कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ठडिँदै छ ह्योल्मो एकीकृत बस्ती

बस्तीमा बन्ने प्रत्येक घरको ढोका र झ्यालमा ह्योल्मो संस्कृतिको बुट्टा र कला कँुदेर बनाइएको छ ।
अनिश तिवारी

हेलम्बु (सिन्धुपाल्चोक) — मध्यबर्खाको झमझम पानी सहेर यहाँका स्थानीय ह्योल्मो एकीकृत आवास निर्माण गर्न जुटेका छन् ।
पहिरोले जिल्लाभर हाहाकार मच्चाइरहँदा यहाँको एकीकृत बस्ती निर्माण बर्खाले रोकिएको छैन ।

ठडिँदै छ ह्योल्मो एकीकृत बस्ती

भूकम्पको परकम्पले खसेको पहिरोबाट विस्थापित तेम्बाथानका बासिन्दा संस्कृतिले भरिएको एकीकृत बस्ती निर्माणमा जुटेका हुन् ।

‘सबै एकजुट भएर लागे के हुन्न र ? त्यसैले पनि बर्खाले एकीकृत बस्तीको काम त्यस्तो रोक्नुपर्ने अवस्था बनेन,’ तेम्बाथानको चिटिक्क परेको दृश्य हेर्दै ६३ वर्षीया वृद्धा कर्ममाया ह्योल्मोले भनिन् । हेलम्बुको कागनी, खादुङबाट भूकम्पले पहिरोमय बनाएपछि सुरक्षित स्थान खोज्दै तेम्बाथानमा ५३ ह्योल्मो परिवार आएर बसेका थिए । ‘सबै मिलेपछि के चाहिँ नहुने हो र ? दैवले पुर्‍याउँदारहेछन्,’ उनले भनिन् ।

ह्योल्मो संस्कृति झल्कने एकीकृत बस्ती निर्माण हुने भएपछि ह्योल्मो परिवारमा उज्यालो छाएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाको कथन छ । ‘प्राचीन ह्योल्मो कला र संस्कृतिले घेरिएको एकीकृत व्यवस्थित बस्ती पाउने भएपछि स्थानीय उत्साहित छन्,’ उनले भने । गाउँपालिकाको पहलमा ह्योल्मो संस्कृति झल्कने झ्याल–ढोका बनाउने तालिम दिएको उनले सुनाए ।

हेलम्बु तेम्बाथानमा अक्सफामको आर्थिक र जनहित ग्रामीण सेवा समितिको प्राविधिक सहयोगमा तेम्बाथान एकीकृत बस्ती विकास केन्द्रद्वारा नमुना एकीकृत बस्ती ठडिँदै छ । ‘९ वटा घर बनिसकेका छन्, ३० वटाको डीपीसीको काम भइसकेको छ र १० वटामा ह्योल्मो संस्कृति झल्कने झ्यालढोका राखेर पर्खाल लगाउने काम सकिनै लागेको छ,’ जनहितका कार्यक्रम संयोजक श्रीधर न्यौपानेले भने, ‘बस्तीमा बन्ने प्रत्येक घरको ढोका र झ्यालमा ह्योल्मो संस्कृतिको बुट्टा र कला कुँदेर बनाइएको छ ।’

उनले घरबाहेकका सामुदायिक भवन, ह्योल्मो जातिको पूजा गर्ने अलग्गै मन्दिरको समेत निर्माण गरिने सुनाए । मौलिकतासहितको एकीकृत बस्तीमा दैनिक ५० भन्दा बढी कामदार खटेर अभियानलाई तीव्रता दिइरहेको उनले प्रस्ट्याए ।

‘बर्खाको सुरुवातमा सडकले केही समस्या बनाए पनि हालै केही अवरोध छैन,’ न्यौपानेले भने । तेम्बाथानका वडाध्यक्ष सांगे लामाका अनुसार सडक, धारादेखि सामुदायिक भवन ह्योल्मो परिवारकै अनुदानले बनाइनेछ । जसमा एकीकृत बस्तीभित्र बनाइने सबै घरहरू स्थानीय ह्योल्मो समुदायको ‘मर्चेगुम्बा’ शैलीको हुने उनले जनाए । बस्तीको लागि मेसिनबाट ‘ईसीबी’ इन्टरलक इँटा प्रयोगमा ल्याइएको छ ।

बस्ती वरीपरी ह्योल्मो जातिको परम्परागत संस्कृति चिनाउने बालबगैंचा,ढुंगे बाटोजस्ता विभिन्न भौतिक संरचनाले सिँगारिने योजना छ ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?