कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

८२ वर्षेद्वारा सम्बन्धविच्छेद मुद्दा

दोलखा — ८२ वर्षीय एक वृद्धले मुलुकी देवानी (संहिता) मा टेकेर ७६ वर्षीया पत्नीविरुद्ध सम्बन्धविच्छेदको निवेदन दर्ता गराएका छन् ।

८२ वर्षेद्वारा सम्बन्धविच्छेद मुद्दा

ती वृद्धवृद्धा एकदशकदेखि अलग्गिएर बस्थे । दुवै जनाका अनुसार ५ वर्षदेखि साथै बसे पनि बोलचाल थिएन । सम्बन्धविच्छेद गर्न नयाँ कानुन देवानी (संहिता) ले पुरुषलाई पनि अदालती ढोका खुलेपछि आफूले उक्त कदम उठाएको वृद्धले बताए । ‘नयाँ ऐन कुरेर बसेको थिएँ,’ दोलखा जिल्ला अदालत परिसरमा उनले भने, ‘८२ वर्षको उमेरमा आएर बल्ल इच्छा पूरा भयो ।’


यही भदौ १ गतेदेखि लागू भएको नयाँ ऐनको अधिकार प्रयोग गर्दै साताभित्र चार जना पुरुषले जिल्ला अदालतमा सम्बन्धविच्छेदको निवेदन दिएका छन् । ऐन लागू भएकै दिनदेखि पुरुषहरूले सम्बन्धविच्छेदको निवेदन दर्ता गराउन थालेको न्यायाधीश कमलराज विष्टले बताए ।


यसअघिको मुलुकी ऐनमा पुरुषले सीधै अदालतमा सम्बन्धविच्छेदको निवेदन दिने व्यवस्था थिएन । स्थानीय तहमा निवेदन गर्दै घुमाउरो प्रक्रिया पार गर्नुपर्थ्यो । तीन महिनाभित्र मेलमिलाप हुन नसके मात्रै अदालत पठाइन्थ्यो ।


न्यायाधीश विष्टका अनुसार हालसम्म सम्बन्धविच्छेद गर्न आएका सबै पुरुषले कानुन पर्खेर बसेको बताएका छन् । नेपाली समाजमा पतिपत्नीबीचको सम्बन्धविच्छेदको घटना बाहिर आउँदा परिवारका अन्य सदस्यलाई चोट पुग्छ, असजिलो ठानिन्छ । त्यसो हुँदाहुँदै गएको आर्थिक वर्षमा ७३ जना महिलाले दोलखा अदालतमा श्रीमान्‌सँग सम्बन्धविच्छेद गर्न मुद्दा दर्ता गराएका थिए ।


नयाँ ऐन लागू भएयता भदौमा मात्रै ९ वटा सम्बन्धविच्छेदका घटना दर्ता भइसकेका छन् । तीमध्ये चार जना पुरुषले ‘पत्नीपीडित’ को जिकिर गर्दै मुद्दा दर्ता गराएका हुन् ।


प्रकाशित : भाद्र ९, २०७५ १९:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?