धुन्चेमा चहलपहल बढयो

बलराम घिमिरे

रसुवा — सदरमुकाम धुन्चेमा चहलपहल बढेको छ । गोसाइँकुण्ड मेला लाग्ने भएसँगै यहाँको चहलपहल बढेको हो । पछिल्लो समय धुन्चे सुनसान बन्दै गएको थियो । मेला भर्न भक्तजन आउने क्रम बढेसँगै यहाँका व्यवसायीहरू पनि उत्साही बनेका छन् ।

धुन्चेमा चहलपहल बढयो

आज (आइतबार) जनैपूर्णिमाका दिन गोसाइँकुण्डमा विशेष मेला लाग्ने गर्छ । गोसाइँकुण्ड क्षेत्र विकास समितिका अनुसार दैनिक हजारौंको संख्यामा भक्तजन आइरहेका छन् । एक साताको अवधिमा करिब ३ हजारभन्दा बढी भक्तजनले गोसाइँकुण्डमा स्नान गरेको समिति अध्यक्ष सञ्जीव डीएमले बताए ।

गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्जभित्र पर्छ । गोसाइँकुण्डमा मेला भर्न स्थानीय तथा नुवाकोट, सिन्धुपाल्चोक, धादिङ, काभ्रे, काठमाडौंलगायत देशैभरका हिन्दु तथा बौद्ध धर्मावलम्बी आउने गर्छन् ।

पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानव मिलेर समुद्र मन्थन गर्दा उत्पन्न कालकुट विष सेवन गरेका भगवान् शिवले विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूल धाराको उत्पत्ति भई उक्त धाराको पानी जम्मा भई गोसाइँकुण्ड बनेको भन्ने किंवदन्ती छ ।

कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै कुरा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौं भक्तजन स्नानका लागि आउँछन् ।

गोसाइँकुण्ड समुद्र सतहदेखि ४ हजार ३ सय ८० मिटरको उचाइमा छ । यसको लम्बाइ ६ सय मिटर र चौडाइ ३ सय ७० मिटर छ । नेपालका ४ मध्ये एक धामका रूपमा यो परिचित छ । यहाँ गंगादसहराका बेला पनि विशेष मेला लाग्ने गर्छ । यस ठाउँ धार्मिक एवं पर्यटकीय क्षेत्र भएकाले वर्षभरि नै विदेशी तथा स्वदेशी पर्यटकको आगमन भइरहन्छ ।

गोसाइँकुण्डलगायत वरपरका अन्य कुण्डलाई २०६४ असोज ६ गते रामसारमा सूचीकृत गरिएको छ । गोसाइँकुण्ड वरिपरि भैरवकुण्ड, आमाकुण्ड, सूर्यकुण्ड, सरस्वतीकुण्ड, रक्तकुण्ड, चन्द्रकुण्ड, दूधकुण्डलगायत करिब १०८ कुण्ड रहेको अनुमान छ ।

यस क्षेत्रमा १४ प्रजातिका लालीगुराँस लोपोन्मुख वन्यजन्तु, विभिन्न प्रजातिका वनस्पति र चरा पाइन्छन् । कुण्ड नजिकै अमरसिंह गुफा, अमरसिंहको चिहान पनि छ । घट्टेखोला, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीबिना, बुद्धडाँडा र गणेश गौंडाजस्ता ठाउँबाट मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यहाँ पुग्न रसुवा, नुवाकोट र सिन्धुपाल्चोक हुँदै पदमार्गहरू बनाइएका छन् । काठमाडौंबाट करिब ६ घण्टा बस यात्रामा धुन्चे पुगिन्छ । भोलिपल्ट अर्थात दोस्रो दिन चन्दनवारी वा लौरीविना पुग्न सकिन्छ । पर्सिपल्ट गोसाईकुण्ड पुगिन्छ ।

प्रकाशित : भाद्र १०, २०७५ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?