२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

भूकम्पप्रतिरोधी घर खाली

किस्ता झिकेपछि अधिकांश घर अलपत्र
पुरानो घर सद्धे भएकाले त्यसैमा बसोबास गर्ने धेरै
पैसा जोगाउन कतिपयले साना घर बनाए

रामेछाप — भूकम्पबाट घर भत्केका पीडितहरूलाई सुरक्षित आवास निर्माण गर्न सरकारले अर्बाैं लगानी गरेको छ । तर कैयौं पीडितले बनाएका घर खाली छन् ।

भूकम्पप्रतिरोधी घर खाली

खाँडादेवी गाउँपालिकाको चोप्रांग क्षेत्रमा चिटिक्क परेका भूकम्प प्रतिरोधी भवन महिनौंदेखि अलपत्र छन् । प्राविधिकलाई निरीक्षण गराई किस्ता झिकेपछि त्यस्ता घरमा बाँकी रहेका कामसमेत गरिएको छैन ।

पीडित पुरानै चर्किएको घरमा बसोबास गर्दै आएका छन् । घरको छाना छाउने भागसम्म गाह्रो पुर्‍याएपछि प्राविधिकले दोस्रो निरीक्षण गरी तेस्रो किस्ताका लागि सिफारिस गर्छन् । तेस्रो किस्ता झिकेपछि फेरि पैसा आउँदैन । किस्ता झिकेपछि अधिकांश घर अलपत्र छाडिएका हुन् ।

पुरानो घर सद्धे भएकाले त्यसैमा बसोबास गरेको बताउनेहरू गाउँमा धेरै छन् । खाँडादेवीमा कार्यरत प्राविधिक ओमप्रकाश तामाङ सुरक्षित आवासलाई प्रयोग गर्न अभिमुुखीकरणको जरुरी भएको बताउँछन् । ‘प्राविधिकले निर्माण कार्यको रेखदेख र सिफारिस गर्ने हो, त्यही गरेका छौं,’ उनले भने, ‘पुनर्निर्माण भएका घरमा बसोबास गराउन सकिएन ।’

पुरानो घरमा बसोबास गर्नेले पुनर्निर्माण गरिएको घरको काम सके पनि बसोबासलाई प्राथमिकता दिएका छैनन् । सुनापती गाउँपालिकाका प्रमुख धावा लामाले ‘साना घर बनाउनेले त्यसको प्रयोग गरेका छैनन्, अब सबैको चासो सुरक्षित आवासमा बस्नुपर्छ भन्नेमा हुनुपर्छ ।’

परिवार संख्या ठूलो भए पनि सानो घर बनाएका अधिकांशले उक्त घरमा गुजारा नचल्ने जनाएका छन् । खाँडादेवीकी माइली तामाङ भन्छिन्, ‘पास भइहाल्छ भनेर सानो घर बनाइयो, आफू त पुरानैमा बसिरहेका छौं, सानो घरले गुजारै चल्दैन ।’ सरकारले भूकम्पपछि साना घरको नक्सा सार्वजनिक गरेकाले गाउँमा त्यस्तै घर निर्माण गर्ने लहर चलेको हो ।

सरकारले दिएको अनुदान जोगाउन पनि कतिपयले सानो भन्दा सानो घर बनाएका छन् । नौ जनाको परिवार भएका पीडितले पनि एककोठे घर बनाएका छन् । जुन अनुदान लिनबाहेक अन्य काममा प्रयोग हुँदैन ।

रामेछापमा झन्डै ४३ हजारको संख्यामा भूकम्पबाट भत्किएका निजी घर पुनर्निर्माण भएका छन् । तीमध्ये अधिकांश दुईकोठे छन् । कोठाको संख्या धेरै बनाउँदा पनि भूकम्प प्रतिरोधी घर बनाउन सकिन्छ भन्ने सूचना कतिपयलाई नहुँदा लहैलहैमा लागेर साना घर बनेका हुन् । अधिकांश गाउँमा भूकम्प प्रतिरोधी घर भनेकै एक वा दुईकोठे घर हुन भन्ने मान्यताले काम गरेको पाइन्छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) रामेछापका प्रमुख परिक्षित कडरिया प्राविधिक, राजनीतिक दल, जनप्रतिनिधि र सामाजिक कार्यकर्ताले बसोबास गराउन अभियान सञ्चालन गर्नुपर्ने बताउँछन् । ‘सानै भए पनि भूकम्प प्रतिरोधी घर बनेका छन्,’ कडरियाले भने ।

प्रकाशित : भाद्र १६, २०७५ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?