२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

अझै ८ तुइन बाँकी

झोलुङे पुल बनेपछि गाउँले खुसी
प्रताप विष्ट

हेटौंडा — झोलुङे पुल सञ्चालनमा आएसँगै उपमहानगरपालिका र भीमफेदी गाउँपालिकाका बासिन्दा खुसी भएका छन् ।

अझै ८ तुइन बाँकी

बिहान भरी कृषिकर्म गरेर आएकी सानटारकी ५५ वर्षीया लीलामाया थोकर नवनिर्मित झोलुङ पुलबाट पारीतर्फ जाँदै भनिन्, ‘अब वारीपारी गर्न सजिलो भयो, बोकेदहमा पुल नभएर वर्षायाममा आउजाउ गर्न समस्या थियो ।’ गत वर्ष साउनमा किसेडी खोला तरेर हेटौंडा बजारतर्फ जान लाग्दा घ्याङसिटारकी महिलाको खोलाले वगाएर मृत्यु भएको थियो । पुल अभावले बर्सनि १/२ जनाको ज्यान जान्थ्यो ।

‘किसेडी खोलाको बोकेदहमा झोलुङे पुल वनेपछि खोलाले बगाएर अव यस क्षेत्रका वासिन्दाको ज्यान जादैन होला,’ स्थानीय लोकबहादुर घिसिङले भने, ‘यो झोलुङेपुल हाम्रा लागि मोटर हिँड्नेभन्दा महत्त्वपूर्ण भएको छ ।’

हेटौडा उपमहानगरपालिका १ र भीमफेदी गाउँपालिका १ को बीचमा पर्ने बोकेदहमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत रहेको ‘स्वाप’ ले जिल्ला समन्वय समितिमार्फत पुल बनाएको हो । पुलको भीमफेदी गाउँपालिका उपाध्यक्ष पार्वती रानामगरले शुक्रबार उद्घाटन गरेकी थिइन् ।

पुल राडो नेपालको प्राविधिक सहयोगमा निर्माण गरिएको हो । गाउँपालिका र उपमहानगर बीचको खोचमा निर्माण गरिएको पुलको १ किमि वरिपरि मोबाइल नेटवर्कले काम गर्दैन । पुलको उदघाटनमा सर्वसाधारणको उपस्थिति पनि उल्लेख्य थियो । पानीमा भिज्दै स्थानीय बालबालिका, महिला र वृद्धवृद्धा खुसी हुँदै एक–अर्कालाई समाउँदै पुल वारपार गरिरहेका थिए ।

पुल निर्माण गर्न भीमफेदी गाउँपालिकाले २ लाख ४० हजार, स्थानीय बासिन्दाले ८ लाखबराबर श्रमदान र स्वापले ३० लाख रुपैयाँ सहयोग गरेको निर्माण उपभोक्ता समिति सचिव रामेश्वर थिङले बताए । यो पुलबाट हेटौंडा १ का नकौली, घ्याङसिंहटार, ज्यामिरे, थरथरे र भीमफेदी गाउपालिका १, सानटारका गरी ७ सय १२ घरधुरीका बासिन्दा लाभान्वित भएका छन् । नवनिर्मित पुलको हेरालुका रूपमा सानटारकी एक महिलालाई राखिएको छ ।

मकवानपुरमा गत आवमा योसहित ४ झोलुङे र एउटा पक्की पुलको निर्माण गरिएको थियो । यो आव ०७४/७५ मा ६ झोलुङे र ५ पक्की पुलको निर्माण कार्य सुरु भएको थियो । इन्द्रसरोवर गाउँपालिका १, सिम्लाङमा २५ लाखमा झोलुङे पुल निर्माण पूरा भएको छ । पुल नहुँदा यस क्षेत्रका बासिन्दा इन्द्रसरोवर वारपार गर्न काठे डुंगाको भर पर्ने गर्न बाध्य थिए ।

डुंगामा वारपार गर्ने क्रम डुंगा पल्टिएर वर्षेनी १/२ जनाको मृत्यु हुने गरेको थियो । ‘यहाँ पुल निर्माण भएर स्थानीयलाई सहज भएको छ,’ इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले भने, ‘यो पुल भएर ४–५ गाउँका बासिन्दा वारपार गर्छन् ।’

१ सय ९ मिटर लामो पुलवाट सिम्लाङ, डाँडागाउँ, टौमासलगायत वस्तीका वासिन्दा लाभान्वित भएका छन् । यसैगरी मकवानपुर गढी गाउँपालिका ७ सुकौरामा झोलुङे पुलको निर्माण कार्य सकिएको छ ।

३८ लाखमा निर्माण गरिएको पुल १ सय ११ मिटर लामो छ । उक्त पुलबाट ५ सय १२ घरधुरी लाभान्वित भएको जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलालले बताए । यसैगरी थाहा ९, चित्लाङमा १७ लाखमा ३२ मिटर लामो झोलुङे पुल निर्माण भएको छ । पुल छोटो भए पनि ७ सय घरधुरी यो पुलवाट लाभान्वित भएका छन् ।

जिल्लाका सबै झोलुंगे पुलहरू राडो नेपालको प्राविधीक सहयोगमा निर्माण गरिएको छ । जिससका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा १० तुइन सञ्चालनमा छन् । ती तुइन विस्थापित गर्ने उद्देश्यले सरकारले गत आवमा ६ झोलुंगे पुलको निर्माणका लागि वजेट उपलब्ध गराएको थियो । ६ झोलुंगे पुल निर्माण भएपछि २ वटा मात्र तुइन विस्थापित हुन्छन् ।

जिल्लाका ८ तुइनमार्फत २२ हजार जनसंख्या जोखिमयुक्त ढंगले दैनिक आवत–जावत गरिरहेका छन । जिल्लामा हालसम्म ५९ झोलुङे पुल छन् । सबैभन्दा पुरानो झोलुंगे पुल कैलाश गाउपालिकाको कालिकाटारमा छ । उक्त झोलुंगे पुल २०१९ सालमा अमेरिकी सरकारको सहयोगमा निर्माण गरिएको हो । बाटो अभावले गर्दा झोलुङे पुलका सामानहरू सवै हेलिकोप्टरमार्फत पुर्‍याईएको थियो ।

मकवानपुरमा ५ पक्की पुलको सम्झौता भएपनि वकैया गाउँपालिकाको हात्तीसुढे–शिखरपुर सडकमा पक्की पुल निर्माण भएको छ । करिब २ करोड २१ लखको लागतमा २५ मिटर लामो पक्की पुलको निर्माण सकिएको छ । जिल्लाका विभिन्न भागमा ४ पक्की निर्माणाधीन अवस्थामा छन । चालु आवको ६ महिनाभित्र ती पुलहरूका निर्माण कार्य सम्पन्न हुने जिल्ला समन्वय कार्यालयले जनाएको छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?