२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

लगानी आकर्षित गर्न छुटैछुट

राजेन्द्र मानन्धर

दोलखा — लगानी आकर्षित गर्न दोलखाका सबै स्थानीय तहले आफूले लिने सबै शुल्क मिनाहा गर्ने घोषणा गरेका छन् ।

लगानी आकर्षित गर्न छुटैछुट

दोलखाका दुई नगर र सात वटा गाउँपालिकाले जिल्लाबाहिर बसोबास गर्ने दोलखालीले जिल्ला फर्किएर लगानी गर्न चाहे पाँच वर्षसम्म लाग्ने कर, दस्तुर र सेवाशुल्क मिनाहा गर्ने भएका हुन् ।

जिल्लाको समृद्धिका लागि स्थानीय सरकारको साझा प्रतिबद्धतापत्रको ११ नम्बर बुँदामा उक्त छुटको व्यवस्था छ । ‘पेसा–व्यवसाय र उद्यमीका रूपमा जिल्लाबाहिर रहेका दोलखालीको लगानी भित्र्याउने अनुकूल वातावरणका लागि स्थानीय तहबाट लाग्ने सेवाशुल्क, कर, दस्तुर पाँच वर्षका लागि छुट गर्ने,’ भनिएको छ ।

दोस्रो दोलखा जिल्ला परिषद्मा प्रस्तुत प्रतिबद्धतापत्रमा स्थानीय तहले जिल्ला बाहिरबाट लगानी गर्न आउने दोलखालीप्रति हदैसम्म उदारता देखाइएको छ । दुई नगरका मेयर, उपमेयर र सात गाउँपालिकाका प्रमुख, उपप्रमुख, संघीय र प्रदेशका सांसदलगायत सरोकारवालासहितको हस्ताक्षरमा लगानी भित्र्याउने वातावरण बनाउन त्यस्तो निर्णयमा पुगिएको जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले बताए ।

साझा प्रतिबद्धतालाई आफ्नो तहले कानुनमा समेटेर लागू गरिने पनि उनले बताए । कर छुटपछि नदी, वनजंगल र स्वच्छ हावापानीले भरिएको दोलखामा जलविद्युत्, ठूला उद्योगधन्दा, शिक्षण संस्था, होटलहरूमा लगानी भित्रने अपेक्षा छ । प्रतिबद्धता अनुसार ‘एक पालिका एक औद्यागिक ग्राम’ को महत्त्वाकांक्षी अवधारणा अघि सारिएको छ । यसलाई नगर र गाउँपालिकाले आफ्नो आर्थिक आदर्शका रूपमा लिएको प्रतिबद्धतापत्रमा उल्लेख छ ।

प्रतिबद्धतापत्रले पुस्तौंपुस्तादेखि हस्तान्तरण हुँदै आएका स्थापित उद्यमी, पेसा, व्यवसायीलाई भने समेटेको छैन ।

नयाँलाई सहुलियत र पुरानालाई कस्ने नीतिले पुराना उद्यमीहरू भने असन्तुष्ट छन् । दोलखा उद्योग वाणिज्य संघका अनुसार दोलखा जिल्लाभित्र प्यान दर्ता भएका व्यवसायी करिब पाँच हजार छन् । जसमध्ये आधा संख्याका व्यवसायी व्यापार र उत्पादन कार्यमा छन् । स्थानीयहरूले एउटै व्यवसायमा १० करोडभन्दा बढी लगानी गरिरहेका छन् । पुरानालाई बढेको कर, दस्तुर र सेवाशुल्क लिने नयाँलाई पुरै छुट गर्ने नीतिले समस्या ल्याउने पुराना व्यवसायीहरू बताउँछन् ।

कर तिर्ने र नतिर्ने उद्योगबाट उत्पादित वस्तुको मूल्यमा अन्तर आउँछ र प्रतिस्पर्धा गर्न नसकेर पुराना व्यवसायी धरापमा पर्छन् । दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष सुन्दर कार्कीले दोस्रो जिल्ला सभाबाट नयाँ व्यवसाय भित्र्याउन जस्तो नीति अपनायो पुरानोलाई पनि उही नीतिले समेट्नुपर्ने बताए ।

प्रकाशित : भाद्र ११, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?