कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

भरतपुर अस्पताल: थामेन बिरामीको भीड

सरदर ११ सयको हाराहारीमा बिरामी आउँछन्, जसमध्ये स्वास्थ्य बिमा गरेका ५ सय बिरामी हुन्छन् 
रमेशकुमार पौडेल

चितवन — भरतपुर महानगरपालिका–११ बसेनीकी कमला तिमिल्सेना मंगलबार बिहान उपचारका लागि भरतपुरको सरकारी अस्पताल पुगिन् । टिकटका लागि उनका श्रीमान् बिहान साढे ८ बजे नै लाइनमा बसेका थिए ।

भरतपुर अस्पताल: थामेन बिरामीको भीड

टिकट हात पर्दा सवा ११ बजेको थियो । चिकित्सक भेट्न जब भित्र छिरिन् त्यहाँ भीडभाड देखेर उनी झसङ्ग भइन् ।


बहिरंग विभाग (ओपीडी) को हाडजोर्नी र मेडिसिन काउन्टर अगाडि चिकित्सकको पालो कुरेर बसेका सयौं थिए । बस्ने कुर्सी थोरै थियो । उभिएरै पालो पर्खने बिरामी प्रशस्तै थिए । ओपीडी भवनको तल्लो तलामा मात्रै यस्तो भीडभाड थिएन । पहिलो तलामा रहेको प्रसूति विभाग अगाडि पनि ठूलै भीडभाड थियो । तला उक्लने भर्‍याङमा भएको भीड देख्दा दिक्क मानेर तलै बस्नेहरू पनि थिए ।


टिकट काउन्टर र ओपीडीमा मात्रै नभएर यस्तो भीडभाड पैसा बुझाउने काउन्टर, प्रयोगशाला अगाडि नमुना बुझाउने र परीक्षण रिपोर्ट लिने ठाउँमा पनि देखिन्छ । अरू त अरू औषधि किन्ने फार्मेसीमा पनि बिहानै लाइन लाग्नुपर्ने बाध्यता सुरु भएको छ । ‘बिरामीको चाप अत्यधिक बढेको छ । भदौ ३ गते आइतबार ओपीडीमा आउने बिरामीको संख्या १ हजार ७ सय २३ थियो,’ भरतपुर अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा.रविन खड्काले भने । अहिले दिनमा सरदर ११ सयको हाराहारीमा बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले बताए । अघिल्लो वर्ष दैनिक सरदर ८ सय ५० बिरामी ओपीडीमा आउँथे ।


‘डेंगुजस्ता उच्च ज्वरोको महामारी भएका बेलामा अघिल्ला वर्षहरूमा दिनमा १५ सयसम्म बिरामी पुगेका थिए । यो समयमा पनि मौसमी ज्वरोका बिरामी छन् तर माहामारी छैन । यस्तो हुँदा पनि बिरामीको चाप ह्वात्तै बढेको छ,’ सूचना अधिकारी पौडेलले भने । मेडिकल सुपेरिटेन्डेन्ड डा. खड्का अर्थोपेडिक र मेडिसिन विभागमा आउने बिरामी अत्यधिक छन् । भदौ ३ मा १७ सय बिरामी आउँदा ७ सय जना यी दुई विभागमा आएका थिए ।


आमने सामुन्ने रहेका अर्थोपेडिक र मेडिसिन विभागमा बिरामीले खुट्टा राख्ने ठाउँ पाउँदैनन् । प्रसूति विभाग र बालरोग विभागमा पनि भीड बढ्दो छ । न्युरो विभागमा पनि डाक्टर कुरेर बस्नेहरू बाक्लै देखिन्छन् । प्रयोगशालामा परीक्षणका लागि एकै दिनमा ६ सय ३० वटा नमुना संकल भएको मेडिकल सुपेरिटेन्डेन्ट डा.रविन खड्काले भने ।


स्वास्थ्य बिमाले बढायो चाप
स्वास्थ्य बिमा गरेकाहरू सेवा लिन आउँदा बिरामीको चाप ह्वात्तै बढेको चिकित्सकहरू बताउँछन् । सेवा लिन आउनेमध्ये दिनमा पाँच सय व्यक्ति स्वास्थ्य बिमा गरेकाहरू हुने मेडिकल सुपेरिटेन्डेन्ट डा.रविन खड्काले बताए । सरकारले स्वास्थ्य बिमाअन्तर्गत भरतपुरका दुइटा मेडिकल कलेजका ठूला शिक्षण अस्पताललाई प्राथामिक सेवा बिन्दुको सूचीबाट हटाएको छ । त्यसैले ती अस्पतालको चाप पनि यता सरेको छ ।


‘हो, हामीलाई देखाउन आउनेमध्ये स्वास्थ्य बिमा गरेकाहरू धेरै नै छन्,’ भरतपुर अस्पतालका अर्थोपेडिक सर्जन डा. कृष्णप्रसाद पौडेलले भने । भरतपुर अस्पताल ६ सय शय्याको छ । चितवनसहित छिमेक र त्योभन्दा परका समेत गरेर २२ जिल्लाका बिरामीहरू यो अस्पतालमा उपचारका लागि आउने गरेको मेडिकल सुपेरिटेन्डेन्ट खड्काले जानकारी दिए । त्यसैले बर्सेनि चाप बढ्दै जाने गर्छ ।


अस्पतालका ६ सय शय्यामा अहिले बिरामी छन् । ‘अरू बेलामा पनि सधैं पाँच सयको हाराहारीमा शय्यामा बिरामीहरू हुन्छन्,’ सूचना अधिकारी गोपाल पौडेलले भने । मेडिसिन विभागका १ सय २० शय्या वर्षभरि कुनै दिन खाली नहुने अवस्था छ । अस्पतालमा २० वटा आईसीयू र १२ शय्या एनआईसीयू छ । न्युरोको १२ वटा शय्या रहेको सूचना अधिकारी पौडेलले बताए । यी सुविधाले पनि बिरामी भरतपुर अस्पताल आउने उनको भनाइ छ ।

चिकित्सकको अभाव
अस्पतालमा ६ सय शय्या भए पनि सरकारी स्वीकृति ३ सय शय्याको मात्रै छ । थप ३ सय शय्या तत्कालीन अपस्ताल विकास समितिले चलाउँदै आएको छ । सरकारले ३ सयको स्वीकृति दिए पनि दरबन्दी १ सय ५० शय्याको अस्पतालका लागि जति दिनुपर्ने हो त्यति दिएको छ । स्वीकृति शय्याभन्दा आधा दरबन्दी दिए पनि पदपूर्तिसमेत पूरै हुन पाएको छैन ।


सूचना अधिकारी पौडेलका अनुसार दरबन्दी अनुसार ६७ चिकित्सक अस्पतालमा हुनुपर्छ । तर ३९ जना मात्रै कार्यरत रहेको पौडेलले बताए । अस्पताल विकास समितिले २९ जना चिकित्सक राखेको छ । कम जनशक्ति भएका ठाउँमा चाप बढेपछि व्यवस्थापनमा समस्या थपिएको मेडिकल सुपेरिटेन्डेन्ट डा.रविन खड्काले बताए । बिमा गरेकाहरूसमेत धमाधम आउन थालेपछि भीडभाड बढेको छ ।


‘बिमा गर्नेहरूका लागि टिकट, औषधि र बिलिङ काउन्टर फरक छ । तर उपचार सेवा अरूलाई जसले दिन्छ बिमा गर्नेलाई पनि उसैले दिए छ । चिकित्सकहरू बेलैमा नआउँदा पनि भीडभाड बढ्ने गरेको सेवा लिन आउनेहरू बताउँछन् । ओपीडी विभाग बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म खुल्छ । ९ बजे नै सबै चिकित्सक आ–आफ्नो च्याम्बरमा आएर बसे भीडभाड कम हुने सेवाग्राहीहरूको तर्क छ ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?