कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

खिम्तीले सडक बगायो

रामेछाप — खिम्ती खोलाले सडक बगाउँदा करिब एक सातादेखि यता रामेछापका दुइटा गाउँपालिकातर्फ यातायात चल्न सकेको छैन । गोकुलगंगा र उमाकुण्ड जाने सवारीसाधन छिमेकी जिल्ला दोलखाको जिरी हुँदै गुड्न थालेका छन् ।

खिम्तीले सडक बगायो

खिम्ती खोलाको बाढीले गत वर्ष निर्माण गरेको सडक चिनोसमेत नराखेर बगाएको छ । खिम्ती र छतिवने खोलामा गएको वर्ष आएको बाढीले सडक अवरुद्ध भएपछि गोकुलगंगा र उमाकुण्ड गाउँपालिकाले २७ लाख खर्चेर अस्थायी आवागमन खुलाएका थिए । त्यसमा यो वर्ष डिभिजन सडकले पूर्वाधारको काम गरेको थियो । यो वर्ष दुवै निकायले गरेको काम बगेको छ ।

खिम्ती खोला छतिवनेको दोभान हुँदै खिम्तीको पहरोमा ठोक्किएर बग्न थालेको छ । खोला फर्काएर गत वर्षझैं अस्थायी सडक बनाई यातायात सञ्चालन गर्न डोजर लगाइएकोमा उक्त डोजर बाढीले पल्टाएको छ । बाढीले पल्टाएको डोजर अझै खिम्तीखोलाको बीचमा छ । निकाल्न सकिएको छैन ।

गोकुलगंगा गाउँपालिका ६ फर्पुका वडा अध्यक्ष चन्द्रबहादुर सुनुवारले भने, ‘सडक सञ्चालन तत्काल हुन सक्ने सम्भावना छैन ।’ बाढी आउने क्रम जारी भएकाले सडक खोल्न कठिनाइ भएको हो । स्थानीय बासिन्दाहरूले तत्काल कुनै विधि प्रयोग गरी सडक सञ्चालन गर्न गाउँपालिकालाई दबाब दिन थालेका छन् । उक्त सडक खण्ड नहुँदा नामाडी, बेताली, फर्पु लगायतका क्षेत्रका बासिन्दा बढी प्रभावित छन् ।

त्यस क्षेत्रमा निर्माण सामग्री र खाद्यान्न ढुवानी कार्य प्रभावित भएको छ । सडक बगाएपछि यातायात मात्र अवरुद्ध भएको छैन । पैदल यात्रुलाई समेत कठिनाइ छ । प्रहरी चौकी खिम्तीका प्रमुख मीनबहादुर थापाका अनुसार सर्वसाधारणहरू ज्यान माया मारेर पहरोमा झुन्डिँदै हिँडेका छन् । ‘हामीले त्यस क्षेत्रमा पैदल यात्रुलाई पनि हिँडडुलमा रोक लगाउन खोजेका हौं तर सकिएको छैन,’ थापाले भने, ‘ज्यान जोखिममा हुने गरी त्यहींबाट झुन्डिँदै हिँड्छन् ।’

कठिन भौगोलिक स्थानबाट सडक निर्माण गरेकाले उक्त क्षेत्रमा ठूलै लगानी गरे पनि सडक बचाउन सक्ने अवस्था छैन । खिम्तीबाट फर्पुतर्फ जाने सडक फर्पुसम्मै जोखिम क्षेत्रमा पर्छ । छतिवने खोला पार गरेर फर्पुतर्फ धेरै स्थानमा भूक्षयले सडकमा क्षति पुगेको छ । हरेक वर्ष उक्त सडकमा सरकार र स्थानीय तहको लाखौं रकम मर्मतका लागि खर्च हुन्छ ।

‘सडक खन्दै जोखिम क्षेत्रबाट खनियो,’ स्थानीय दीपकबहादुर खड्काले भने, ‘सुविधा र जोखिम दुइटा कुरा रोज्दा सुविधा अघि आयो र त्यसै गरियो । अहिले त्यसको परिणाम भोगिरहेका छौं । गत वर्षको बाढीले उक्त सडकमा रहेको छतिवने पुल बगायो । ‘पोहोर साल ठूलै लगानी भयो,’ खड्काले भने, ‘यो वर्ष पनि त्यति नै खर्च नभई सडक खुल्ने अवस्था छैन ।’

प्रकाशित : भाद्र १४, २०७५ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?