१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

बेवारिसेहरूको उद्धार

‘आश्रमका स्वयंसेवक प्रेरणाका स्रोत हुन्, जोकोहीले यसरी वृद्धवृद्धाको स्याहारसुसार गर्न सक्दैनन्’
प्रताप विष्ट

हेटौंडा — आफन्तबाट बिछोडिएका र प्रताडितहरूको आश्रय स्थल बन्छन्, सहरका सडक पेटीहरू । हेटौंडामा भने सडकमै कष्टकर जीवन व्यतित गर्ने बालबालिका र वृद्धवृद्धा देखिँदैनन् ।

बेवारिसेहरूको उद्धार

हेटौंडाका दुइटा सेवादायी संस्थाले सडकमा कष्टकर जीवन बिताएका वृद्धवृद्धा र सडक बालबालिकाहरूलाई उद्धार सेवा दिएका छन् । उनीहरूले पालनपोषण र संरक्षण गरेका कारण हेटाैंडाका सडक पेटीमा दु:खद् जीवन व्यतीत गरिरहेका वृद्धवृद्धा र बालबालिका नदेखिएका हुन ।

६ वर्षअघिसम्म हेटाैंडाको सडक पेटीलाई आफ्नो आश्रय स्थल बनाउने दर्जनौं वृद्धवृद्धा र बालबालिका थिए । २०६९ भदौ १३ गते स्थापित मानव सेवा आश्रमले उद्धार, औषधि उपचार, पालनपोषण गर्न थालेपछि सडकमा बेवारिस वृद्धवृद्धा र मानसिक रोगी देखिन छाडे ।

आश्रमको अवलोकन गर्न आएका काठमाडौं महानगरपालिकामा मेयर विद्यासुन्दर शाक्यले ‘मानव सेवा आश्रमका अभियन्ताहरू प्रेरणाका स्रोत हुन्, जोकोहीले यसरी वृद्धवृद्धाको स्याहारसुसार गर्न सक्दैन’ भन्दै प्रशंसा गरेका थिए । काठमाडाैंमा महानगरपालिकाको आर्थिक सहयोगमा मानव सेवा आश्रमले आफ्नो शाखा सञ्चालन गरेको छ । काठमाडांै
सहरका पेटीहरूमा कष्टकर जीवन बिताइरहेका वृद्धवृद्धा र बालबालिकालाई राख्ने आश्रम निर्माण गर्न जमिन पाएमा महानगरपालिकाले भवन बनाइदिने बताए ।

हेटाैंडास्थित आश्रममा अहिले १ सय ५ वृद्धवृद्धा छन् । ४ सय ५ वृद्धवृद्धालाई परिवारमा पुन:स्थापना गरिसकेका छन् । आश्रममा ६१ जना मानसिक समस्याका व्यक्ति छन् । तीन जना अशक्त छन् । आश्रमका शाखा चितवन र काठमाडाैं, ललितपुर, गोरखा, लमजुङ, वीरगन्ज, बागलुङ, पोखरा, बुटवल गरी १० जिल्लामा छन् ।

ती आश्रममा ४ सय ५८ वृद्धवृद्धा आश्रय लिइरहेका छन् । गोरखा जिल्लाको आश्रममा ५२ बालबालिका मात्र छन् । मानव सेवा आश्रमले वृद्धवृद्धालाई राख्न हेटौंडा ९ मा भवन निर्माण गरिरहेको छ ।

२०६८ कात्तिक २७ गते हेटौंडामा स्थापना गरेको ‘मामाघर’ नेपालले सडक बालबालिकालाई उद्धार गरेर पालनपोषण र पढाउने गरेको छ । २/३ दिन सडकमा पेटीलाई सुत्ने थलो बनाउने र फोहोरको डुंगुरनजिक प्लास्टिक खोजतलास गर्नेबित्तिकै मामाघर नेपालले त्यस्ता बालबालिकालाई उद्धार गर्दै आएको छ ।

मामाघर नेपालले ७ वर्षको बीचमा १ सय ५४ जना बालबालिकालाई सडकबाट उद्धार गरिसकेको छ । तीमध्ये १ सय १६ बालकलाई परिवारमा नै पुन:स्थापना गराएको मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले बताए । परिवारमा पुन:स्थापित बालक सबै स्कुल जाने गरेका छन् । २४ जना बालक हेटांैडा उपमहानगरपालिका ४ स्थित मामाघरकै संरक्षणमा छन् । उनीहरू १ देखि ९ कक्षासम्म पढ्छन् । ‘सबै बालक भुटनदेवी उच्च माविमा पढ्ने गर्छन्,’ मामाघर नेपाल, मकवानपुरका अध्यक्ष शालिकराम ढकालले भने, ‘यहाँ रहेका बालक पढ्न तेजिला छन् ।’

मामाघरका संरक्षक अर्पण पराजुलीले ५२ दिन लगाएर हेटौंडाको सडक बालबालिकाको अवस्था अध्ययन गरेपछि मामाघर जन्मिएको हो । मामाघर नेपालले पनि सडक पेटीका बालबालिकाहरू राखेर पालन पोषण र संरक्षण गर्न हेटौंडा ११ मा भवन निर्माण गरिरहेको छ । वृद्धवृद्धालाई आश्रय दिने र सडक बालबालिकालाई राख्ने भवन स्थानीय दाताहरूको सहयोगमा निर्माण भइरहेको छ ।

आमाको स्मृतिमा ५ लाख ११ हजार
सडकमा कष्टकर जीवन बिताएकाहरूलाई उद्धार गरी आश्रम दिने मानव सेवा आश्रमको भवन निर्माण गर्न आमाको स्मृतिमा छोराछोरीले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन् । हेटौंडा उपमहानगरपालिका ५ की स्व. मंगलादेवी श्रेष्ठको स्मृतिमा छोराहरू सागर श्रेष्ठ, माधव, कञ्चन, देवप्रसाद, दीपक, प्रदीप र छोरी रूपाले आश्रमको भवन निर्माण गर्न रकम सहयोग गरेका थिए ।

आश्रमको छैटाैं वार्षिकोत्सव अवसरमा बुधबार आयोजित कार्यक्रमका प्रमख अतिथि प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलाल र आश्रमका प्रमुख रामजी अधिकारीलाई उक्त रकम प्रदान गरे । हेटाैंडा उपमहानगरपालिका ९ मा उद्धार गरेर ल्याइएका वृद्धवृद्धालाई राख्न ४० कोठे भवन निर्माणाधीन अवस्था छ ।

प्रकाशित : भाद्र १६, २०७५ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?