१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

५५ सडकमा यातायात अवरुद्ध

‘सबै ग्रामीण भेगका कच्ची सडक बर्खासँगै बन्द छन्, जहाँतहीँ वर्षात्ले पहिरो जाने,भास्सिने भइरहेको छ’
अनिश तिवारी

सिन्धुपाल्चोक — पहिरोले बन्द ग्रामीण भेगका सडक अझै सञ्चालनमा आउन सकेका छैनन् । दुर्गम गाउँ पुग्ने सडक चल्न नसक्दा यात्रु सास्ती भोग्न बाध्य छन् ।

५५ सडकमा यातायात अवरुद्ध

जिल्ला समन्वय समितिका अनुसार सदरमुकामबाट गाउँ जोड्ने ५५ सडकमध्ये प्राय:मा यातायात अवरुद्ध छन् ।

जिल्लामा २५ सय किमि ग्रामीण सडकमा पाँच सय किमि ग्राभेल र अन्य प्रमुख सडकमा दुई सय किमि कालोपत्रे गरिएको छ । ‘सबै ग्रामीण भेगका कच्ची सडक बर्खासँगै बन्द छन्, जहाँतहीँ वर्षातले पहिरो जाने, भास्सिने भइरहेको छ,’ चरिकोट सडक डिभिजन कार्यालयका प्रमुख अशोक तिवारीले भने । उनले नयाँ खुलेका सडकदेखि अरनिको राजमार्गको सडक खण्डको विभिन्न स्थानमा समेत पहिरोले बगाएपछि सवारीसाधन बन्द भएको सुनाए ।

जिल्लाका उत्तरपूर्वी भेगका सबै ग्रामीण सडक पनि खुल्न सकेका छैनन् । भोटेकोसी गाउँपालिको मार्मिङ, तातोपानी, लिस्तीकोट, फुल्पिङकट्टीका गाउँमा पुग्ने सबै सडक वर्षासँगै पहिरोले पुरिएका छन् । भूकम्पले छियाछिया बनाएकाले सीमावर्ती गाउँका सडकमा पैदल यात्रासमेत जोखिमपूर्ण छ ।

बाह्रबिसे–तातोपानी २६ किमिको दूरी छ । यही राजमार्गकै दसकिलो, सिरिसे, जम्बु, झिर्पू, डाँकालाङ, कोदारीजस्ता स्थानमा वर्षासँगै पुराना पहिरो फेरि खस्न थालेका छन् ।

अरनिको राजमार्गकै जुरे, बलेफीमा अझै सुक्खा पहिरो रोकिएको छैन । ‘यातायात त टाढाको कुरा, पैदल यात्रासमेत सम्भव छैन्,’ भोटेकोसी गाउँपालिका फुल्पिङकट्टी झिर्पु हिन्दीका शम्भु पौडेलले भने, ‘बर्खा लागेपछि यहाँका गाउँका सबै सडक सुक्खा पहिरोले बन्द हुन्छन् , बर्सेनि मर्मत गरिए पनि मर्मत प्रभावकारी हुन सकेको छैन ।’ भोटेकोसी बाढीले कटानमा पारेको कोदारी राजमार्गको लिपिङ बजारदेखि अरनिको राजमार्गको जुरेसम्म चिनियाँ निर्माण कम्पनी सीआरसीसीले पुनर्निर्माण गरेको थियो ।

त्रिपुरासुन्दरी गाउँपालिकाको पिस्कर, चोकटी, घोर्थली पुग्ने सडक वर्षाले भास्सिएर बन्द भएको छ । बाह्रबिसे नगरपालिका अन्र्तगतका गाती, घुम्थाङ, कर्थली, राम्चेदेखि इन्द्रावती गाउँपालिकाको माझीगाउँ जोड्ने ग्रामीण सडक हिलो, पहिरोले अवरुद्ध बनाएको छ ।

प्रकाशित : भाद्र १२, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?