निर्माणमा विभिन्न वाहना झिक्दै ढिलाई गरिदै आएको छ ।


प्रदेश ३ का मन्त्रीहरु अरुण नेपाल, कैलाश ढुंगेल र केशव स्थापितसहित रोहबरमा १० दिनभित्र सडकको खाल्डाखुल्डी टाल्ने, हिलो व्यवस्थापन गर्ने प्रतिबद्धता जनाइएको हो । उक्त कम्पनीहरुलाई आयोजनाले कालोसूचीमा राख्ने पत्रचार गर्दा पनि अटेर गरिरहेको आयोजना प्रमुख केदार नेपालले बताए ।


कार्यक्रममा आयोजना र निर्माण कम्पनीको मिलोमतोमा निर्माण कार्य ढिलाई भएको भन्दै आक्रोश पोखिएको थियो । सडकको दुरावस्थाले बिरामीको मृत्यु भएको, हेलिकप्टरबाट धेरै खर्च गरी उद्धार गर्नु परेको सहभागीहरुले गुनासो गरेका थिए । बिग्रिएको सडकबाट ढुवानी गर्न नसक्दा माथिल्लो तामाकोसी आयोजनाको लागत बढ्दै गएको जस्ता समस्या राखिएको थियो ।


प्रदेश सांसदहरु पशुपति चौलागाई, विशाल खड्का, सरस्वति वस्नेत, हिमाली गोलेले उक्त सडक समस्याले जिल्लामा सर्वत्र घाटा र दु:ख थपिदै गएको बताए । दोलखा र सिन्धुपाल्चोकका सुरक्षा अधिकारीहरुले तत्काल सडक सुधार सुरु गर्दा शान्तसुरक्षाको प्रत्याभूति दिने प्रतिबद्धता गरे ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?