कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

खोलाले धान–खेत भयो बगर

‘मेरो ४० मुरीभन्दा बढी धान हुने अनुमान थियो,’ मन्थलीकी किसान निर्मला घिमिरेले भनिन्, ‘एक गाबो पनि नराखी लग्यो, अहिले खोला नै त्यहीँबाट बगेको छ ।’

रामेछाप — रणजोर खोलाका दुवै किनारमा रहेका खेतमा लोभलाग्दो धानबाली बगाएको छ । खेत कहाँ थियो भन्ने हेक्कासमेत नहुने गरी बाढीले विनाश गरेपछि किसान चिन्तामा छन् ।

खोलाले धान–खेत भयो बगर

‘मेरो ४० मुरीभन्दा बढी धान हुने एक गाबो पनि नराखी लग्यो, अहिले खोला नै त्यहींबाट बगेको छ,’ मन्थलीकी किसान निर्मला घिमिरे भनिन् । शनिबार आएको बाढीले वितण्डा मच्चाएको हो ।

रणजोरको विनाश यो पहिलो हैन । बीसौं वर्षअघिदेखि लगातार रणजोरको बाढीले किसानको खेत विनाश गर्दै आएको छ । स्थानीय सीताराम कार्कीेले भने, ‘सरकारले गुरुयोजना बनाएर उचित तटबन्ध नगर्दाको परिणाम किसानले भोगेका हुन् ।’

रणजोरको बाढीले मन्थली नगरपालिकाको सालुदेखि मन्थलीसम्म हजारौं रोपनी खेत बगर बनाइसकेको छ । यो वर्ष झन्डै ५ सय रोपनीभन्दा बढी जग्गा धानसहित बगेको उनले बताए । कार्कीका अनुसार रणजोरको बाढी किसानको खेत बगाउँदै सुकाजोर मिसिन पुगेको छ । जब कि उक्त दुई खोलाबीचको दूरी झन्डै ८ सय मिटर फरक छ ।

रणजोरको बाढीले हरेक वर्ष खोलाको सतह उकासिने क्रम बढेको छ । जति खोला उकास हुन्छ, त्यति नै दुवै किनारका खेत बाढीको निसानामा पर्छ । खोलाको शिरमा झर्ने पहिरोले बगाएर ल्याउने ढुंगा र लेदोले खोलाको सतह थपिँदो छ । त्यसमाथि खोला अतिक्रमण गरी जथाभावी घडेरी खारेको माटो थुपार्ने कार्यले सतह थप उकासिँदै गएको स्थानीय अर्जुन कार्कीले बताए ।

मन्थली नगरपालिकाले दुई वर्षदेखि मन्थली खुर्कोट सडक खण्डको पुलदेखि पश्चिमतर्फ क्यानल बनाएर खोला नियन्त्रण गर्ने प्रयास थालेको थियो । गत वर्ष उक्त प्रयासले काम दियो । त्यसको प्रभाव हेरेर यो वर्ष पनि करिब साढे ७ लाख खर्चेर खोलामा क्यानल बनाइएको थियो । अहिले नगरपालिकाले गरेको काम कतै चिनोसमेत छैन । मन्थली नगर प्रमुख रमेशकुमार बस्नेतले दुई वर्षको प्रयास सबै बगेको बताए । ‘रणजोरको बाढी नियन्त्रण गर्न सानो प्रयासले नपुग्ने देखेका छौं,’ बस्नेतले भने ।

नापी हुँदाको बखत रणजोरको क्षेत्र सानो थियो । घ्याप्चेमा पहिरो चल्न थालेपछि रणजोरले क्षेत्र विस्तार गर्दै लगेको छ । गैराथोक, कार्कीटार, सुनारपानी, ठुलीमदौको बेसी, खजुरे, नागस्थान, सिमलबोटे, सियाले, बगुवा, चुकाहा, र गैरी खेतमा रणजोर खोलाले बगर बनाएको हो ।

दीर्घकालीन योजना बनाएर मनग्ये लगानी नगरे रणजोर खोलाले किसानको खेत मात्र हैन, जिल्ला सदरमुकाम समेतलाई निसाना बनाउने कांग्रेसका सचिव लेखबहादुर कार्की बताउँछन् । ‘मैले सुरुमा देखेको भन्दा धेरै उकास भएर आएको छ,’ कार्की भन्छन्, ‘यसरी नै बढन दिने हो भने मन्थलीमा ठूलो विपत्ति आउनेछ ।’

रणजोरको बाढी नियन्त्रण गर्नका लागि यसअघि धेरै प्रयास भएका हुन् । तर कुनै प्रयासले पनि काम दिएको छैन । जिल्ला सिँचाइ कार्यालय, जल उत्पन्न प्रकोप डिभिजन, जिल्ला दैवीप्रकोप उद्धार समिति, स्थानीय तह आदिले रणजोरमा हजारौंको संख्यामा तारजालीका बाक्सा बनाएर बाढी नियन्त्रणको प्रयास गरेका थिए ।

प्रकाशित : भाद्र १२, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?