कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नुवाकोटको पञ्चकन्या माविमा ११ कक्षा सञ्चालनमा

नुवाकोट — पञ्चकन्या गाउँपालिका ३ पीपलडाँडामा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा यसवर्षदेखि ११ कक्षा सञ्चालन हुने भएको छ ।

नुवाकोटको पञ्चकन्या माविमा ११ कक्षा सञ्चालनमा

विद्यालय व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले केही दिनभित्रै ११ कक्षा सञ्चालन गर्ने गरी स्थानीय तहमा अनुमतिका लागि अनुरोध गर्ने निर्णय गरेको विद्यालयका प्राचार्य रामबहादुर विष्टले जानकारी दिए । विद्यालयहरुमा कक्षा वृद्धिका लागि व्यवस्थापन समितिले गाउँपालिकामा अनुमति माग्नु पर्ने प्रावधान छ ।


प्राचार्य विष्टका अनुसार कक्षा ११ सञ्चालनका लागि भौतिक पूर्वाधार, शिक्षक/शिक्षिका, विद्यार्थीहरु कम्तीमा १५ देखि ३० जनासम्म हुनुपर्छ । आफूहरुले स्थानीयका समस्यालाई ध्यानमा राखेर न्यून विद्यार्थी भए पनि ११ कक्षा सञ्चालन गर्ने निर्णयमा पुगेको उनको भनाइ थियो । विद्यार्थीको चाहना, संख्यालगायत कारणले यसवर्ष शिक्षाशास्त्र संकायमा मात्र पढाई थालिने उनले प्रस्ट पारे ।

नयाँ कक्षा सञ्चालन गर्न आवश्यक तयारीका लागि शुक्रबार पनि व्यवस्थापन समिति बैठक बस्ने उनले बताए । विद्यार्थीबाट उठाएको रकमबाट खर्च धानिने अवस्था नरहेकोले स्थानीय तहमा माग गर्ने र व्यवस्थापन समितिले दाता खोजी गर्ने विषयमा पनि छलफल भएको छ । प्राचार्य विष्टले अहिले आसपासमा सञ्चालन गरिएका विद्यालयको आधारमा शुक्ल निर्धारण गरिने बताए ।


बैठकमा प्राचार्य विष्ट, वडाध्यक्ष रामबाबु पराजुलीलगायतको उपस्थिति रहेको थियो । उक्त विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ रहेका छन् । उनी कामविशेषले सदरमुकाम विदुर रहेकाले त्यहाँबाट बैठकको अध्यक्षता गरेको प्राचार्य विष्टले बताए ।

प्रकाशित : भाद्र १४, २०७५ २२:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?