घाइतेलाई सरकारीमा लैजाने निर्णय

‘सरकारीमा लग्यो त्यहींकै डाक्टरले आफ्नो निजी निर्सिङ होममा बोलाउनुहुन्छ’
रमेशकुमार पौडेल

चितवन — राजमार्गमा हुने दुर्घटनाका घाइतेलाई उपचारका लागि सरकारी अस्पतालमा पुर्‍याउने परिपाटी बसाउन चितवन जिल्ला प्रशासन सक्रिय भएको छ ।

घाइतेलाई सरकारीमा लैजाने निर्णय

जिल्ला एम्बुलेन्स सञ्चालक समितिको सोमबार चितवन जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा घाइते बोकेर आउने एम्बुलेन्स सिधै सरकारी अस्पताल लैजाने निर्णय भएको छ । ‘त्यसो नगर्ने एम्बुलेन्स कारबाहीमा पर्ने छन्,’ प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बैठकमा भने ।

भरतपुर अस्पतालमा पूर्वाधार र चिकित्सक भए पनि घाइतेलाई निजी मेडिकल कलेजको शिक्षण अस्पतालमा लैजाने गरेकोबारे बैठकमा छलफल भएको थियो । ‘दुर्घटनाका घाइतेहरू भरतपुर अस्पतालमा ल्याउँदै नल्याउने परिपाटी देख्दा अचम्म परेको छु,’ भरतपुर अस्पतालको मेडिकल सुपेरिटेन्डेन्ट डा.रविन खडकाले भने ।

दुर्घटनाका घाइतेका लागि उपचार सुविधा भरतपुर अस्पतालमा भएको उनले बताए । ‘भरतपुर अस्पतालमा न्युरो सर्जन हुनुहुन्छ । स्पाइनल सर्जनसहित सात जना अर्थोपेडिक (हाडजोर्नी) सर्जन हुन हुन्छ । पूर्वाधार पनि छ,’ डा.खडकाले भने ।

अस्पतालमा घाइतेहरू आपत्कालीन अवस्थामा आए उपचार सुरु गर्न तत्कालै हेर्ने समूह (क्यूआरटी) रहेको उनले बताए । डा. सुरेश प्रधानको नेतृत्वमा आपत्कालीन उपचार टिम अस्पतालमा रहेको उनले बताए ।

छाती र मुटुको समस्याको उपचार हुन केही गाह्रो भए पनि दुर्घटनासँग सम्बन्धित अन्य चोटपटकको राम्रो उपचार भरतपुरको सरकारी अस्पतालमै हुने उनले बताए । तर दुर्घटना भएका सबै बिरामी निजी अस्पतालमा मात्रै गएको देखियो । यो के कसरी रोक्नेभन्दा एम्बुलेन्सलाई अनिवार्य सरकारी अस्पतालमा नै ल्याउनुपर्छ भनिएको हो,’ प्रमुख जिल्ला अधिकारी बस्नेतले भने । यो निर्णयपछि भरतपुर अस्पतालले रिफर गरेमा मात्रै बिरामीहरू अन्य अस्पतालमा जाने छन् ।

कमिसन र व्यवहार समस्या
सरकारी अस्पतालमा घाइते नजानुमा एम्बुलेन्सको मात्रै कमजोरी नरहेको संयुक्त एम्बुलेन्स चालक संघका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले बताए । ‘तपाईंहरूले गरेको निर्णय मान्न हामी तयार छौं । तर चालकका कारणले मात्रै घाइतेहरू निजीमा गएका हैनन्,’ लामिछानेले बैठकमा भने, ‘कमिसन र सरकारी अस्पतालका चिकित्सकको व्यवहार पनि दोषी छ ।’

अध्यक्ष लामिछानेले भरतपुर अस्पतालकै एकजना अर्थोपेडिक सर्जनले एम्बुलेन्समा जाने बिरामीलाई आफ्नो निजी अस्पतालमा बोलाउने गरेको बताए । ‘तपाईंहरू सरकारीमा ल्याऊ भन्नुहुन्छ । तर सरकारीमा लग्यो त्यही कै डाक्टरले आफ्नो निजी निर्सिङ होममा बोलाउनुहुन्छ । त्यहाँ उपचार नभए काठमाडौंको निजीमै रिफर गर्न हुन्छ,’ लामिछानेले भने ।

बैठकमा भरतपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.रविन खडकाले यस्ता कमजोरीहरू अब नहुने बताए । पूर्व पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिनजस्ता व्यस्त सडकले घेरिएको चितवनमा दिनदिनै जसो दुर्घटना हुने गर्छ ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा गत आवमा १ सय ३२ जनाको मृत्यु, ५ सय २९ घाइते भएका थिए । साउनमा ८७ घाइते र २१ जनाको निधन भएको छ । बाहिरी जिल्लाका घाइते पनि उपचारका लागि यहाँ आउँछन् ।

प्रकाशित : भाद्र १२, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?