चेपाङको घरमा पुराना मकै

रमेशकुमार पौडेल

चितवन — चैत कटेपछि अन्न रित्तिएका चेपाङको घर बाक्लै भेटिन्छ । तर चितवनको विकट पहाडी क्षेत्र राप्ती नगरपालिका–१३ कान्दा गाउँका चेकराम चेपाङको घरको कथा फरक छ ।

चेपाङको घरमा पुराना मकै

चेपाङ गाउँमा मध्य भदौपछि बारीको मकै घर भित्र्याउन सुरु हुन्छ । चेकरामले बारीको नयाँ मकै स्याहार्न सुरु गरेका छैनन् । उनको घरमा सय डोका जति मकै पुरानो छँदै छ । त्यो अहिलेको मकै होइन ।

‘तीनदेखि नौ वर्ष पुरानो मकै घरमा अझै छ,’ चेकरामले भने, ‘मेरो बारी अरूको भन्दा धेरै छैन । तर मकै अरूको भन्दा धेरै फल्छ ।’ भिरालो जमिनमा उनले खेती गर्दै आएका छन् । कतैकतै बाँदर लड्ने पाखामा पनि जसोतसो मकै छर्छन् । खोरिया फाँडेर खेती लगाउने चेपाङको पुरानै चलन हो । चैत वैशाखमा मकै छर्ने चलन छ । भदौमा खेती भित्र्याउँदा धेरैको दु:ख खेर नै जान्छ । तर चेकरामको अनुहार सधैं चम्कन्छ ।

‘दु:ख गरेपछि फल पाइन्छ । मेरो मकै त्यस्सै धेरै फलेको हैन नि,’ चेकरामले भने । उनले आफैं गोरी पालेका छन् । २०/२५ वटा बाख्रा छन् । खेतलाई कसरी मलिलो बनाउने भनेर सधंै सोचिरहन्छन् । गोबर भएपछि मकै सब्लाउने र धेरै फल्ने गरेको उनले बताए । चेकरामले भने ‘अल्छी गरेर मकै छर्ने हो भने २०/२५ डोका फल्न पनि गाह्रो छ ।’ अरू गाउँलेको कथा व्यथा यही हुने गरेको उनले बताए ।

उनले चार पाथी बीउ छर्छन् । एक पाथी बीउको २५ डोका मकै आउँछ । अर्थात् प्रत्येक वर्ष सय डोका मकै भाँच्छन् उनी । एक डोको मकै छोडाउँदा पाँच पाथी दाना निस्कन्छ । उनको घरमा २५/३० मुरी मकै प्रत्येक वर्ष उत्पादन हुन्छ । चेपाङको घरमा यति अन्न हुने भनेको सामान्य कुरा हैन । ‘मेरै जति खेत बारी हुनेले पनि ३० पाथी मकै स्याहार्न गाह्रो छ । मन लगाएर खेती गरे धेरै फल्छ,’ चेकरामले भने ।

चेकरामका तीन छोरा तीन छोरी छन् । छोराहरू अलगअलग बस्न थालेका छन् । छोरी सबैको बिहे भयो । उमेरले ५० नाघेका चेकराम श्रीमतीसँग मिलेर खेती, गाई, गोरु, बाख्रा सबैको काम भ्याउँदै आएका छन् । आफूले नभ्याएको काममा मान्छे लगाउँछन् । जसलाई नगद हैन, त्यही मकै दिए हुन्छ । ‘एक दिन काममा लगाएको अरूले एक पाथी वा चार माना मकै दिन्छन् । म उस्तै परे दुई पाथी दिन्छु,’ चेकरामले भने ।

चेपाङ गाउँको मुख्य अन्न भनेकै मकै हो । अलि अलि कोदो हुन्छ । तोरी पनि थोरै लगाउने चलन छ । चामलको भात खानुपरे पैसा खर्च गरेर बजारबाट किन्नुपर्छ । चेकराम पनि चामल नकिन्ने हैनन् ।

तर मकै बेचेर किन्दैनन् । बाख्रा वा पाखामा लगाएको पिडालु बेचेर चाडपर्वमा चामलको भात खाने रीत पूरा गर्छन् । नभए मकैको भात नै रुच्छ उनलाई ।

‘यही मकै घट्ट वा घरमा जाँतोमा पिध्यो, कहिले ढिँडो खायो, कहिले च्याँख्ला खायो,’ चेकरामले भने । धेरै नै पुरानो भएका कारण मकै बिग्रन पनि थाल्छ । बिग्रेन थालेको मकै सदुपयोग गर्ने उपाए पनि उनीसँग छ । त्यो हो जाँड बनाउने । जसलाई उनी हाँसो ठट्टामा ‘डल्ली भैंसीको मही’ भन्छन् । मकै भाँचेर राम्रोसँग घाममा र अँगेनामा राख्ने गरेकोले पुरानो भए पनि धेरै नबिग्रने उनको भनाइ छ ।

घरमा पुरानो मकै प्रशस्त भए पनि उनी बेच्न भने तयार छैनन् । चेपाङ गाउँमा अनिकालले सताउँछ । अनिकाल सम्झदा उनलाई मकै बेच्न मन लाग्दैन । ‘हावाहुरी चलेर सोत्तर हुन बेर लाग्दैन । असिनाले ढुटो पार्ने खतरा रहन्छ । कुनै बेला पटकपटक अनिकाल बेहोरेको ज्यान हो । के थाहा कुन वर्ष के हुने हो ? घरभित्र हुलेको अन्न लक्षिन हो त्यसलाई बेच्न डर लाग्छ,’ चेकरामले भने ।

प्रकाशित : भाद्र १४, २०७५ ०८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?