७३ वर्षमा नागरिकता

वृद्धभत्ताको बाटो खुल्यो
प्रताप विष्ट

हेटौंडा — सात दशक पार गरिसके तर उनीहरूले वृद्धभत्ता पाउन सकेका थिएनन् । नागरिकता नभएकाले वृद्धभत्ता नपाएका हुन् । अर्काको घरमा काम गरे । विवाह पनि गरे । छोराछोरी पनि जन्मे । सोमबार नागरिकता पाएका छन् ।

नागरिकतासँगै उनीहरूले वृद्धभत्ता पाउने बाटो पनि खुलेको छ । छोराछोरीले पनि नागरिकता पाउन खुला भएको छ । नागरिकता पाउने चार जेष्ठ नागरिक दुर्गम बस्तीका होइनन्, उपमहानगरपालिकाभित्रकै हुन् ।


Yamaha

हेटौंडा उपमहानगरपालिका १२ का २००२ मा जन्मेका मख्खबहादुर घलान, २००३ की चिनीमाया भोम्जन, विसं. २००४ का चन्द्रबहादुर भोम्जन र २००५ का जीवन डिमडुङको हातमा सोमबार नागरिकताको प्रमाणपत्र परेको छ । आफ्ना अभिभावक गुमाएपछि नागरिकताको सिफारिस पाउन असहज भएकाले जनप्रतिनिधिको पहलमा उनीहरूले नागरिकता पाएका हुन् ।


हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रकै जेष्ठ नागरिकले नागरिकता नपाएको भन्ने खबर प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई हेटौंडा उपमहानगरपालिका १२ का वडाध्यक्ष ललित घलानले गराएपछि प्रमुख जिल्ला अधिकारी तामाङले चासो देखाएका थिए । वडा कार्यालयको सिफारिस, स्थानीयको सर्जिमिनमा र प्रहरीको मुचुल्कापछि नागरिकताको प्रमाणपत्र प्रजिअ तामाङले चारै जनालाई प्रदान गरे । १६ वर्ष पूरा भएपछि पाइने नागरिकताको प्रमाणपत्र लिन खर्च लाग्दैन ।


वडाध्यक्ष घलानको सक्रियतामा कागजात तयार पारेर जिल्ला प्रशासन कार्यालयमा चारै जनालाई ल्याएका थिए । नागरिकता हातमा परेपछि ७३ वर्षीय चन्द्रबहादुरले ‘अब वृद्धभत्ता पाइने भो भनेर खुसी व्यक्त गर्दै भने, ‘वडाध्यक्षले गर्दा नागरिकता पाइयो ।’ वृद्धवृद्धा उमेरमा नागरिकता पाउने जेष्ठ नागरिकले गहभरि आँसु बनाउँदै खुसी व्यक्त गरेका थिए ।


नागरिकता पाउने चन्द्रबहादुर भोम्जन र चिनीमाया भोम्जन श्रीमान्–श्रीमती हुन् । चन्द्रबहादुरको आमा ९१ वर्षकी छन् । उनी पनि नागरिकताविहीन छिन् । लामो समयदेखि उनी थला परेकी छन् । उपमहानगरपालिकाभित्र वृद्धवृद्धाहरू अझै नागरिकताविहीन अवस्थामा छन् । दुर्गम गाउँका लोपोन्मुख आदिवासी चेपाङहरूमध्ये ४० प्रतिशत चेपाङ नागरिकताविहीन छन् ।


विगतमा स्थानीय प्रशासनले दुर्गम गाउँमा एकीकृत घुम्ती शिविर सञ्चालन गरेर नागरिकता प्रदान गर्दै आएको थियो । केही वर्षदेखि उक्त कार्यक्रम रोकिएको छ । एकीकृत घुम्ती शिविरको कार्यक्रम रोकिएकाले त्यसको मारमा दुर्गम गाउँका चेपाङ र तामाङ समुदाय परेका छन् ।

Esewa Pasal

प्रकाशित : भाद्र १३, २०७५ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्

‘कला र साहित्य मनोरञ्जन मात्र होइन’

कान्तिपुर संवाददाता

काठमाडौँ — कला, साहित्य र संस्कृतिको प्रयोग मनोरञ्जनमा मात्र नभई समाज रूपान्तरणका लागि हुनुपर्ने प्रधानमन्त्री केपी ओलीले बताएका छन् ।

प्रज्ञा प्रतष्ठिानका प्रमुख संरक्षकसमेत रहेका ओलीले राजधानीमा मंगलबार नेपाल प्रज्ञा प्रतिष्ठानको ३३ औं प्रज्ञासभाको उद्घाटन गर्दै कला र साहित्यले मुलुकलाई समृद्धितिर लैजाने र अब स्रष्टाहरूले समस्या मात्र नभई समृद्धि पनि लेख्नुपर्ने औँल्याए ।

संस्कृतिमन्त्री रवीन्द्र अधिकारीले मुलुकको विकासका लागि सांस्कृतिक सम्पन्नता आवश्यक रहेको बताए । प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाले प्रज्ञा प्रतिष्ठानहरू सप्तरंगीन हुनुपर्ने उल्लेख गर्दै यस्तो हुन सके सामाजिक सद्भाव बढाउन सहयोग पुग्ने बताए ।

प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले प्रज्ञा प्रतिष्ठानले चीन, बंगलादेश, पाकिस्तान जस्ता मुलुकका साहित्य एकेडेमीहरूसित सम्बन्ध विस्तार भएको सुनाए । प्रज्ञा प्रतिष्ठानको यो अन्तिम प्राज्ञसभा हो । यही भदौ २० गते प्रज्ञा प्रतिष्ठानसँगै संगीत नाटय प्रज्ञा प्रतिष्ठान र ललितकला प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको चारवर्षे कार्यकाल पूरा हुँदै छ ।

प्रकाशित : भाद्र १३, २०७५ ०९:१५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT